सरुभक्तका दुइटा उपन्यासः 'पागल बस्ती' र 'समय त्रासदी', म जहिल्यै लुकाएर राख्छु। हत्तपत्त खोजेर नपाइने ठाउँमा। कतिपय बेलामा मैले चाहेरै खोजेका बेलामा पनि तिनीहरू हाता पर्नुहुँदैन। मेरो मान्यता।'पागल बस्ती' पढिरहँदा मलाई स्विडिस सिनेमा 'वाइल्ड स्ट्रबेरीज'को हिरो डा. आइज्याक बोर्गको जस्तो अनुभूति हुन्छ। बाटोमा भेटिएका जान-अञ्जान हिचहाइकर्सजस्ता लाग्छन् त्यसका पात्र, जसको छायामा म आफ्नो सफल-असफल अनेकन प्रेमका अनेकन किस्सा सम्झन्छु।
आखिरमा हरेक सफल प्रेम-कथाका पछाडिपट्टि कयौं असफल प्रेमकथाहरूको हात हुँदोरहेछ। पहिलो प्रेमले 'प्रेम वास्तवमा के हो ? ' भन्ने चिनाउँदो रहेछ। त्यसपछिका प्रेमले 'प्रेम यस्तो हो त्यसैले यस्तो बनाउन यस्तो गर्नुपर्छ' भनेर सजिलो परिदिन्छ। मान्छे अनि 'त्यस्तै' हुन्छ र प्रकारान्तरमा 'सफल प्रेम'को भागीदार हुन पुग्छ' 'पागल बस्ती'को नायक प्रशान्त जो भन्छ, '(हामी) प्रेमलाई हैन, प्रेमको अवधारणालाई प्रेम (गर्छौ)।'
कतिका हकमा पहिलो प्रेमपछिको प्रेममात्रै अघोषित 'बदला' हुन जान्छ' त्यो 'बदला' अंग्रेजीको 'रिभेन्ज' पनि हुन सक्छ, 'रिप्लेसमेन्ट' पनि हुन सक्छ' अनि म 'पागल बस्ती' कै छेलकमा सोचिबस्छु, 'मान्छेको पहिलो प्रेममात्रै प्रेम हुँदोरहेछ, त्यसपछिका बाँकी प्रेम त्यसलाई भुल्ने बहाना।'
'पागल बस्ती' उपन्यासका केही वाक्यहरू भूतजस्ता छन्' मेरो मनलाई तर्सारहन्छन्' प्रेम र अहम्को अतिवादी युद्धको ध्रुवान्तर पक्षमा बोलिएका ती वाक्य ओकल्ने पात्रहरू मध्यदिनमै मूच्र्छा खाएर बर्बराउने पिचासजस्ता छन्। म अन्धविश्वासको चरम अभ्यासमा बाल्यकाल गुजारेको मान्छे हुँ।
भूत प्रेत, पिचासका कुरा मात्रैले तर्सन्छु' र, मैले देखेको भूतमध्येको सर्वाधिक तर्साउने गुणयुक्त भूत पहिलो प्रेम हो' सरुभक्त स्वयम् कुनै प्रेतेश्वर महादेवजस्तो लाग्छन् मलाई' प्रेम र अहम्का नन्दी भृंगी, दैत्य, नागहरू अघिपछि लगाएर हिँड्ने घनघोर त्रिशूलबाबा जस्तो लाग्छन् उनी' एकदम अघोरी।
'पागल बस्ती'कै घृणा-कोरोलरी मानिने उनको अर्को उपन्यास 'समय त्रासदी' पढ्दा घिनको चरमावस्थाबाट यसरी गुज्रिएछु कि मैले एक महिना जति माँसभक्षण नै गरिन' यौनसम्पर्क समेत गरिन' दुई दिन घर बाहिरै निस्किन। दुई दिनपछि निस्केर त्यो रातो जिल्दावाला किताब कच्याककुचुक पारेर पुराना किताब कोचर्ने बोरामा हालेर भैंसीको गोठको कुनै कुनामा मिल्काइदिएको थिएँ। पछि उपमहानगरको फोहोर उठाउने गाडीमा फल्दिनुभएछ आमाले। पूरै बोरा।
