Contact Form

Name

Email *

Message *

Z

Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, April 7, 2024

काश


काश म त्यो मदहोस मान्छे हुन्थेँ
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी रातभर अनिद्रामा थियौ ।
 
काश म त्यो जङ्गली फुल हुन्थेँ
जसको शरीरको सुगन्धले लठ्ठिएर तिमी मध्यदिनसम्म बिस्तारामा थियौ ।
अथवा हुन्थेँ म त्यो पदयात्री
जसको हात समातेर सुर्यास्तको नदीतटमा तिमी बालुवा विचरण गर्ने कामना गछ्यौँ ।

भूगोलले छुट्याएको समय र समयले अलग्याएको भूगोलमा बसेर
म बेलाबेला कल्पना गरिरहन्छु
काश म त्यो कवि त्यो चित्रकार अथवा त्यो सारङ्गीवाज हुन्थेँ
जसको कायाको-मायाको मधुर जादूमा तिमी नृत्यमग्न झुलेकी थियौ ।
काश, मध्यबजारको चिया पसलमा तिम्रो एक झल्को कुरिबस्ने म कुनै कलेजी केटो हुन्थेँ ।
काश, तिम्रो जन्मदिनमा आरती बाल्ने म कुनै सन्त, भिक्षु या पुजारी हुन्थेँ ।
काश, बसस्ट्यान्डमा चिम्सा आँखा ओछ्याएर तिमी नआएको बाटो हेरिरहेको म कुनै पर्खालु यात्रु हुन्थेँ ।
काश, म कुनै बुक सपको अदृश्य र्‍र्‍याकमा अड्एिको त्यो दूर्लभ पुस्तक हुन्थेँ,
जसलाई तिमी देख्न, सुम्सुम्याउन र आफ्नो बनाउन चाहन्थ्यौ
जसलाई तिमी रात बिरात अनिदो बसेर पढ्न चाहन्थ्यौ ।

काश, म तिमीलाई मनपर्ने कविताको कुनै हरफ हुन्थेँ
जसलाई तिमी कण्ठस्त गुन्गुनाइरहन्छौ ।
काश, म तिम्रो जुनै कथाको कुनै अप्रतिम पात्र हुन्थेँ
जसका खुद्रा खुसीमा तिमी मुस्कुराएकी थियौ,
जसका मसिना दुखमा तिमी सुक्सुकाएकी थियौ ।

काश म त्यो मदहोस मान्छे हुन्थेँ,
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी अझै अनिद्रामा छौ ।

Saturday, May 9, 2015

तिम्रो एउटा गीत


सन्नाटा भन्दा शान्त आँखा, 
आँधिभन्दा अशान्त मौनता 
वा यस्तै केही अमिल्दा सत्यहरूले घेरिएर 
जंगलको कुनै मध्यभागतिर 
मान्छेहरूले कुल्चँदा कुच्चँदा 
घाँस मरेर बनेको धर्के बाटोमा 
गीत गाउँदै हिडिरहेको बेला एकलै एकलै
अकस्मात रोकिछ कुनै 
युवतीले आफ्नोे गीत भने 
बुझ्नू 
म त्यही गीत हुँ । 

त्यो गीत 
उदास उदास भौंतारिएको 
लास्ज्लो ज्याभोरको ग्लुमी सन्डे हुनसक्थ्यो । 
वा कुहिरोले धप्प ढाकिएको बार्दलीबाट
तप्किएर खसेको अरुणा लामाको 
‘पोहोर साल खुसी फाट्दा’ पनि हुन सक्थ्यो । 
वा हुन सक्थ्यो निक केभको 
वन्स देयर केम अ स्टोर्म इन द फर्म अफ् अ गर्ल ।

म त एउटा गीत न हुँ प्रिय
उदास भएकै हुनाले मलाई मीठो मान्छन् मान्छे ।

पहाडको कुनै घनघोर अक्केराबाट
बर्षौ अड्किएर बसेको पथ्थरको पिँधबाट
चिहान भन्दा गहिरो पिडाको गीत 
गाएछ कसैले भने बुझ्नू 
त्यो आवाज म नै हुँ प्रिय,
जो अझै प्रतिक्षामा छ 
एउटा उत्खननको ।
आखिर ज्यूँदो मान्छेलाई कतिन्जेल पुरिरहन्छ्यौ  प्रिय ?

म निक्कै चिसो परिसकेको छु प्रिय, 
कालापथ्थरको सिरेटोभन्दा पनि चिसो ।

प्रेमको सघन शैय्यामा 
मृत्यु र जीवनमध्ये केमा छु भन्ने स्पष्ट दोधारमा 
सास धानिरहेको रहेको बखत जेनतेन जेनतेन
मेरा कानका लोतीमा केही सल्बलायो भने 
वा मेरा फुस्रिएका कपालमा, 
घामका दानाजस्तै पोखियो भने कुनै प्रयास 
मलाई थाह हुन्छ तत्काल 
ती तिम्रा औँलाहरू हुन् ।

त्यती बेला तिमीले सुन्नु पर्छ
मेरो धड्कनको डिलबाट तप्किरहेको हुनेछ
बतासको आँसु झैँ एउटा धुन
मात्र तिम्रा लागि --
द स्ट्रीट आर गेटिङ कोल्डर
एन्ड आइ एम ग्रोइङ वोल्डर
टुमरो सिम्स सो फार अवे ...

Wednesday, December 4, 2013

म हराएको मान्छे ....।


म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे
म हराएको मान्छे ....।

नखोज्नू मलाई तिम्रो मनको कुनामा
म गुमनाम भइरहन्छु मेरै सपनामा 
कुनै फुलको थुँगामा मलाई नखोज्नू
नखोज्नू मलाई दिन वा रातको कल्पनामा

म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे
म हराएको मान्छे ....।

नडुल्नू मलाई खोज्दै वनकन्दरामा
म सुकेको समी हुँ जीवनको जरामा
नखोज्नू मलाई कुनै शब्दकोष बोकेर
मेरो अर्थ दिने शब्द छैन यो धरामा

म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे

म हराएको मान्छे ....।