Contact Form

Name

Email *

Message *

Z

Showing posts with label नेपाल साप्ताहिक. Show all posts
Showing posts with label नेपाल साप्ताहिक. Show all posts

Friday, July 6, 2018

रनवेमा पुरिएको बालक

कुनै शनिबारको साँझपख तपाईंले देख्नुहुन्छ, गहुँबारीमा खेलेको बयेलीमा ताल मिलाउँदै नाचिरहेको छ एउटा बालक । ऊ बिल्कुल तपाईंजस्तै हुन्छ– वय, बानी, बान्की र बचपनामा । तपाईंले केटाकेटीमा लगाएजस्तै कुममा उध्रेको नीलो स्वेटर लगाएको छ उसले । तपाईंको जस्तै उसका गालालाई सर्दीले कट्कट्याएको छ । केटोलाई देखेपछि ३५ वर्षे तपाईंलाई आफ्नो बाल्यकालको सम्झनाले निचोरेर ल्याउँछ । आफूजस्तै गरी बतासको तालमा नाच्ने बालकलाई चिन्न मन लाग्छ र सोध्नुहुन्छ, “तिमी को हौ ?”
बालकले जवाफ दिन्छ, “म तपाईंको बाल्यकाल हुँ । अर्थात् म तपाईं नै हुँ । ऊ त्यो बारीको डिलमा बसेर केराउका कोसा छोडाउँदै, दाना चपाउँदै गरेको मान्छे देख्नुभो ? त्योचाहिँ अर्को तपाईं हो, तपाईंको बुढ्यौली ।”
मान्छेले कदाचित आफैँलाई भेट्यो भने के होला ? आफ्नै बाल्यावतार या वृद्धावतारसँग जम्काभेट भयो भने के गर्ला ? कुनै बेला मैले यस्तै कल्पना गरेर एउटा लामो कथा लेख्नेबारे सोचेको थिएँ । काटिकुटी यस्तै परिकल्पनाले बुनिएको ‘जंगबहादुरको खप्पर’ वाला चुट्किला सुनेपछि त्यो लेख्ने च्याँख मरेर आयो । छाडिदिएँ । आज यसै विषयमा एउटा निबन्ध लेखुँ कि भनेर सोचिरहेको छु । मेरा पाठक, यस्तो स्वैरकाल्पनिक निबन्ध लेख्दा अपनाउने कुनै तौरतरिका वा त्यसमा राख्न सकिने कुनै विशेष सर्दाम छ भने मलाई सुनाउनू है ! ठूलो सहयोग हुन्छ । मलाई यस्तो निबन्ध लेख्ने विचार आउनुका केही कारण छन् । अहिले म ती कारण र किस्साहरु बताउँछु । सुनेपछि तपाईंको मनमा अरु आइडिया पनि आउन सक्छ !
मुख्य कुरा गर्नु पहिले एउटा कुरा म सोझै भन्दिहालूँ– मैले आफ्नो बाल्यावतारलाई कुनै गहुँबारीको बयेलीमा नाचिरहेको भेट्नु सम्भवै छैन । न उसलाई कुनै चौतारामा बाघचाल खेलिरहेको देख्न सम्भव छ, न त उसलाई कुनै पोखरीमा ढड्याउन राखिएको सिमलको फलेकमा डुंगा खेलिरहेको अवस्थामा भेट्न नै । न म उसलाई कहिल्यै भेट्नेछु खलेगह्राको फुसको आगोमा अन्डा, आलु वा माछा पोलेर खाइरहेको अवस्थामा । यसको खास कारण सानो छ । त्यो स्वैरकल्पना यदि यथार्थमा सम्भव हुन्थ्यो भने पनि मेरो बाल्यावतार अहिले पोखरामा बन्दै गरेको विमानस्थलको रनवेमा पुरिएर बसेको हुन्थ्यो । रोडरोलरले थिचेको माटोको कुनै पत्रभित्र निस्सासिएर बसेको हुन्थ्यो । मरिसकेको पो हुन्थ्यो कि !
मेरो मनमा यस्तो असाध्य–विचारको बीजारोपण गर्ने मुख्य खलपात्र हुन्, शताब्दी पुरुष सत्यमोहन जोशी । महिना दिनअगाडि प्रात: भ्रमण हेतु म उनको घरअघिल्तिरको गल्लीमा हिँडिरहेको थिएँ, कुमार नगरकोटीको साथमा । अकस्मात एउटा मन–प्रश्न उब्ज्यो– यी बूढाले बाल्यकालीन काठमाडौँ उपत्यकालाई कसरी सम्झिँदा हुन् ? अनि मलाई त्यो ‘कसरी’ को उत्तर अनुमान गर्न निकै गाह्रो भयो ।
जसले तपाईंलाई कुनै स्मृतिमा लैजान्छन्, त्यस अवयवलाई अंग्रेजीमा मनुमेन्ट भनिन्छ । नेपालीमा स्मारक । जस्तो कि, पाटन कृष्ण मन्दिरको प्रांगणमा बिछ्याइएको कुनै ढुंगाको छपनीमा उभिएर जोशी बूढाले सोच्न सक्छन्, ‘म बच्चामा यही छपनीमा उभिएर परेवालाई चारा दिन्थेँ ।’ त्यसभन्दा अझ अतीतमा पुगेर उनले कल्पिन सक्छन्, ‘सायद मेरा हजुरबा पनि यही ढुंगामा उभिएर परेवालाई चारा दिन्थे ।’ त्यो अतीतबाट एक्कासि सुदूर भविष्यमा छलाङ मारेर उनी आशानुमान गर्न सक्छन्, ‘अबको हजार वर्षपछि पनि कुनै बालकले यही ढुंगामा उभिएर परेवालाई चारा दिनेछ ।’
थाहा छ– संसार परिवर्तनशील छ । सहर बदलिँदो छ । जीवनशैली फेरिँदो छ । तर केही न केही चीज यस्ता हुन्छन्, जो सदा दुरुस्त हुन्छन् । कथा र कायामा लगभग तन्दुरुस्त हुन्छन् । सहरमा यस्ता अपरिवर्तनशील कुरा धेरै हुनुपर्छ, जताततै छरिएर बसेका हुनुपर्छ । यिनै कुराले मान्छेलाई पुस्ता–पुस्तासम्म जोड्ने काम गर्छन् । मान्छेलाई स्मृतिमा फर्काउने गर्छन् । मान्छेलाई कल्पनाशील बनाउँछन् । भाग्यमानी सहरमा यस्ता स्मारकहरु मनग्ये हुन्छन् । अभागी सहरमा भएका स्मारक पनि ध्वस्त पारिन्छन् ।
अस्ति भर्खर जयपुरको आमेर किल्ला पुग्दा अत्यन्त बूढो रुख देखेर निकै भावुक भएँ । त्यो रुख करिब पाँच–सात सय वर्षको होला भनेर अनुमान गरेँ । तर आफ्नै अनुमान मलाई गलपासो भयो ।  यस्तो आभास भयो, आमेर किल्लाको एक मात्र जीवित साक्षी रुखले मलाई केही गोप्य कथा भन्न खोज्दैछ । मलाई यस्तो ह्यालुसिनेसन भयो कि रुखले भकाभक पुरानो कथा न्यारेट गरिरहेको छ, म कपाकप त्यो कथा निलिरहेको छु ।
मलाई यस्तै ह्यालुसिनेसन खप्तड जाँदा पनि भएको थियो । खप्तड बाजेको कुटीअघिल्तिर स्याउको एउटा बूढो रुख थियो । बाजे आफैँले सारेर हुर्काएका थिए रे स्याउ–बगैँचा । बगैँचाको नाममा अहिले त्यही एउटा रुख मात्रै थियो । त्यो बूढो बुटोको बोक्रामा औँला डुलाउँदा मलाई त्यसमा टाँसिएको खप्तड बाजेको हत्केला–स्पर्शले समाते–समातेजस्तो भएको थियो । बूढाको शयन कक्षमा जतनसाथ राखिएका औषधीका बन्डल देखेर म यति भ्रमित अनुभूतिमा घुसेछु कि तीन रातसम्म खप्तड बाजे सपनामा आएर भने– “बाबु, तिमीलाई डिप्रेसन छ, यो औषधी खाऊ ।” मैले उनको औषधीलाई वास्ता नगरेपछि बल्ल आउन छाडे ।
मलाई यस्तो ह्यालुसिनेसन भइरहन्छ नै । कहिलेकाहीँ कसैले बोलाएजस्तो लाग्छ तर फर्केर हेर्दा नजिकै कोही हुँदैन । एकपटक पुलिस कार्यालयभित्रै मलाई अचाक्ली गाँजाको बास्ना आएको थियो, जुन कुरा मेरो वरपरका कसैलाई आएन । गत कुकुर तिहारको साँझ सुतिरहँदा पिठ्युामुन्तिरबाट सर्प सुल्सुलिएजस्तो लाग्यो । हत्तपत्त सिरक फालेर हेरेँ तर त्यहाँ छालोफुस्रो केही थिएन । मेरा ज्ञानेन्द्रीयले धेरै ह्यालुसिनेट गर्छन्, जिस्क्याउँछन् । मलाई तिनीहरुसँग जिस्किन रमाइलो लाग्छ । तर यस्तो जिस्क्याइ अचाक्ली नै भएपछि म एक पटक र डाक्टरलाई भेट्न गएको थिएँ । ‘यस्तो हुने भनेको कि तपाईंलाई डिप्रेसन छ कि त विस्मृतिको लक्षण देखा पर्दैछ’ भन्दै उनले पनि मलाई खप्तड बाजेकै शैलीमा औषधी–पुरिया दिए । तर खाइनँ ।