पोखराको ल्यान्डफिल साइटमा कम्पोस्ट मल भएर बस्यो होला त्यो अहिले। धेरैपछि आफ्नो संस्था र्यान्डम रिडर्समा यही किताबमा छलफल हुँदा दोस्रोप्रति खरिद गरेको हुँ' त्यो दोस्रोप्रति पनि तुरुन्त उपहार दिइहालेथेँ कसैलाई।
म चाहन्छु, कम्तीमा पनि शुभ बिहानीको तरोताजगीपूर्ण मुहूर्तमा, काम गरिरहनुपर्ने दिउँसोको उज्यालोमा, छोरीसँग खेलेर खितखिताउने साँझको झिस्मिसेमा वा थकाइले चूर्ण भएको ज्यान फालेर निदाउने रातको बेलामा सरुभक्तका ती दुईटा किताब नदेखिऊन्। ती किताबको झल्को मात्रैले पनि मेरो पूरै मुड बिग्रन्छ।
'पागल बस्ती'को कल्पनाभूमि म बेलाबेलामा बरालिइरहने भूमि हो। त्यो भूमि कुनै बेलाको रोज्जा 'डेटिङ टेरिटोरी' हुन्थ्यो मेरो। सुरक्षित क्षेत्र। बगर, सिमपानी, हेमजा, यामदी खोला, सुइखेत, नौडाँडा, कास्की कोट, ठूलीपोखरी, सराङकोट हुँदै विन्ध्यवासिनीको बाटोबाट फेरि बगर निस्कने त्यो चक्रपथलाई क्लकवाइज पनि धेरै घुमियो' एन्टी क्लकवाइज पनि' प्रेम यात्राको महाशून्य चक्रपथ।
बाटोमा पर्ने फेदीको सुकुटी, छेकलमा पर्ने मर्दीको माछा, अलिक माथि कविता गाउँ भनिने लुम्ले र काँडेको लोकल कुखुरा। प्रेमरसका शार्दूल सितन हुन्थे। धम्पुस, अस्ट्रेलियन क्याम्प र पोथनामा लालीगुँरासका पोथ्राहरू स्वागतार्थ हुन्थे, सिजन पारेर। 'पागल बस्ती'को कल्पना क्षेत्रलाई मैले कति फन्को मारेँ कति ! कहिले प्रेमले आतुर आतुर भएर' कहिले प्रेमविहीनताले व्याकुलव्याकुल भएर।
त्यो चक्रपथको बीचमा उभिएर बस्ने कास्कीकोट कुनै प्रेमेश्वर महादेवको कहिल्यै स्खलित नभएको जुरुक्क उठेर बसेको अटल-अमर लिंगजस्तो लाग्छ। कैलाश पर्वतको जस्तै शिवलिंगको आकृति नभए पनि कास्कीकोट यस्तै कुनै लिंग हो जस्तो लाग्छ मलाई। (यौनिक आध्यात्मको प्रेमिल लिंग-पूजन बरु मैबाट सुरु होस् !) त्यसैले डेटिङ जाँदा पनि कुनै अलौकिक तीर्थाटनमा गएजस्तो अनुभूत हुन्थ्यो।
बाह्र वर्षअघि हेम्जातिर दुई वर्ष जति बरालिएथेँ- मास्टरीको बहानामा। मैले वार्डन गरेको होस्टेलको पश्चिमपट्टि फर्केको झ्यालबाट ठ्याक्कै अगाडि देखिन्थ्यो कास्कीकोटको सेपिलो उत्तरी पाखो। घनघोर हरियाली र सन्नाटामय शीताश्म-क्षेत्र। फुर्सदका बेलामा त्यही पाखोको बीचोबीचबाट उम्रेर झर्ने बर्खे झरना हेरेर बियाँलो गर्थे। छुट्टीमा 'पागल बस्ती'का बासिन्दाले (सम्भवत) खुट्टा चोबलेको यामदी खोलामा एक्लै नुहाउन जान्थेँ।
'बतासे चौतारो'मा बसेर दिनभरि एफएम रेडियो सुनिदिन्थेँ' त्यो चिसो पाखोको पश्चिमोत्तर खण्डमा एउटा रूखो जमिन छ। तर गाउँको नाम छ- सिमपाली' प्रख्यात नौडाँडादेखि थोरै तलतिर पर्ने यही सिमपाली गाउँको कुनै कुनामा सरुभक्तले 'पागल बस्ती'को रचना गरेको हुनुपर्छ भन्ने मेरो अनुमान हो।
यो धेरैको अनुमान पनि हो' (त्यसो त सरुभक्तका सदाकालीन मित्र तीर्थ श्रेष्ठका अनुसार, अहिलेको नौडाँडा बजारबाट अलिक मास्तिरको पाउँदुर गाउँ नै पागल बस्तीको कल्पनाभूमि हो') हेमजामा बसेर कास्कीकोटको डाँडाले छेकेको अदृश्य 'पागल बस्ती'को भूगोललाई सुम्सुम्याइरहन्थेँ म।
सिमपालीबाट कहिलेकाहीँ त्यो 'पागल बस्ती'को काल्पनिक भूगोल सल्बलाउँथ्यो। सल्बलाउँदै नौडाँडाका गाउँगाउँ चहाथ्यो। सेराचौर, दारेगौँडा, दक्षिणतिरको प्याउँदी र ठूलाचौर, बगलकै रयाले र कैडिले पुग्थ्यो 'पागल बस्ती'। कहिले पूर्वतिरको फल्लापानी पुग्थ्यो।
कहिले लेवाडे, पोखरा गैह्रा, निवारे, मराम्चेहुँदै पश्चिमको काँडे पनि छिचोल्थ्यो' कल्पनाभूमिलाई कुनै यही 'जिपियस'मा छ भनेर देखाउनु पनि कसरी ? 'पागल बस्ती'को सल्बलाहट जायज थियो।
होस्टेलकै झ्यालबाट बाहिर टोलाउँदै सम्झन्थेँ नौ डाँडावासीले एकताका गरेको विरोध' आफ्नो गाउँलाई 'पागल बस्ती' करार गरिदिएकोमा सरुभक्तप्रति गाउँलेहरू रुष्ट थिए रे ! विरोधको कार्यक्रम नै पनि गरेका थिए रे ! फिस्फिसाउन यत्ति जोक काफी हुन्थ्यो' साहित्यकका नाममा बन्ने 'एनेक्डोट' पनि बेजोडका साहित्य लाग्छन् मलाई।
आजकल मझेरीपाटनको सेती दोभानतिर एक्लैएक्लै साइकलमा बतारिँदा कहिलेकाहीँ 'पागल बस्ती' को झल्को आउँछ। सोच्न थाल्छु, कुनै दिन ओह्रान पामुकको उपन्यास 'म्युजियम अफ् इनोसेन्स'को जस्तै सरुभक्त (वा अरू कसै) ले 'पागल बस्ती' को भौतिक संरचना निर्माण गर्नेछन्।
एउटा साहित्यिक पर्यटनको आधार बन्न सक्नेछ त्यो म्युजियम' घर फर्कन्छु अनि पामुकका पात्र केमेल र फुसुनको प्रेम कथालाई सरुभक्तका मार्था र प्रशान्तसँग घोलमाल गरेर सर्वत पार्छु। सिनित्त पिउँछु। सर्वतले उल्टो तिर्खामात्रै बढाउँछ। आदिमाता मार्थाको भन्दा तिख्खर तिर्खा।
नौ कक्षा हुँदा पहिलोपटक पढेको हुँ 'पागल बस्ती'। तिनताका मनको टिलटिले मेटालिक पेपरमा 'पहिलो प्रेम' नाम गरेको मःमको डल्लो प्याकिङ गर्दै थिएँ म। राम्ररी स्टिम नभैसकेको 'मःम'को डल्लो डबल 'म' हुन सकेन। एउटा सिंगल 'म' यतातिर छु।
अर्को सिंगल 'म'को निजी जीवन छ अर्कै भूगोलमा' र, हामी आ-आफ्नै भूगोलमा आ-आफ्ना डबल जिन्दगी बाँचिरहेका छौं। म गर्मीले उमुख भएका बेलामा उनी जाडोले सिरक तानिरहेकी हुन्छिन्' सार्वभौम जाडो-गर्मी समेत फरकफरक सिजनमा अनुभूत गर्छौं हामी।