मलाई डिप्रेसन पनि अचाक्ली मन पर्छ । बिर्सनु त मेरो सदाकालीन सोख हो । नित्सेले भनेकै छन् त, ‘बिर्सने गुण नभएको भए मान्छेको सभ्यता उहिल्यै ध्वस्त हुन्थ्यो ।’ मलाई नित्से पनि निकै मन पर्छ ।
त्यसो त, मान्छेको जात खासमा स्मृतिमा बाँच्छ । जीवनको सार्थकता स्मृतिहरुमा खुल्छ । तपाईंसँग जति विराट स्मृति छ, तपाईंको जिन्दगी उति नै सफल हुन्छ । तपाईंसँग सम्झनयोग्य र संसारलाई बताउनयोग्य कुनै स्मृति छैनन् भने तपाईंको जिन्दगीको कुनै अर्थ छैन ।
स्मृतिमा रहिरहने यही आदिम भोकका कारण नै मान्छेले अनेकन दरबार, धरहरा, मन्दिर आदि इमारत बनाएको हो । पोखरी, चौतारा, हिटी बनाएको हो । कला, साहित्यको रचना गरेको हो । सुदूर भविष्यका लागि स्मृतिहरुको निर्माण गर्नु नै मान्छेको अवचेतन अभीष्ट हो ।
मलाई त्यो स्वैरकाल्पनिक निबन्धको रन्को किन लागेको हो भने जुन गाउँमा बाल्यकाल बिताएँ, त्यो गाउँ अहिले पूरै विस्थापित छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बीचोबीच मेरो पुख्र्यौली घर थियो । सयौँ वर्ष पुरानो हाम्रो गाउँ थियो । हाम्रा थान, देवस्थल, फाँट, बारी, चरन र चलन थिए । सरकारले अधिग्रहण गरेपछि रानो मरेको घारबाट माहुरी फैलिएझैँ गाउँले तितरबितर भए । ६ सय वर्ष पुरानो सामाजिक सम्बन्धको काँचो धागो चुँडियो । काहुँकोटदेखि ढुंगेसाँघुको मेलासम्म फैलिएको कृषि संस्कृतिका उपासकहरु तन्नम भए । यी सबै कुराको साक्षी छ– मझेरी पाटनको बूढो पीपलको रुख, जो संयोगले विमानस्थलको क्षेत्रफलभित्र अहिलेसम्म परेको छैन ।
बुढापाकाहरुका अनुसार ‘कामीको चौतारो’ भनिने यो रुख पोखरा उपत्यकाको सबैभन्दा बुढो रुख हो । केही समय पहिले विकासवादीहरुले यसका हात, पाखुरा र टाउको छिनालेर मुर्कट्टा पारिदिएका छन् । यसको टोड्कामा वर्षौंदेखि बसेको मौरीको घार उखेल्न कसैले झोसेको आगोले आधी हर पूरै जलिसकेको छ । लहरेसिमल र ऐँजेरुले कोतरी–कोतरी यसका हाडछाला सखाप पारेका छन् । तैपनि यो अझै जिउँदै छ । सायद अझै एकाध वर्ष जिउँदो रहला । अन्यत्र भएको भए ‘पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्नेले बनाएको चौतारो’ का रुपमा यसको पर्यटकीय प्रचार हुने थियो । हाम्रा नेतालाई भने कहिले यसका जरा खोतलेर फालूँ र बाटो चाक्लो पारुँ भन्ने ध्याउन्न मात्रै छ ।
यो आदिवासी भन्ने शब्द पनि राजनीतिक कुरा न हो, यसलाई जसरी अथ्र्याउँदा आन्दोलन थामथुम हुन्छ, मागदाबी सेलाएर जान्छ, राज्यले त्यसै गर्छ । जस्तो कि, मेचीपारिका क्षत्रीहरु दार्जिलिङका आदिवासी हुन् तर त्यही जातिका मान्छे वारि नेपालमा भने आदिवासी होइनन् । पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्ने, यहाँको औलो खाएर रगत छाद्ने, यहाँका झाडी, खोरिया र दौरा खोतलेर फाँट बनाउने, विजयपुरखोला, फेवाताल आदिमा बाँध हालेर फाँटहरुमा हरेलो हाल्ने हामी छिनेडाँडा, मझेरीपाटन, कुँडहरका बासिन्दा राज्यको परिभाषामा उपत्यकाका आदिवासी कदाचित होइनौँ । यो गुनासोको कुरा भने होइन तर पहिचानको अवश्य हो । काँहुकोटलाई केन्द्र थापेर हाम्रा पितापुर्खाले स्थापना गरेको कृषिसंस्कृतिलाई अलिकति भए पनि जोगाउन सकिन्छ कि भनेर गरेको कसरतको कुरा हो ।
मलाई त्यसै स्वैरकाल्पनिक निबन्ध लेख्ने झोँक चलेको होइन, पाठक । त्यतिका आगन्तुक र अचाक्ली अतिक्रमणका बाबजुद काठमाडौँका गल्ली–गल्ली, चोक–चोकका जात्रा–मेलाहरु कसरी सयौँ वर्षसम्म सुरक्षित भए होलान् भनेर सोच्नुभएको छ कहिल्यै ? नेपाल मात्रै होइन, विश्वका मान्छेले किच्दा पनि काठमाडौँमा नेवारी भाषा र संस्कृति कसरी सकुशल रहन सकेको होला ? कारण अनेक होलान्, तर यसको मूल कारण के हो भने काठमाडौँका नेवारले आफ्ना सांस्कृतिक सम्पदा आगन्तुकलाई कहिल्यै सुम्पेनन् । त्यसको पालनामा समेत आगन्तुकलाई कहिल्यै सामेल गरेनन् । तपाईं उपत्यकाको कुनै गाउँमा बडेमानको घर बनाएर जति नै शानपूर्वक बस्नुस्, मस्त समाजसेवा पनि गर्नुस्, त्यहाँका मेला, जात्रा र चाडहरुमा तपाईंलाई दर्शक बन्ने निम्तो आउँछ तर आयोजक हुने वा संलग्न हुने निम्तो कदाचित आउँदैन । त्यहाँका गुठी, पीठ, मठ, मन्दिरको सञ्चालनमा तपाईंलाई मरिकाटे छिराइँदैन ।
तर पोखराको हकमा त्यस्तो कहाँ ! हाम्रा पितापुर्खाले चलन चलाएको ढुंगेसाँघुको मेला अचेल कसले आयोजना गर्छ, मलाई नै थाहा छैन । यहाँका अनेक सांस्कृतिक धरोहर, मठ–मन्दिरको व्यवस्थापन र सञ्चालनमा मूलवासीहरुको पहुँच छैन । अलि अगाडि भद्रकाली मन्दिर परिसरमा पशुबलि दिने स्थानमा रातारात गणेशको मूर्ति स्थापना गरियो । भलै विरोधपछि त्यसलाई हटाउन लगाइयो । सांस्कृतिक चेतना भएको जोकोहीलाई थाहा हुने कुरा के हो भने पोखरा उपत्यकाका मूलवासीहरु गणेशलाई सात्विक देवता मान्छन् र रगतको भोग दिँदैनन् । त्यसैले यहाँका भोग दिइने शक्तिपीठमा गणेशलाई राखिँदैन । तर यस्तै सांस्कृतिक अतिक्रमणको शृंखला अरु मठमन्दिरमा छ कि छैन ?
सांस्कृतिक अतिक्रमण त सानो कुरा भयो, जबकि हामीलाई हाम्रो जरोकिलोबाटै उखेल्ने प्रयत्न गरिँदैछ । पोखरा उपत्यकाको सबैभन्दा पुरानो गाउँको अन्तिम अवशेष रनवे छेउमा छ । हामी त्यसलाई जोगाउन सकिन्छ कि भन्ने कसरतमा छौँ । तर विमानस्थललाई जग्गा अपुग भयो भनेर हामीलाई फेरि विस्थापित गर्ने कुरा हुँदैछ । त्यसैले कहिले तन्द्रामा, कहिले निद्रामा त कहिले होसमै पनि बर्बराउन थालेको हुँ । जरोकिलो खोतलेर जबर्जस्ती उप्काइएपछि मान्छे जहिल्यै बर्बराउँदो रहेछ । आफ्नै पहिचानलाई आफ्नै जन्मभूमिमा अर्घेलो पारिएपछि घरीघरी मलाई पोखरा बिरानो सहरजस्तो लाग्न थाल्छ । यस्तो लाग्छ, म भर्खरै बसाइँ सरेर कुनै अन्जान सहरमा आएको छु ।
प्रिय पाठक, मेरो मनमा खेलेका कुरा–किस्सा यत्ति हुन् । यस्तै हुन् । यस्तो विषयमा कुनै स्वैरकाल्पनिक निबन्ध लेख्न सकिएला कि नसकिएला ? तपाईंको मनमा जरुर कुनै आइडिया फुरेको छ । मलाई बताइहाल्नुस् है ! ठूलो गुन लाग्छ । म रनवेमा पुरिएको बालकलाई जीवितै उद्धार गर्न चाहन्छु ।   
प्रकाशित: मंसिर १९, २०७५
Published at:

Sunday, March 4, 2018

अल–क्वासा र यादहरू

तिमीलाई थाहै छ, मलाई सपनामा पनि ‘म सपना देखिरहेछु’ भन्ने हेक्का हुन्छ । सपना देखिरहँदा म सपनाको प्लटलाई नियन्त्रणसमेत गर्न सक्छु । त्यसैले म कहिल्यै दु:स्वप्न देख्दिनँ । एकान्तमा लखेट्दै आउने बाघ–सर्प हुन् या मुटु थिचेर ऐँठन पार्न आउने भूत–प्रेत, मलाई एकछिनमै थाहा हुन्छ, यो सपना हो । बाघसँग लड्नु, गोमनको दाँतलाई कान्छी औँलामा अड्काएर टहलिनु अथवा भूत–प्रेतको टुप्पी रिङ्गाएर मिल्काइदिनु मेरा आमस्वप्नचर्या हुन् ।


तर, मान्छेलाई धोका दिने भनेकै आफ्नै क्षमताले हो । म आफ्नै सपनाहरूबाट धेरैपटक धोकाधडीमा परेको छु । तिमी पनि त मेरो एक सपना थियौ नि विपश्वी ! 
हिजोको सपनामा म घ्यान्जेको घोडा समातेर लगाम कस्दै थिएँ । 
घ्यान्जे लोमान्थाङका जोधारे युवा हुन्, जो हरेक हिउँदको घाम ताप्न मेरो गाउँमा झर्थे । अहिले उनी उल्कै बूढो भइसके । हामी उनका घोडाहरू चोरेर चढ्थ्यौँ । घोडा चढेरै माइलौँ टाढा (दूरी अलि बढी लागे आफैँले घटाउनू) पुग्थ्यौँ । उनी हामीलाई घुँयेत्रो मार्दै लखेट्थे । भेटे भने लात्तीले भक्कु गोद्थे । मेरा धेरै बालसखाले उनको पिटाइ खाएका छन् । कसो कसो म सधैँ जोगिएको हुन्थेँ । तर, हिजोको सपनामा म घ्यान्जेबाट जोगिइनँ । जोगिनँ नचाहेको होइन, जोगिनै सकिनँ । मलाई ‘यो सपना हो’ भन्ने आभासै भएन । जसरी मान्छेहरू ‘यो जिन्दगी हो’ भन्ने हेक्कै नराखी बाँच्छन्, त्यस्तै सपना भयो । घोडामा चढेर कुँडहर फाँटको नहरैनहर भाग्दा अचानक मेरो पिठ्युँमा घ्यान्जेको घँ‘येत्रो लाग्यो । म रनाहा पर्दै बारीमा बजारिएँ । बजारिँदा म ठीक ११ वर्षको थिएँ, टीनएज पनि नलागेको बबुरो तर मेरो बगलीबाट फुत्त खसेको थियो एलिनोर हर्मनको सेक्स विद द क्विन ।
मेरी विपश्वी, तिमीलाई सम्झँदा हरेकपटक बगलीबाट किन खस्छ यो किताब ? (नरिसाउनू, मैले ‘मेरी’ भनेर आफ्नी भनेको होइन, क्राइस्ट–जननीको नाम थापेको हुँ । मलाई थाहा छ, तिमी मेरी होइनौँ, अरू कसैकी हौ ।)
हर्मनको यो किताब यौन वेदनाको इतिहास हो । नारीहरू सदैव पुरुषको उत्पीडनमा परे, त्यो चल्तीको टपिक हो । तर, ‘न’ र ‘र’ को स्थान फेरेर बन्ने ‘रानी’हरू सामान्य नारीभन्दा झन् पीडित हुन्थे भन्ने कल्पना कमैलाई हुन्छ । मलाई कहिलेकाहीँ आभास हुन्छ, कुनै जन्ममा म सोफिया डोरोथियाहरू थिएँ र बाँचेकी थिएँ, कहिल्यै सुटिङ नगरिएको ट्रयाजिक सिनेमाको भद्दा जिन्दगी । हाम्रा प्रेमी फिलिप क्रिस्टोफहरू अहिले कता जन्मेका होलान् ? के मलाई जस्तै आभास उनीहरूलाई पनि हुन्छ ?
विपश्वी π हाम्रा लोग्नेहरू बरन्डामा सिगार पिउँदै बस्थे, तल पटांगिनीमा घोडा–घोडीलाई क्रीडा गर्न लगाउँथे : तिनताकाको दरबारिया नीलो फिल्म । घोडक्रीडा हेरीहेरी आफ्नो लिविडो उकास्थे अनि रापिँदै खोपीमा पस्थे । हामी निर्बस्त्र भएर तिनका आक्रमण पर्खिबसेका हुन्थ्यौँ । राज्यको उत्तराधिकारीको जन्मका खातिर पनि बलात्कार जरुरी थियो । देशको सुरक्षाको सवाल जो थियो । जन्म र सुरक्षाका खातिर असुरक्षित जिन्दगी बाँच्नु नै स्त्रीको नियति भइआएको छ । तिनका लिंगले डामेको भागमा मलाई अचेल पनि दुखेको आभास हुन्छ । तीन सय वर्षसम्म दुख्ने त्यो कस्तो डमाइ हो ? के आइमाईहरू अझै डामिन्छन् ?
प्रेमले नभई कूटनीतिको करले भाषा र संस्कृति केही नमिल्ने राजालाई कलिली छोरी सुम्पन्थे, राजा । संवादसमेत असम्भव हुने यस्ता पार्टनरसँग जिन्दगीभर मुस्किलले एक दर्जन सहवास हुन्थे । भएका सहवास घोडाको बलमा हुन्थे । हर्मनको इतिहास पढ्दा तिमीलाई आफ्नै देशकी भृकुटी झल्कोमा आएकी हुन सक्छे । अनि, तिमीले सम्झेको हुन सक्छौ, स्रङचङ गम्पोको गोरुसिङ्गे जुँगा । राजनीतिक कोपभाजनमा यौवन र जीवन सुम्पने सबैले देशको विभूति हुने अवसर पाउँदैनन् । भृकुटी बरा भाग्यमानी हुन् !
मेरा लागि घोडा प्रेमको होइन, बलात्कार र घृणाको विम्ब हो । 
जेएम सिन्जेको नाटक पढ्नुपथ्र्यो केटाकेटीमा, राइडर्स टू द सी । आफ्नो वंश धान्ने अन्तिम छोरालाई हाटमा पठाउनुअघि उसकी बूढी आमाले सपनामा एउटा ‘ग्रे पोनी’ देख्छे । नभन्दै घोडाले पछारिदिएर उसको अन्तिम सन्तान समुद्रमा खस्छ र मर्छ । घोडा मृत्युको विम्ब हो, विपश्वी π आयरल्यान्डको त्यो टापुमा कसैले पौडन नसिक्दा रहेछन् । समुद्रमाथि आश्रित आदिवासीले पौडन नसिक्ने कुरा सुन्दा तिमीलाई अचम्म लागेको होला । तर, जब समुद्रमै डुबेर मर्ने पक्का हुन्छ, पौडन जान्नुभन्दा नजान्नु नै बेस हुन्छ । पौडन जान्नेहरूको मृत्यु बडो भयानक पो हुन्छ समुद्रमा । 
मृत्यु र पानीको साइनोमा म इलियट सम्झन्छु । द वेस्ट ल्यान्ड बाजेको ‘डेथ बाइ वाटर’ च्याप्टरले मलाई सधैँ छप्ल्याङ–छप्ल्याङवाला छटपटी हुन्छ । मलाई पानी यति मन पर्छ कि रोजेर पाइने भए म डुबेरै मर्न चाहन्थेँ । पानीमा डुबेरै मरेको हो कवि शेली (अरू मरुवाको लिस्ट गुगलले भन्ला) । म जस्तो डुलन्दास मर्ने भनेकै कि डुबेर हो कि टायरले कच्याक्क किचिएर हो या हिउँ–पैह्रोले छपक्कै पुरिएर । इलियटलाई पढेको राती नै मैले ‘ पानी’ शीर्षकको कविता लेखेको थिएँ । 
वरिपरि खेलाएर सतत माछाहरू 
अर्को जन्म छ भने कतै 
मलाई पानी भएर जन्मने इच्छा छ 
मेरो ईश्वर !
म तँलाई मैभित्र डुबेर मरेको हेर्न चाहन्छु ।
एकताका अल–क्वासा पालेको थिएँ, फार्म हाउसमा । फार्म हाउस आउनुअघि अल–क्वासाको नाम के थियो वा थिएन, मलाई थाह भएन । उसको मालिकले उसलाई पोखराको कुनै तथाकथित महोत्सवमा ल्याएर मान्छे बोकाएको थियो । आफ्नो कुप्रिएको पिठ्युँमा महोत्सवभर अनगिन्ती मान्छे बोकेर उसले मालिकका लागि पैसा कमाइदिएकी थिई । तर, उसको कमाइ बोकेर मालिक एक्लै राजस्थान फर्कियो, अल–क्वासा लावारिस भई । मौसम र हावापानी नमिल्ने यो उराठ सहर पोखराका व्यस्त सडकमा दिनरात भौँतारिएर मालिक खोज्दै दगुरी । नालाको कालो पानी पिउन थाली । डाला थापेर बेच्न बसेका बूढी आमाहरूका सागसब्जी खोसेर खाई । पर्खालमाथिबाट लामो घाँटी छिराएर किसानले जेनतेन हुर्काएका धानका बाला चपाउन थाली । अल–क्वासा सहरवासीका लागि घाँडो हुन थाली । ऊ दुई वर्ष सडकछाप भएर बाँची । 
‘उद्दार’ नामको लामै कथाको प्लट बुनेर बल्लतल्ल ल्याइपुर्‍याएको थिएँ अल–क्वासालाई फार्म हाउसमा । फार्म हाउसमा टेक्नेबित्तिकै ऊ भकाभक चर्न थालेकी थिई हरियो घाँस । दुई वर्षदेखि अघाउन्जी चपाउन नपाएको घाँसले पेट टुम्म पारेपछि बल्ल पल्टेकी थिई ऊ बालुवामा, चार खुट्टा फालेर । 
तर, अल–क्वासालाई एक वर्ष पनि बचाउन सकिनँ मैले । पानीमा डुबेर मरी । मैले आँखा झिमिक्क पनि गर्न नपाउँदै ऊ बद्र्याम्म खसेकी थिई, डेढ सय मिटर गहिरो विजयपुरको खोँचमा । म असहाय भएर हेरेको हेर्‍यै भएँ । बिचरीको लास पनि भेटिएन । साउनको बाढीले उन्मत्त विजयपुरमा डुबुलडुबुल गर्दै उसको यामानको शरीरबाट कसरी फुस्किएको थियो होला प्राणको मसिनो गाँठो ? 
‘बरू सडकमै लावारिस भएको भए ऊ अझै बाँचिरहेकी हुन्थी । मैले बेक्कारमा ल्याएछु ।’ मृत्युशोकले विह्वल भएको मलाई सान्त्वना दिन आएका कृष्णमणि र शिव शर्मालाई सुकसुकाउँदै भनेको थिएँ मैले । 
‘दु:खी भएर सय वर्ष बाँच्नुभन्दा सुखी भएर एक दिन बाँच्नु बेस ।’ शिवले सान्त्वना पस्केको थियो । तर, के फार्म हाउसमा एक्ली अल–क्वासा साँच्चैको खुसी थिई ? 
प्रिय विपश्वी † अल–क्वासासँग भेटिनुअगाडि मलाई उँmट देखेर डर लाग्थ्यो । तर, अचेल उल्कै माया लाग्छ ऊँटको । मलाई ऊँट सिकाएर गई ऊ । कुनै बखत राजस्थान पुगेँ भने उसको मालिकलाई दुई थप्पड गालामा चट्काउन मन छ । तर, मेरो थप्पड खानकै लागि उसको मालिक के अझै ज्यूँदै होला ? 
हामी केटाकेटी ऊँटलाई मरुभूमिको घोडा भनेर पढ्थ्यौँ । अल–क्वासा मरेको रात सपनामा एउटा खैरो बछेडो अनि अर्को एकसिंगे युनिकोर्न पालैपाले हिनहिनाएका थिए । त्यो हिनहिनाहट विजयपुर खोलाको खोँचमा ठोकिन्थ्यो र गहिरो प्रतिध्वनि बनेर फर्किन्थ्यो । इको अर्थात् नर्गिसकी नायिका यति घनघोर उदासीमा उपस्थित हुन्छे भन्ने मैले कहिल्यै अनुमान गरिनँ । त्यो प्रतिध्वनि कुनै लास्ट अफ् द मोहिकन्सको कोरसजस्तो सुनिन्थ्यो । सपनामा घोडा हिनहिनाएको आवाज कसैले सुन्न नपरोस् π बलात्कारको पीडा खप्न नसकेर पूरै युरोपेली रानीहरू एकसाथ चिच्याएको आवाजजस्तो लाग्छ, मलाई घोडा हिनहिनाएको स्वर । 
म १०/११ वर्षको हुँदो हुँ । घरमा आएको थियो एउटा खैरो–कालो गोरु । रङ अनुसारले नै उसको नाम थियो, गुरे । घरको पहिलो गोरु । तिनताका फागुन­–चैततिर पोखराको टुँडिखेलमा गोरु मेला लाग्थ्यो । वरपरका किसानहरू आउँदो बर्खालाई ताकेर गोरु बेच्न ल्याउँथे । आमाले हिउँदभरि साग बेचेर कमाएको पैसाले ल्याउनु भएको थियो त्यसलाई । 
अर्को बर्खामा त जसै गोरु किनिछाड्छु भन्ने अठोट लिएर त्यो हिउँद पूरै घरबारीमा तरकारी लगाउनुभएको थियो आमाले । पुस–माघको ठण्डीमा राती अबेरसम्म हामी केटाकेटीसमेत मिलेर लसुन, प्याज, छ्यापी र साग पखाल्दै मुठा पार्ने काममा व्यस्त हुन्थ्यौँ । एक खाँग्रे तरकारी पखालेपछि बल्ल सुतिन्थ्यो । हामी बिहान उठ्दा आमा ओछ्यानमा हुनुहुँदैनथ्यो, १५ किलोमिटर टाढाको बजारमा खाँग्रे बोकेर डुलिरहनुहुन्थ्यो । ‘यो जाडोमा बूढी आमा कुन बेला उठेर हिँडेकी होलिन् ?’ सोचेर मलाई रुन आउँथ्यो । कात्तिकदेखि फागुनसम्म रिठ्ठो नबिराई हरेक दिन तरकारी बेचेपछि बल्ल जगेडा भएको थियो अतिरिक्त १ हजार ६ सय अर्थात् गुरे गोरुको परल मोरु । 
दु:खले किनेको भएर होला, गुरे मलाई अहिलेसम्म पालेकामध्ये सर्वाधिक प्यारो जनावर लाग्छ । यसको भकारो सोहोर्दा, यसलाई कुँडो पकाउँदा, पराल थुत्दा वा चराउन भनेर माटेको खर्कमा लग्दा मलाई कहिल्यै दु:ख लागेन । थकाइ लागेन । सात वर्ष लगातार हाम्रो परिवारको सेवा गरेर कात्तिकको एक साँझ गुरे बित्यो । शोकको त्यो साँझ हाम्रो घरमा भात पाकेन । त्यसपछि हाम्रो परिवारमा कुनै अर्को गोरु आएन । अब त गोरुको जमाना पनि गयो । 
म कहिलेकाहीँ सोच्छु, मेरी छोरीले पनि जनावरसँग जोडिएका गहिरा संवेदनाहरूबाट गुज्रने अवसर पाउली ? 
प्रिय विपश्वी † सिजन स्वस्थानीको छ । मन भने आफ्नो स्थानमा छैन । तिमीलाई प्रेमपत्र लेख्न बसेको म खोइ किन हो, जनावरका यादहरूमा अल्झिन पुगेँ । सायद मजत्तिको अस्थिर मान्छे जन्मिन बाँकी नै छ । त्यसो त संसारका कुनै पनि चीज स्थिर छैनन् । भएको भए पृथ्वी किन जन्मजात चक्कर काटिरहन विवश हुन्थी ? सूर्य आफैँ रापिएर बस्न किन अभिशप्त हुन्थ्यो ? खोला बरा किन दौडिरहन्थ्यो ? आकाश किन वर्षिरहन्थ्यो ? किन मेरो जिन्दगीमा मान्छेभन्दा पनि गहन सम्बन्ध राखेर आउँथे, घोडा, ऊँट, गोरु र अनन्त जनावरहरू ? 
प्रकाशित: माघ ३, २०७४
Published at: 

Thursday, August 24, 2017

ठकवक तान्त्रिक र सेपिन्स सपना



यौन सुखमा लिप्त ए पुरुष ! तँलाई आश्चर्य भएको छैन कि यो के भइरहेको छ ? यो जुन आनन्द यहाँ भइरहेको छ, त्यो आनन्द खासमा कसलाई भइरहेको छ ?

पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अंग ‘पैताला’ हो । मान्छेको जातले जे पाएको छ, जे गुमाएको छ, त्यो सब पैतालाको कारणले हो । त्यो कुनै कार्ल माक्र्सले भनेजस्तो पेटको कारणले होइन । न कुनै फ्रायडले भनेजस्तो यौनका कारणले हो । वा कुनै मानवतावादी मनुवाले भनेझैँ हृदयको कारणले हो । न कुनै शास्त्रीय दार्शनिकले भनेझैँ टाउकाका कारणले हो । न कुनै औपनिवेशिक सम्राट्ले भनेझैँ गर्धन र पाखुराका कारणले हो ।

मान्छे जात मुसाफिर जात हो । नयाँ नयाँ जमिनलाई पैतालाले कुल्चिने उत्कण्ठा मान्छेको आदिम उत्कण्ठा हो । यही उत्कण्ठाले कुतकुत्याएर मान्छेको जात अस्ट्रेलिया पुग्यो, अमेरिका पुग्यो । उही आदिम इच्छाले तानेर मान्छेले डरलाग्दा हिँउका गल्छेँडाहरू कट्यो । मरुभूमिहरू छिचोल्यो । महासागर तर्‍यो । मान्छे त्यसै पैँतालामा उभिएको हुँदै होइन ।

पैँतालामा उभिने जमर्को मान्छेको खतरनाक जमर्को हो । यसका लागि मान्छेले ठूला जैविक र जिनेटिक मूल्य चुकाएको छ । पुस्तापुस्ताले तिर्नुपर्ने गरी ठूलो स्याक्रिफाइस भएको छ । पैँतालामा ठाडो उभिएकै कारणले मान्छेको जात ‘प्रिम्याच्युअर’ जन्मन्छ । जनावरहरू जन्मनेबित्तिकै उफ्रन्छन् तर मान्छेको बच्चालाई आत्मसुरक्षाको हैसियतमा पुग्न कति समय लाग्छ ? सीधा उभिँदा पाठेघरमाथि पर्ने अतिरिक्त बोझका कारणले नै यस्तो भएको हो ।

हुन्डरीले एउटा गोरेटो समातेर मैले उपन्यास लेखेँ । सोही उपन्यासको फाइनल कपी लेख्न नेपालगन्ज जाँदै थिएँ । अचानक कुमार नगरकोटी दाइको एब्रप्ट एसएमएस आयो । ‘फलानो किताब खुरुक्क पढ । यसमा के छ पनि मलाई नसोध । कहाँ पाइन्छ पनि नसोध । किताबको आफैँ सिकार गर ।’
मान्छेको जात सिकारी जात त हुँदै हो । बुक हन्टिङ मेरो पनि सोखको विषय । अनुभवको विषय । जनाउको पाँचौँ दिनमा किताब हात लाग्यो । युभल नोह हरारीको ‘स्यापियन्स’ । मान्छेको इतिहासमाथि लेखिएको यो किताबले मैले लेखिभ्याएको उपन्यासलाई यस्तरी उकेरा लगायो, म यसको पुन:सम्पादन गर्न जनकपुर हिँडेँ । यो निबन्ध म जनकपुरबाटै लेखिरहेको छु ।
***
मलाई एउटा अनौठो अनुभव छ । मास्टरीकालमा ‘पैसा’ अनकाउन्टेबल नाउन (असंख्येय संज्ञा) हो भनेर बुझाउन मलाई सदैव हम्मेहम्मे पथ्र्यो । सम्भवत: संसारमा सबैभन्दा ज्यादा गणना गरिने जिनिस हो पैसा । यसैलाई ‘अनकाउन्टेबल’ करार गर्नु चानचुने बात थिएन ।

‘रुपियाँ, डलर, पाउन्ड, यान, दिराम आदि पैसाका एकाइ मात्र हुन् । पैसा होइनन् !’ यति भनेर सम्झाइदिएकामा विद्यार्थीहरू सम्झिदिएको जस्तो गर्थे । तर, एउटा न एउटा चम्बु विद्यार्थी जुरुक्क
उठ्थ्यो र सोधिहाल्थ्यो :
‘उसो भए पैसा के हो त नि माड्साप ?’
‘हेर बाबुनानी, पैसा एउटा विश्वास हो । मान्छेको कल्पना हो ।’ म भन्न खोज्थेँ । तर, सक्दिनथेँ । विद्यार्थीहरूबाट मास्टर बहुलाएको हल्ला फैलन सक्ने भय बढेर आउँथ्यो ।

स्यापियन्स अर्थात् हामी । हाम्रो मान्छे जात । हामीले कल्पनालाई यस्तरी वस्तुमा परिणत गरिदियौँ कि सम्पत्ति, पैसा, देश, कानुन ... सबका सब हामीलाई भौतिक सत्य लाग्न थालिसकेका छन् । हरारी भन्छन्, ‘ व्यापार, मानव अधिकार, प्रजातन्त्र, धर्म आदि सबै खासमा विश्वासमा अडिएका अप्राकृतिक कुरा मात्रै हुन् । मानव अधिकार भन्ने कुरा मान्छेको आविष्कार मात्रै हो । देश उस्तै आविष्कार हो । धर्म, पैसा, भाषा पनि खासमा मान्छेका अविष्कार मात्रै हुन् । संज्ञानात्मक विकासको चरणमा मान्छेले विकसित गरेको सर्वाधिक महत्त्वपूर्ण कुरा भनेको ‘ काल्पनिक सत्य’को अविष्कार हो । यस्तो सत्य, जसले मान्छेलाई मान्छेसँग जोडिराख्न मद्दत गर्छ ।

एउटा नेपाली लिम्बु मानौँ कुनै अन्जान देशमा १५ वर्षदेखि छ । १५ वर्षपछि सोही देशमा उसको भेट अर्को नेपाली थारूसँग हुन्छ । अनि, अचानक त्यो थारू लिम्बुको सर्वाधिक प्रिय भइदिएर आउँछ । आफूलाई १५ वर्षदेखि गाँस, बास दिएका, माया दिएका त्यो अन्जान देशका नागरिकभन्दा भर्खरै आएको नेपाली थारू किन उसलाई सर्वाधिक प्रिय लाग्यो होला ? किन विश्वसनीय लाग्यो ? बात साफ छ । राष्ट्रियताको कारणले ।

धर्म, राष्ट्रियता, कानुन, मानव अधिकार, पैसा आदिले मान्छेलाई अनन्त एकाइका अन्जान मान्छेलाई पनि नियन्त्रण गर्न सघाउँछ । नेपालमा (देशको उदाहरण मात्रै) बस्नेहरू सबै नेपालको कानुन मान्न विवश छन् । भलै उनीहरूमध्ये धेरैलाई कानुनमा के छ भन्ने जानकारी पनि हुँदैन । हामी हामीलाई थाहै नभएको कुरामा पनि विश्वास गर्छौं । कल्पना गर्नूस् त, एक दिन संसारका सबै मान्छे जंगली भए भने के हुन्छ ? तिनीहरूले ओशो वा हिप्पीका झैँ देश, कानुन, धर्म र मर्यादालाई मान्दैनौँ भनिदिए भने के हुन्छ ? भाषाको कारणले मात्रै हामीले यस्ता काल्पनिक सत्यको निर्माण गर्न सकेका हौँ । काल्पनिक सत्यको बलमा हामी हाम्रो प्रभाव र नियन्त्रणलाई मजबुत बनाउन चाहन्छौँ । त्यसैले त मिसनरीहरू धर्म प्रचारमा हिँड्छन् ।

भाषाले हामीलाई यस्तरी जोड्यो कि मिलेर बस्न, लडाइँ–झगडा नगर्न, एकले अर्कालाई सहयोग गर्न मान्छेले मान्छेलाई चिन्न नपर्ने भयो । ईश्वर, राष्ट्र, धर्म आदि जस्ता साझा कल्पनामा विश्वास गरेर हामीले सामूहिक जीवन बाँच्न थाल्यौँ । हिजो जंगलमा बाघ, भालु, सर्प आदिसँग जोगिँदै जोगिँदै सन्तान जोगाएका हामीसँग अहिले फुर्तिला कार छन् । आकाश छुने महल छन् । हवाईजहाज छन् । तर, हरारी भन्छन्, ‘हाम्रो जिनले घरीघरी ठान्छ कि हामी अझै पनि सभानातिरै छौँ । हामी भौँतारिन चाहन्छौँ । मान्छेको निराशा, एकाकीपनको कारण त्यही हो ।’ मनोविज्ञानले के भन्छ भने संसारका सबै मान्छे चिल्लोचाप्लो र गुलियो भनेपछि मरिहत्ते गर्छन् । यो एक आदिम चाहना हो । आजभन्दा ७० वर्ष पहिले रसिला र गुलिया फल खानु भनेको कहिलेकाहीँ मात्रै नसिब हुने कुरा हुन्थे । मान्छेले छुन नपाउँदै जंगली फल चरा र बाँदरले सखाप पारिसके का हुन्थे । कृषिकालपछि मात्रै मान्छेलाई गुलियो फल सर्वसुलभ भएको हो । आदिकालको गुलियो प्रेम अझै हाम्रो जिनमा सुरक्षित छ र त हामी बोसो र गुलियोलाई यतिविघ्न स्वाद गर्छौं ।

कतिलाई पत्यार नलाग्न सक्छ तर अहिलेको ‘यौन’ पनि मान्छेको आविष्कार नै हो । किनभने, यौन मान्छेले आविष्कार गरेको ‘सौन्दर्य चेतना’बाट निर्देशित हुन्छ । करिब पाँच महिना पहिले मैले एउटा फेसबुक स्ट्याटस लेखेको थिएँ । ‘यौन मान्छेको अविष्कार हो ।’ तिनताका म एउटी कुरूप आइमाई ‘लोथिरा साह’लाई मेरो उपन्यासको पात्र बनाएर कथामा घुसाउँदै थिएँ । लोथिरा जो यति कुरूप छे कि उसलाई देखेपछि रनाहामा परेको यौनांग पनि तत्काल शिथिल भइजान्छ । हुल्हुली बान्ता निस्कन थाल्छ ।

भाषाकै बलमा मान्छेले ठीक र बेठीकको निर्माण गर्‍यो । सुन्दर र कुरूपको अवधारणा विकास गर्‍यो । कृषि क्रान्तिपूर्वको समयमा जब कुनै वृद्धा समूहको लागि बोझ अनुभूत हुन्थी, उसको पछिपछि आएको कुनै युवकले पत्थरले टाउकोमा बजाउँथ्यो र हत्या गरिदिन्थ्यो । नचाहेको बच्चा, अपांग वा दीर्घ रोगीलाई पनि त्यसै गरिन्थ्यो । त्यो न ठीक थियो, न बेठीक । जस्तो : हामी ‘हिजो राती भएको सम्भोगबाट गर्भ रहेको’ डरमा रोधकचक्की खाएर गर्भपात गर्छौं । के हामी गर्भपातलाई बेठीक मान्छौँ ? त्यो पनि भोलिपल्टै गरिएकालाई ? ठीक त्यस्तै मनोदशामा अशक्त वृद्ध मारिन्थिन् ।

ठीक र बेठीकको चलन भाषाकै देन हो । यसकै बलमा नीतिशिक्षा बने । धर्म बने । नियम–कानुन बने । संविधान बने । अचेल हामी मानव अधिकारभन्दा माथि उठेर पशु अधिकारका बात मार्ने भइटोपलेका छौँ । कुन दिन कुन सन्काहाले ‘वनस्पती अधिकार’को कुरा पनि ननिकाल्ला भन्ने छैन ।
***
‘स्यापियन्स’ पढेको एक हप्तापछि मलाई स्वप्नदोष भयो । बिहेपछि भएकै थिएन तर खै किन भयो भयो त्यस दिन । सपनामा मैले भित्ताभरि सूर्य देखेँ । चन्द्रमा, बिच्छी, कछुवा, माछा, सुगा, बाँस, आँप घारी सबका सब देखेँ । भित्ताभरि तान्त्रिक तवरले कोरिएका चित्र देखेपछि मात्रै मलाई थाह भयो, म कोहवर घरमा छु । नभन्दै बाँसघारीको छेउबाट आँखा फुट्लाजस्तै एकोहोरो मलाई हेरिरहेको ठकवकलाई देखेँ ।

ठकवकले सोध्यो, ‘यौन सुखमा लिप्त ए पुरुष ! तँलाई आश्चर्य भएको छैन कि यो के भइरहेको छ ? यो जुन आनन्द यहाँ भइरहेको छ, त्यो आनन्द खासमा कसलाई भइरहेको छ ?’

मैले यसरी सोचेकै थिइनँ । सोच्नेबित्तिकै मेरो शरीरमा अचानक एउटा तान्त्रिक क्रान्ति घटित भएझैँ भयो । म मुस्कुराएँ । ठकवक बोल्यो, ‘इन्द्रियको त्यो भाग जसलाई हामी समात्न सक्दैनौँ, त्यो हो आत्मा । आत्माको त्यो भाग जसलाई हामी समात्न सक्छौँ, त्यो हो शरीर । भन सम्भोगले कसलाई आनन्द भयो ?’

प्रश्न सुन्नेबित्तिकै भित्ताको चित्रमा भएको बाँसको घारीबाट सुगा उठ्यो । बाँसको भेदमा भएको त्रिभुजाकार योनि विलुप्त भयो । ठकवक पनि गायब भयो । बिच्छी, सर्प, कछुवा हराइगए । म जुरुक्क भएँ । खुट्टाका कापबाट स्वप्नदोष बगिरहेको थियो ।

‘भोग गर तर आत्मालाई माथि राख । संसारका सबै रंगको आनन्द लेऊ । तर, भोक्ता भएर होइन, द्रष्टा भएर । साक्षी भएर । तिमी विदेह भैजाऊ ।’ अष्टावक्र सम्झेँ । अनि, बोरा बिस्तरा पोको पारेर कुदेँ जनकपुर ।
***
हरारी मान्छेको इतिहासलाई चार कालमा बाँड्छन् । करिब ७० हजार वर्ष पहिले मान्छेमा संज्ञानात्मक क्रान्ति भयो । तिनताका विश्वका मान्छेका कम्तीमा पनि एक दर्जन जात थिए । हाम्रो जाति ‘होमो स्यापियन्स’ले सबैलाई विस्थापित गर्दै अघि आयो । अहिले मान्छेको जातमा ‘स्यापियन्स’ मात्रै जीवित छौँ । कल्पना गर्नूस् त, बाघ र सिंह भएझैँ यौनिक साझेदारी सम्भव नभएको अरू जातको मान्छे पनि अझै सृष्टिमा भएको भए के हुन्थ्यो होला ? खैर, यी भात पचाउने कल्पना मात्रै हुन् । पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल के हुन्थ्यो भनेजस्तै ।

अनि, ११ हजार वर्षअघितिर मान्छेले कृषि क्रान्ति गर्‍यो । सिकार गर्ने र खानेकुरा खोज्ने ‘फोरेजर’ समूहलाई स्थिरताको बाटो देखाउँदै कृषि युगको आरम्भ भयो । करिब पाँच सय वर्ष पहिले वैज्ञानिक क्रान्ति सुरु भयो । यसले २ सय ५० वर्ष पहिले औद्योगिक क्रान्ति गर्‍यो । जसको जगमा ५० वर्ष पहिले मान्छे सूचनाको युगमा प्रवेश गर्‍यो । मान्छे जैव–प्राविधिक (बायोटेक्नोलोजिक) क्रान्ति गर्दै छ, जो सुरुआती चरणमै छ । हरारी शंका गर्छन् कि बायोटेक्नोलोजीको विकासले होमो स्यापियन्स् अर्थात् हामी मान्छेको जातलाई विस्थापित गर्नेछ । हाम्रो सट्टामा बायोइन्जिनियरिङ गरिएका अमोर्टल साइबोर्ग मान्छेहरूले राज गर्नेछन् । यिनीहरू अमर अर्थात् ‘इमोर्टल’ त हुने छैनन् तर हत्या, आत्महत्या वा दुर्घटनाबाट जोगिएमा सदा बाँचिरहन सक्ने ‘अमोर्टल’ हुनेछन् ।



प्रकाशित: माघ १२, २०७३

http://nepal.ekantipur.com/news/2017-01-25/20170125190524.html

Monday, June 27, 2016

पुरानो पोखरा


सोच्दिनँ भन्छु तर नसोची धर पाउन्नँ, मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ? मान्छेले समय फेर्छ कि समयले मान्छे ? मेरै मस्तिष्कको एउटा छेउबाट गुज्रेर सोचाइ जान्छ तर म सोचाइलाई मेरै सोचाइ भन्ठान्छु । प्रश्नलाई मेरै मौलिक प्रश्न भन्ठान्छु । मौलिक सोचाइको स्वामित्वभावले कहिले दु:खी हुन्छु, कहिले खुसीले उत्तेजित हुन्छु । मात्रै सोच्नु पनि कस्तो सुखद र दु:खद कारण हुँदो रहेछ !
तिनताका विशाल कुँडहर फाँटमा मात्रै तीन–चारवटा घर थिए । कुँडहर फाँटमा भएका तीन–चार थान घरलाई थिए भने पनि ठीक, थिएनन् भने पनि ठीक । कात्तिक महिना फाँटमा मंसिर लाग्थ्यो । महिनाको मंसिर होइन कि धान थन्क्याउने मंसिर । महिनाको मंसिरमा स्कुलको कक्षा उक्लिइन्थ्यो । कात्तिक महिनामा हुने अन्तिम परीक्षा सकेपछि दाइ पशुपति पौडेल र मेरो कामै धानका कुन्यू रुँघ्ने हुन्थ्यो । स्थानीय छाडा बस्तुभाउ मात्रै होइनन्, हिमालपारि मुस्ताङबाट ओर्लेका घोडा, खच्चड र गधाको उधिन्याइबाट जोगाउन दिनभर खलेगह्रामा बस्थ्यौँ । दुई भाइ कुन्यूमा खेल्थ्यौँ । तिर्खा लागे, नहरमा बगेको सेतीको पानी सोझै खाइदिन्थ्यौँ । तिनताका हामीलाई दिउँसो भोक लाग्दैनथ्यो । खान नपाइने ग्यारेन्टी भएपछि भोक नलाग्दो रहेछ । तर, लाग्ने कुरा एउटै काफी थियो, झ्याउ । झ्याउ यति लाग्थ्यो कि त्यसले झ्याँगेर टाउको रिगाउँथ्यो ।
खेल्ने कुरा सकिएपछि हामी परालको कन्यूमा चढ्थ्यौँ । कन्यूबाट करिब दुई किलोमिटर टाढाको पृथ्वी राजमार्गमा मोटर गुडेको प्रस्ट देखिन्थ्यो । कन्यूमा जेनतेन अडिएर हामी ‘पिट्टा लगाइ’ खेल्थ्यौँ । माथिबाट तल कुनै मोटर आयो भने मैले दाइलाई एक पिट्टा हान्थेँ । तलबाट माथि गयो भने दाइले एक पिट्टा हान्नुहुन्थ्यो । खेलभरमा दुवैले लगभग २० पिट्टा खाइन्थ्यो । अचेल त्यही सडकमा ट्राफिक जाम हुन्छ । ‘पिट्टा हानी’ खेलेर साध्य नै छैन । कुँडहर फाँटमा खेत कम, घर ज्यादा भइसकेका छन् । बाटोमा मान्छे कम, मोटर ज्यादा गुड्न थालेका छन् ।
हाराहारी डेढ महिना बिन्दास हुन पाइने बर्खेबिदा विजयपुर खोलामा बित्थ्यो । अलिक ठूलो भएको देखाउन कहिलेकाहीँ फेवातालबाट झरेको फुस्रे खोलामा पनि पौडन गइन्थ्यो । छहराको रह, कानीबूढीको रह, स्यान डहरेको रह, सोलेको रह आदि नामुद रहहरू थिए । खोलाको पानी कुनै गहिरो र फराकिलो खाडलमा अडिएर जमेको ठाउँलाई रह भनिन्थ्यो । सोलेको रह त पूरै सोलीजस्तो थियो । सेतीजस्तै गहिरिएर बगेको ढन्डुरोभित्र गहिरो रह थियो । पौडेर गन्तव्य पुग्न सकिएन भने डेभिज फलजस्तै डरलाग्दो ढन्डुरोभित्र हुल्दिन्थ्यो । बाँच्ने चान्सै थिएन । तैपनि, कत्रो साहसले हामी त्यहाँ पौडन्थ्यौँ ।
अत्यन्त नीला र गहिरा रह थिए ती । तिनमा मान्छेलाई गुटमुट्याएर डुबाइदिने भुँवरी हुन्थ्यो । त्यसैले भुँवरी छलेर तिनमा पौडनेको सान भिन्दै हुन्थ्यो । दोबिल्लाको रह पूरै गाउँभरिका केटाहरूमाझ विख्यात थियो । सेतीको पानी नमिसिएको हुनाले फुस्रे खोलो सङ्लो हुन्थ्यो । गाउँका युवाहरूले कहिलेकाहीँ खोलामा बम हानेर माछा मार्थे । चार–पाँच किलोका माछा सामान्य हुन्थे ।
दिनभरि पौडँदा अति भोक लाग्थ्यो । खाउँm त के खाउँm ? खोलामा केको खाजा पाइन्थ्यो र ? माछा, गँगटा, झिँगेमाछा पोलेर खाइन्थ्यो । हाम्रो त एउटा सिकारी दस्ता नै थियो । खोलामा पुगुन्जेल गुलेलीले चरा मारेर खाजाको जोहो नै गरिन्थ्यो । चरा भुत्ल्यायो । आन्द्राभुँडी र टाउको फाल्यो । आगोमा बेस्सरी पोल्यो, खायो । मैले जति चराको मासु कसैले खाएन होला !
मेरो गाउँ मझेरी पाटन तिनताका आधी जंगलजस्तो थियो । रूखैपिच्छे गुँड हुन्थे । डाङ्ग्रे, चाँचरी, जुरेलो, ढिकुर आदि जातका चरा धेरै सिकार हुन्थे । गुँड देख्नासाथ रूखमा चढिन्थ्यो । चराका अन्डा मात्रै छन् भने भुइँमा खसालेर फुटाइदिन्थ्यौँ । आँखा र प्वाँखसमेत नपलाएका बचेराहरू रहेछन् भने पनि बाँकी छोडिँदैनथ्यो । घाँटी चुँडालेर मारिन्थ्यो र त्यसै फ्याँकिन्थ्यो ।
प्वाँख नपलाएका चरा खान हुन्न भन्ने विश्वास थियो । ‘बचेरा निमोठेर मार्‍यो भने मुटु बलियो हुन्छ’ भन्थे केटाहरू । मैले जति चराका बचेरा कसैले निमोठेर मारेन होला । अहिले सम्झँदा मात्रै पनि मेरो आङ सिरिङ्ग हुन्छ । त्यत्रो निर्दयी स्वभाव कहाँबाट आयो होला ममा ? मभित्रको दया, माया, करुणा कता गएथ्यो होला ? के मान्छेको बच्चाले मैले जस्तो हिंस्रक बाल्यकाल बिताउन सम्भव छ ? अहिले यसरी अत्यन्त कमलो हृदयको र पिन्चे स्वभावको कसरी बनेको हुँला म ? हुन पनि अचेल चराको त कति माया लाग्छ कति !
विजयपुर, सेती र फुस्रे खोलामा पौडी खेल्नेहरू सबै खैनीबाज थिए । प्रख्यात बिजली खैनीको बट्टा बोकेर आउने केटो राजा बराबर हुन्थ्यो । ‘खैनी खानेलाई भोक लाग्दैन’ भन्ने विश्वास हुनाले यसको लत बसाल्न अनेकन् कोसिस गरिन्थ्यो । खैनीलाई घाममा सुकाएर हुन्छ कि, पानीले पखालेर हुन्छ कि, चिनी मिसाएर हुन्छ कि ‘मोलुवा’ बनाइन्थ्यो । अलिक कम कडा खैनीलाई ‘मोलुवा’ भनिन्थ्यो । मोलुवा बनाइएकै भए पनि पहिलोपटक खैनी च्याप्दा टाउको रननन्न घुमाएर मैले वान्तै गरेको थिएँ । पछि कसरी सिकियो सिकियो ? खैनी सिकेजस्तै सजिलै गरी मैले त्यसलाई छोड्न पनि सकेँ । तर, मेरा सबै दामलीहरू अझै त्यसको अम्मली छन् ।
आफूले खैनी–चुरोट खान पूरै छोडेको भए पनि मलाई खैनी र सुपारी खाने मान्छे बडो आकर्षक लाग्छन् अझै पनि । चोरी र बूढीऔँलाले हल्का गरी खैनी च्याप्यो, ओठको कापोमा घुसार्‍यो, मन्द नुनिलो मसालेदार रस मुखमा आएपछि बन्ने थुकलाई प्याच्च थुक्यो । सुन्दा वा पढ्दा घिनलाग्दो लागे पनि खाएर त्यो प्रक्रिया पूरा गर्दा बडो आनन्दको काम हुन्थ्यो ।
पौडी खेल्दा नाङ्गै खेलिन्थ्यो । उमेर चढेपछि यौनाङ्गमा पलाएका रौँ लाजको कारण हुन्थ्यो । कसैको रौँ देखियो भने गिज्याएर हैरान पार्थे साथीहरू । नाङ्गै पौडनु लाज हुँदैनथ्यो । लाजको अंगमा रौँ देखियो भने मात्रै लाज हुन्थ्यो । अन्डरवयर कसैले लगाउँदैनथे । केही साथीहरू हामीलाई झुक्याउन रौँ खौरेर पनि जान्थे । रहर भए पनि म रौँ खौरेर जान सक्दिनथेँ । मेरा बाले आफैँले दाह्री फाल्नु हुन्थेन । हजामकहाँ जानुहुन्थ्यो । त्यसैले मैले अरूले जसरी थप एक बर्खा नाङ्गै पौडन पाइनँ । लाजको भाव आएपछि पौडी खेल्ने साथी फेरिन्थे ।
हिउँदको छुट्टी घोडा चढेर बिताइन्थ्यो । हुन त सानैमा घोडा चढिएन । अलि उमेर बढेपछि चढियो । भोटेले चरनमा छाडा छोडेका घोडालाई समातेर दिनभर चढिन्थ्यो । आफ्नो घोडा चढेको देखे भने भोटेले लखेट्थे । बा–आमाले देखे भने झन् सातो लिन्थे । भेटे भने बेस्मारी पिट्थे । भोटेसँग डराइडराइ घोडा चढ्नु, दिनहुँ उसको खेदाइ खानु र राती घोडाको पिठ्यूँले डामेको नितम्ब मुसारेर सुत्नु दैनिकी नै हुन्थ्यो । नून बोकेको घोडा परेछ भने नितम्बमा अनेकथरी खटिरा आउँथे ।
तिनताका धेरैजसो भोटेले लखेटेको सपना देख्थेँ म । भोटे पछिपछि, म उसकै घोडा चढेर अघिअघि । नभेटेपछि भोटेले घुँयत्रोले हान्थ्यो । म मट्याङ्ग्रो छल्दै घोडा कुदाउँथँे । एकछिनपछि भोटे थुचुक्क बस्थ्यो । लामो सास तान्थ्यो र सुइय्य सिटी बजाउँथ्यो । सिटी सुन्ने बित्तिकै हिनहिनाउँदै घोडा फर्किन्थ्यो र भोटे भएतिर हाम 
फाल्थ्यो । जति लगाम खिचे पनि अहँ, रोकिँदैनथ्यो । म घोडाबाट हामफाल्थेँ र ब्यूँझन्थेँ ।
म उति साह्रो सिपालु थिइनँ घोडा चढ्न । तैपनि, मलाई पैया, त्रिखुट्टी र कदम गरी तीनवटै चालमा घोडा कुदाउन आउँथ्यो । मेरा साथीहरू त खग्गु थिए । घोडा चढ्ने लत यतिसम्म भएको थियो कि साँझ खाना खाएपछि पनि सुटुक्क घरबाहिर निस्कन्थ्यौँ । राती अबेरसम्म घोडा चढ्थ्यौँ र फर्किन्थ्याँै । भोटेका घोडा फागुनसम्म गाउँमा बस्थे । केही केही त चैतसम्मै बस्थे ।
हाई स्कुल पुग्दा कृषि काम पूरै धानिन्थ्यो । तिनताका खेतमा काम गर्ने बाउसेको दैनिक ज्याला ५० रुपियाँ थियो । मेरो उमेर सानो भएको हुनाले ३५ रुपियाँ मात्रै पाउँथेँ । मैले कुँडहर फाँटमा जग्गा हुने मझेरी पाटनका प्राय: बासिन्दाको खेतमा काम गरेको छु । मलाई कसको खेत कति हलको छ ? कहाँ छ ? कुन खेतको मुहान कुन हो ? कुन मुहानमा कस्तो ठेल छ ? भन्ने पूरै जानकारी थियो । पहिले जसरी जाँगरसाथ किसानी गर्ने कुनै गाउँले छैनन् अचेल मेरो गाउँमा । हुन त अब खेती गर्नकै लागि खाली जग्गा पनि धेरै बाँकी छैन ।
मेरा पितापुर्खा धनाढ्य थिएनन् । निम्नमध्यम वर्गीय हुन् । पुगिसरी आएका भए औलोको बिगबिगी भएको पोखराको सबैभन्दा उराठ ठाउँ मझेरीपाटनमा आउने थिएनन् मेरा पुर्खा । अहिले पो पोखरा पोखरा भयो । एक रोपनी जग्गाकै करोडौँ पर्ने भयो । आफ्नो पसिना र सीपले होइन, जग्गाको भाउ बढेकै कारण मेरा रैथाने गाउँले सबका सब करोडपति भएका छन् । आर्थिक परिवर्तनको यो आकस्मिक रूप डरलाग्दो उपभोक्तावादमा फेरिँदैछ । म्यासेज पठाउन नजान्नेले पनि महँगा मोबाइल भिर्न थालेका छन् । म व्यापक विलखबन्दमा छु । समयलाई परिवर्तन गर्न नसके पनि समयसँगै परिवर्तन हुन सकेको भए अलिकति सन्तोष हुन्थ्यो होला । म अझै आफूलाई पुरानै पोखरामा कतै हराएको पाउँछु ।
हामीले पौडी खेल्ने खोलामा अचेल कुनै रह छैनन् । सबै रह पाँगोले पुरिए । मैले खनेका खेतमा घर उभिए । मैले गाईभँैसी चराउने गौखर्क भनिने ठाउँमा अहिले आर्मीको ट्ेरनिङ क्याम्प चल्छ । म पढेको स्कुलमा मलाई पढाएका मास्टर त नहुने भइहाले तर त्यहाँ म बसेको बेन्च छैन, कोठा छैन, भवन छैन । मैले खेलेको चौरमा चौर छैन । मैले आफ्नो यौवनको पहिलो प्रेमपत्र जुन ठाउँमा बसेर पढेको थिएँ, त्यो ठाउँमा पाइखाना बनेको छ ।
जुन खोलाको किनारमा हामीले बयर र स्यालखोस्रा टिपेर खान्थ्यौँ, त्यो ठाउँ अचेल पूरै आवाद भइसक्यो । बजारबाट हिँडेर घर फर्किंदा थकाइ मेट्ने अमरसिंह चोकको चौतारो छैन । कुँडहर फाँटमा खाजा खाँदा थकाइ मार्ने पीपलडालीको चौतारो छैन । त्यस्ता चौताराहरू कति मुर्कट्टा पारिए, कति मुठुर्‍याइए, कति आफ्नो चारकिल्लाभित्र पारेर गुप्त्याइए ।  पानी खान बनाएको हिटी पुरिएको छ ।
तीव्र सहरीकरणको साक्षी पुस्ता हुँ म । मेरो बाल्यकाल र किशोरवयका सम्झना पस्किने चौताराहरू, चौरहरू, पोखरीहरू, खोलाहरू, स्कुलहरू, रूखहरू, घरहरू कुनै बाँकी छैनन् । सहर यस्तरी बदलिएको छ, म उमेरभन्दा पहिल्यै बूढो भएको अनुभव गरिरहेको छु ।
मेरै छेकलबाट बारम्बार त्यही पुरानो प्रश्न बगिरहन्छ : मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ? मान्छेले समय फेर्छ कि समयले मान्छे फेर्छ ?
प्रकाशित: असार १३, २०७३
Published at:
http://nepal.ekantipur.com/news/2016-06-27/20160627173554.html