दूरी मेन्टेन कसैले गरोस् त मैले जसरी गरोस्' न नजिक, न टाढा' सदाबहार समान' २०५२ साल यता उनलाई देखेको पनि छैन, स्वर सुनेको पनि छैन। एकदम समानान्तर सम्बन्ध।
रजनिश क्याम्प भएको ठाउँमा अहिले एउटा म्यानेजमेन्ट कलेज छ' क्याम्पमा प्रवेश गर्न हामी केटाकेटीलाई बर्जित थियो' कारण, गाउँभरि हल्ला थियो : 'तिनको गुरु (रजनिश) ले दैनिक एक बटुको केटाकेटीको रगत खान्छन्' त्यहाँ घरबार बिग्रेका तर धनीमानी पागलहरूमात्रै बस्छन्'
तिनताका के बुझ्नु मैले: 'प्रेमको बाइबल हो पागल बस्ती !' पढेका वा किताबबारे सुनेका बुजुर्गहरूले भनेको सुन्थेँ- 'सरुभक्तको आत्म कथा हो यो। ... प्रेमको नाममा आजीवन ब्रम्हचारी बस्दिएका रे सरुभक्त ! ...उनको साहित्यिक नामका अगाडिका दुई अक्षर उनकी प्रेमिको सर्टकट नाम हो रे ! ... सरुभक्तलाई कामेच्छा नै छैन रे !... सरुभक्त आत्महत्या गर्न तयार छन् रे तर आत्मकथा लेख्न छैनन् रे !...' चोकमा 'रे' किस्साको कमि थिएन।
गाउँको स्थानीय क्लबले आयोजना गर्ने साहित्यिक कार्यक्रममा आइरहने हुनाले हामी सरुभक्तको बजार हल्ला र बजार बिम्ब देखिरहन्थ्यौं' उनका ब्याकबाइटिङ सुनिरहन्थ्यौं। त्यसैले पनि मलाई नपढी भएको थिएन 'पागल बस्ती'।
मेरो अध्ययनशीलता कस्तो भने, पढेपछि मैले उपन्यासको हिरो र हिरोइन प्रेममूर्ति र जमुना हुन् भन्ने पो बनाएछु। मार्था र प्रशान्त होइन' हुन पनि जसको कथाले छुन्छ आखिरमा हिरो उही त हुन्छ नि। जमुनाको देहावसानले घँक्कै पारेको थियो मलाई।
अहिले बुझ्छु (? )। 'पागल बस्ती'को हिरो जसलाई बनाइदिए पनि हुन्छ। पत्रकार किशोरलाई बनाइदिए पनि हुन्छ। बुढी कुकुर्नी बिन्दुलाई बनाइदिए पनि हुन्छ। उपन्यास भित्र अटाएका नामधारी वा नधारीमध्ये जो कोही अरू त अरू भइहाले, त्यसको हिरो मै बबुरो गनेस पौडेललाई (मात्र किताबको पाठक भएको नाताले) बनाइदिए पनि हुन्छ।
'बाइल्ड स्ट्रबेरिज'का निर्देशक इग्मर बर्गम्यान ठीकै भन्छन्- 'हामीले मान्छेका अनुहारमा सदैव आफ्नै प्रतिछायाबाहेक केही देख्दैनौं।' आखिरकार 'पागल बस्ती' प्रशान्तकै छाया पात्रहरूको बस्ती न हो।
तिनताका उपन्यास पढ्दा मलाई 'पागल बस्ती' भनेको कुनै रजनिश क्याम्प हुनुपर्छ जस्तो लाग्थ्यो' त्यसको खास कारण के होला भने, तिनताका मलाई छिमेकी गाउँ छिनेडाँडामा अवस्थित 'रजनिश क्याम्प'को इम्प्रेसन थियो' त्यो क्याम्प भएको ठाउँमा अहिले एउटा म्यानेजमेन्ट कलेज छ।
क्याम्पमा प्रवेश गर्न हामी केटाकेटीलाई बर्जित थियो' कारण, गाउँभरि हल्ला थियोः 'तिनको गुरु (रजनिश) ले दैनिक एक बटुको केटाकेटीको रगत खान्छन्' त्यहाँ घरबार बिग्रेका तर धनीमानी पागलहरूमात्रै बस्छन्'' तर, पनि हामी वैशाख-जेठतिर पाक्ने काफल चोर्न त्यो विशाल क्पाम्पमा छिर्थ्यो।
काफलको रसिलो अनुमानमा डरको छायाँ पग्लिएर जान्थ्यो' टनाटन खरबारी थियो काफल बगैंचामा। काँसको फुक्र्यौलो झाडीमा लुकेर पागल भनिएका अनौठा मान्छेलाई हेथ्र्यौं' स्वदेशी र विदेशीहरूको अप्रतिम जमघट थियो त्यो। पूरा पिकनिक जाँदाको जस्तो माहौल।
कलेजी पोसाकमा नरनारीहरू त्यसै मग्न उफ्रिरहेका देखिन्थे' नाचिरहेका हुन्थे। कोही कोही खेतमा काम गरिहेका पनि हुन्थे। कोही बगैंचा गोडिरहेका हुन्थे' कोही खानाको मेस चलाउँदै हुन्थ्ये' कोही पौडी पोखरीमा आनन्द उठाइरहेका हुन्थे। कोही किताब पढिरहेका हुन्थे।
कोही हामी लुकेकै झाडीजस्तै झाडीमा लम्पसार सुतेर आकाश हेरिरहेका हुन्थे' अनौठो बस्ती थियो त्यो' तिनका गुरुले केटाकेटीको एक बटुको रगत खान्छन् भनेर पत्याउन सकिने थिएन' तथापि तिनका नजिक कहिल्यै परेनौं हामी' डरको एउटा रेखाले बस्तीलाई हामीबाट छुट्याइराख्यो।
आफ्नो घरदेखि दुई मिनेटको दूरीमा भए पनि त्यो कलेजी बस्तीमा औपचारिक रूपमा कहिल्यै छिर्न पाइएन' सायद त्यही रजनिश क्याम्पको प्रभावले होला; प्रशान्त, मार्थामात्रै होइनन्, प्रेममूर्ति, जमुना, मैचाङलगायतका सबै 'पागल बस्ती'का बासिन्दालाई म कलेजी गाउन् लगाएर बसेको कल्पना गर्थे' 'पागल बस्ती'को आदि आरोग्यशालाका विरामी्समेत कलेजी बिस्तारामा पल्टेको कल्पना गर्थेँ' डाक्टरहरूको गाउन् समेत कलेजी नै भएर आउँथ्यो' कस्तो कस्तो 'म्यारुन मेमोरी' थियो त्यो !
जहिले जहिले म 'पागल बस्ती' सम्झन्छु, त्यसको प्रेमवियोगी पत्रकार किशोर छपक्कै आँखामा आइहाल्छ' यतिको आलेख सकिन लाग्दा पनि उसलाई नसम्झनु अन्याय होला' प्रेम वियोग भुल्न पोखरा हानिँदा पनि आफ्नो व्यावसायिक गुण नबिर्सेको पत्रकार किशोर मार्था आन्टीलाई सोध्छ: 'कसैले प्रेम गर्छ भन्ने जान्दा जान्दै किन अरुसित विवाह गर्छन् मान्छेहरू ? के प्रेमलाई अपमान नगरिकिन संसार चल्न सक्दैन? '
केही दिन अगाडि कुनै सामाजिक सञ्जालमा राखेको आफ्नै अपडेट राखेर भागिहाल्छु: संसारमा जो जति मान्छेहरू दुःखी छन् ती सब प्रेमकै कारणले छन्' जो जति मान्छेहरू सुखी छन् ती पनि प्रेमकै कारणले छन्' कुनै पनि मान्छेका सुख र दुःखका कारणहरू सोध्नु बेक्कारको कुरा हो' प्रेमको नाममा संसारमा जे जति प्रश्नहरू सोधिन्छन् ती सब बकवासमात्रै हुन्'
तर पत्रकार किशोरको त्यो बकवास प्रश्नको उत्तर म अझै किन खोजिरहन्छु?
Published at: