Contact Form

Name

Email *

Message *

Z

Showing posts with label कान्तिपुर. Show all posts
Showing posts with label कान्तिपुर. Show all posts

Tuesday, November 17, 2020

चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।


 पहिलो प्रसंग तिहारको बारेमा होइन ।

तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् । कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए । नृत्यको चाल मात्रै होइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा ।

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए । संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन् ।

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन । यसका बारे लेखिएका सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय चहारेँ । र फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् । सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् । जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए । अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?

अझ कुरा अर्कै छ । म गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) । उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर । नाचमा हात होइन बढी खुट्टा चलाउँछन् । नृत्यको ताल पनि एकनासको र धीमा गतिको हुन्छ । सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो ।

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो । हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ । बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो । प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो ।

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् । यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् । तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन । मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो । हाम्रैमा हेर्नुस् । पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् । वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा छरितो गति माग्छ । त्यो पनि एकल प्रयासको ।

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् । पहाडमा जस्तो एकल नृत्य छैन । तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ । संगीतको आवाज पनि चर्को चर्को छ । भाला, लाठीको प्रयोग छ । नाचमा आगोसमेत मिसिएको छ । त्यस्तो कसरी भयो ? कारण उस्तै छ । घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए । आगोको प्रयोग अनिवार्यजस्तै भयो ।

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ ।

दोस्रो प्रसंग तिहारको बारेमा हो ।

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको बहसको छेकोमा दसैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् । तिनको छिनोफानो गर्ने विज्ञता र सक्यता ममा छैन । इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् । प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए । हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र स्थायी पनि थिएनन् ।

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशासन र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् । त्यसको सुरुआत तीजबाट हुन्थ्यो । ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो । मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज । हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो । (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ । पछि व्रतको अर्थ फेरियो र अविवाहित महिलाका लागि पनि त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने र बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ ।

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा न हो । त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो । कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा । अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ ।

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ । व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो । त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो । राज्यका सैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो । वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन ।

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ । मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो । बारीको काट्नयोग्य अन्न र भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो । अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो । यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने र देउसी–भैलोमा दान गर्ने । देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । ‘बलि राजाले पठाएको’ भनेको त्यही हो । हामी सानो छँदासम्म काग तिहार र कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन । अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो र पाँचौं दिन देउसी । आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि तिहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ । कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् । तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ । फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो । हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो । त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत आउने भयो ।

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ । दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् । भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन् ।

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे । हार्नेहरू या त मारिन्थे या त दासदासी बनाइन्थे । घर फर्किने भनेको जित्ने सिपाही नै हो । यसरी विजय उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो । खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो । बडादसैँ भनेको युद्ध तयारीको चाड हो ।

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ ।

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् । यो हास्यास्पद र अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन । सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा म त विश्वास गर्दिनँ । चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् । हाम्रा प्रधानमन्त्री केपी ओली त झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन् ।

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो ? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ । मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ । अझ जरुरी छ त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक र प्राकृतिक कारण खोज्न ।

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् । कम्तीमा उही तरिका र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ । तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो फरक कसरी भयो त ?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपकास हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् । कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ । जीवनशैली बनेको छ ।

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो । हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति र कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन । यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले । यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए । नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे ? दसैँमा अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो ?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ । नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् । प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ । यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५प्रकाशन : कान्तिपुर


Sunday, July 21, 2019

बोन्पो थलोको यादमा


सिरानमा फोक्सुन्डो थापेर बसेको रिग्मो गाउँमा निदाएर उठेको पहिलो बिहान म निकै चंगा थिएँ। चंगा हुनु भनेको स्वतन्त्र हुनु होइन। अदृश्य धागोले खैँचेको परिधिमा हावा काटेर बस्नु हो। त्यस्तो अदृश्य कुन धागो थियो जसले मलाई ताल किनारको न्यानो होटलमा चंगा बनाएर उडाइराखेको थियो?

त्यो बिहान हामीहरू फोक्सुन्डोको देब्रे गालामा अवस्थित थासुङछोलिङ गुम्बा जानेवाला थियौं। १२ औं शताब्दीमा निर्माण भएको भनिएको यो गुम्बा पुग्ने बाटोमा दुर्घटित घुँडाको ‘लिगामेन्ट’ खियाउँदै गर्दा अचानक मलाई यस्तो आभास भयो– ‘यो गुम्बाको कुनै गोप्य कक्षमा कैयौं हातहरू भएको एउटा कालो रङको मूर्ति हुनुपर्छ जसको काखमा निर्वस्त्र यौवना खप्टिएर बसेकी छे।’ मेरो आभास एउटा देजाभू असरजस्तो गहिरो थियो

गुम्बाभित्र त्यस्तो केही देखिएन। मैले लामालाई सोधेँ, ‘यो भवन खासै पुरानोजस्तो लागेन। यहाँको पुरानो गुम्बा अर्कै होला है? हामी जान मिल्दैन?’ मेरो जिज्ञासाले प्रमुख लामा सेम्डुक ङिमाका अनुहारमा उज्याला रेखाका मुना–मुजुराहरू उम्रिए, निमेषभरमा हुर्किए, पात र हाँगा हाले, गमक्क फुले अनि लटरम्म फले। रसिलो फलको एउटा दानालाई कर्याम्म टोक्दा मुखमा भरिने पानीले बोल्न असजिलो भएझैँ ओठको एक कापबाट र्‍यालको लर्को चुहाउँदै बगलमा उभिएका अर्का लामा लोडोइ घोछालाई भने, ‘उताको पनि खोल्दिनुस्। उहाँहरूले दर्शन गरे राम्रै हुन्छ।’

आगन्तुकका लागि लगभग अप्राप्य र दुर्लभ दर्शन हाम्रा लागि उपलब्ध हुने भयो। ध्वाँसोले खियाएको पुरानो भोटो ताल्चा खुलेपछि मोबाइलका बत्तीहरू सल्काउँदै अँध्यारो सुरुङजस्तो कोठामा हामी छिर्‍यौं। त्यो कोठाबाट होचो न होचो ढोका अर्को कोठाको लागि खुल्यो, त्यसपछि अर्को अर्थात् गुम्बाको मुल कक्ष। मेरा आँखाहरू सिसाको घरभित्र भुन्भुनिएको माहुरीजस्तो भएर चारै दिशा हानेर दौडिए। तर जता उडे पनि सिसामा मुन्टो बज्रियो अनि पछारियो। मैले खोजेको दृश्य कतै देखिएन। त्यसैबेला फोटोग्राफर गुरिल्लाले थिचेको क्यामेराको ‘फ्ल्यास’ ले अँध्यारो कक्षको एउटा छेउलाई भुलुर्क्क उज्यालो बनाइदियो। मेरो आभास सही निस्कियो। कालो मूर्ति मेरो अनुमानकै वय र बान्कीमा ध्यानस्थ थियो

कुनै कुनै ठाउँहरूमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ। आएको मात्रै होइन, मैले एउटा पूरै जीवन यहीँ कतै काटिसकेको थिएँ। बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ। पहाडी खोलाका किनार छलेर बसेका अजंगका पत्थरहरू देख्दा वा खोलामाथिका चट्टाने भीरमा प्रकृतिले खोपेका गहिरा गुफाहरूमा पस्ता मलाई लाग्छ, मैले यिनै अल्छी पहाड, भूत्याहा गुफा, अत्यासलाग्दा हिमाल र फुर्तिला नदीहरूको सम्पूर्ण सेरोफेरोलाई कालजमानामै नापिसकेको थिएँ। खोलामा पहिलो बखत हेलिएको कुकुरले कहिल्यै नसिकेको पौडी खेलेर जसरी किनार भेट्टाउँछ उसै गरी मलाई आफूले कहिल्यै नभोगेको यस्तो स्मृतिको हरक्क बास्ना हुबहु आउँछ। सायद मेरो ‘जिन’ भित्रको कुनै अम्लीय चोटाकोठामा त्यसका स्मृतिहरू बसेका होलान्। सायद मेरो मस्तिष्कको ‘केस’ भित्र कुनै ‘बायोटिक चिप्स’ सुषुप्त बसिरहेको छ जो स्थानविशेषको एक ‘क्लिक’ ले अचानक बौरिन्छ ः पुर्ख्यौली यादजस्तो भएर, पुस्तैनी ज्ञानजस्तो भएर

जब पहाडहरूमा हुन्छु, म आफूलाई झन्–झन् यस्तो अनुभवइतरको स्मृतिमा हराइरहेको पाउँछु। अभेद्य अतीतको अनकन्टार कुनामा एकलै सयर गरिरहेको पाउँछु। मैले आफूलाई जे ठान्दै आएको छु, खासमा म त्यो हुँदै होइन भनेजस्तो आफ्नै परिचय खिइँदै गएको पाउँछु। अहिलेसम्म मैले जे जति देखेँ, पढेँ, जानेँ, बुझेँ त्यो खासमा मेरो देखाइ, पढाइ, जानाइ वा बुझाइ होइन भन्ने अनुभूति झन्–झन् गाढा भएको पाउँछु। अरूले यात्रामा आफूलाई झन्–झन् आफ्नो नजिक भएको पाउँछु भन्छन्, तर मलाई भने यात्राले मैदेखि झन्–झन् टाढा–टाढा लग्दै गरेको पाउँछु। यात्राले हुत्याएदिएको बिरानो संसार र समयमा शनैशनै विलय भएको पाउँछु। तर पनि मलाई पहाडी पदयात्रा मन पर्छ। सायद म आफूलाई खोज्न होइन, आफूबाट हराउन यात्रा गर्छु
मलाई ईश्वरमा छेउकुनाको पनि विश्वास छैन त्यसैले पूर्वजन्मको अवधारणा नै बकम्फुसे लाग्छ। तर, मैलाई किन यस्तो आभास हुन्छ? आफू पुग्दै नपुगेको ठाउँमा पहिल्यै पुगिसकेको अनुभूति किन हुन्छ मलाई? मलाई लाग्छ, या त त्यो ठाउँको बारेमा ज्यादै नै पढे–सुनेको हुनाले मलाई त्यस्तो अभास हुन्छ या हुन सक्छ मेरा जैविक पुर्खाहरूले हजारौँ वर्ष पहिले भोगेका अनुभवहरू आनुवंशिक याद बनेर मेरा स्मरणग्रन्थिमा कैद छन्। कुकुरले जन्मजात पौडी खेल्न जानेजस्तै सायद केही स्मृति कुरबाट माछाका भुरा निस्केझैँ फुतुफुतु मेरो मस्तिष्कको अन्तरकुन्तरबाट बाहिर निस्कन्छन्। अथवा यो पनि हुन सक्छ कि संसारको कुनै व्यक्तिको ज्ञान, सीप वा भोगाइको केही अंश संसारको अर्को कुनाको कुनै व्यक्तिमा कुनै न कुनै रूपले आफैँ स्थान्तरण हुन्छ। जस्तो कि कोलम्बसले अमेरिकी भूभागमा टेक्दा कथित रेड इन्डियनहरूलाई डुंगा सयर गरिरहेको देखेका थिए। पहिलोपटक डुंगा बनाएको ‘पेटेन्ट’ दाबी गर्ने कुनै मनुवाले त्यो दृश्य देखेको भए मूर्च्छै पो पर्थ्यो कि ! मलाई थाहा छ, मेरो स्मृतिमा आउने किस्साहरू मेरा नभएर कुनै अनजान मनुष्यका भोगाइहरू हुन्। मान्छेको मस्तिष्क रहस्यका तहै तहले ढाकिएको समयको मौलो गाढिएको यस्तो पुरातन पोखरी हो जसको गहिराइ कति छ कसैलाई थाहा छैन। जस्तो कि सुन्नुस् न गुम्बाका लामा सेन्डुक ङिमाकै कुरा, जसलाई मैले पहिलोपटक त्यहीँ सुनेको थिएँ, तर जसको बारेमा मलाई पहिल्यै थाहा थियो :

‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो। फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे। त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो। अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो। पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे। चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए। मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो। तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे। गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे। कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे। जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे। मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो। अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ। थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा। त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन। गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन्। तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन्।’ 

मलाई थाहा छ, मेरो ‘सेपियन्स’ मस्तिष्कको आनुवंशिक कुनामा लुकेको स्मृतिको यो कथामा न म लामा थिएँ न ती निरीह जनावर। बरु म कुनै दयाहीन सिकारी थिएँ। आफूले सजिलो गरीकन जनावरलाई फँसाउन प्रयोग गरिरहेको तालछेउको ‘बर्मुडा त्रिकोण’ मा गुम्बा बनेपछि म सायद अहमको हड्डी फुत्किएको दुर्योधनसरह रन्थनिएको थिएँ। हुन सक्छ, लामाको हत्या नै गर्ने योजना पनि बुनेको पो थिएँ कि !

अघिल्लो दिन फोक्सुन्डो तालको छेउमा पुग्दा कवि साथीहरू छेउकुनामा एकान्त खोज्दै आ–आफ्ना कविताहरू वाचेको भिडियोलाई क्यामेरामा कैद गर्दै थिए। फोटोग्राफरहरू तालको कुन कुनोबाट, कुन कोणबाट खिज्दा अरूभन्दा फरक छाया उतार्न सकिन्छ भनेर कोसिस गर्दै थिए। आर्टिस्ट कृष्ण परियार फुस्रिएका पहाडको रङलाई कसरी क्यानभासमा मिलान गर्न सकिएला भनेर रङहरूलाई घोलघोल पार्दै थिए। सिनेमाबाजहरू एरिक भालीले खेदेको ‘क्याराभान’ को ‘ह्याङओभर’ बाट कतै कुनै ‘फुटेज’ छुटेको पो छ कि भनेर सोधखोज गर्दै थिए। पत्रकारहरू गोजी पुस्तिकामा मसिना अक्षरले कर्‍याङमर्‍याङ कोरेर कथा–किस्साहरू समेल्दै थिए। म भने तालको किनारैकिनार भौँतारिएर तालदेवीका पैतालाका छाप खोज्दै थिएँ
वा हुन सक्छ सिकारी छँदा मैले गर्भिणी मृगको कोखमा रोपेको बिखालु भाला यतै कतै छुटेको छ कि भनेर खोज्दै थिएँ। वा खोज्दै थिएँ मैले लामा टेतन छेवाङ छुल्डिमले माने घुमाउँदै, मालाका दाना गन्दै पहिलोपटक मन्त्रोच्चारण गरेको ‘ओम मा ट्री मु ये सा ले दु’ को अवशेष। सायद कान्जिरोवा वा कानताकातुङ हिमालको कुनै गल्छेडाभित्र उनको मन्त्र पुरिएर बसेको हुनुपर्छ। त्यसलाई सुन्न वा बुझ्न भोटे भाषा जान्नुपर्छ। जो मलाई आउँदैन

भाषाको निर्माण, शब्द र ध्वनिको चयन पनि भूगोलको खेलो हो। नपत्याए भोटको भाषा नै सुन्नुस्। भोटको बोली पेटको जराबाट निस्कन्छ। फुस्रा पहाड, हिमाली खोँच, गड्गडाउँदो आँधी, तिखो चिसो बेतोड बतासको बीचमा कानमा माकल लगाएको मान्छेले पनि सुन्ने बुझ्ने किसिमका ध्वनि भएका शब्दहरूको संगठन भोटे भाषाको विशेषता हो। अरू भाषाका कतिपय शब्दहरू हिउँमा कप्कपाउँदा जिब्रोभित्रै छुट्छन्, कतिलाई बतासले उडाउँछ कतिलाई फुस्रो माटोले सोसिदिन्छ त कतिलाई पहाडले फर्कादिन्छ। कस्तै कठिन मौसममा पनि भोटेको बोली सित्तिमिति बिलाउँदैन। तर भनिहालेँ मलाई भोटे भाषा आउँदैन, त्यसैले हिउँमा पुरिएको लामाको आवाजलाई मैले रत्ति पनि सुन्न सकिनँ। सुन्दै नसुनेको हुनाले बुझ्ने कुरा पनि भएन

यसरी मैले छेकछन्द केही नबुझी, केही नदेखी फोक्सुन्डोबाट फर्केँ। ताल कस्तो थियो भनेर कसैले सोध्यो भने ‘गहिरो थियो, नीलो थियो, सफा थियो, वरपर फुस्रा पहाड र सेता हिमाल थिए’ भन्नु सिबाय अर्को उत्तर मसँग छैन। प्रकृतिलाई दिइने सुन्दरताको व्याख्या हाम्रा निजी धारणा मात्रै हुन्, मान्छेका अनुभूति मात्रै हुन्। बरा हिमाललाई त आफू हिमाल हुँ भन्ने पनि थाहा हुँदैन जसरी मन्दिरको मूर्तिलाई आफू ईश्वर हुँ भन्ने पनि थाहा हुँदैन। जसरी मलाई म को हुँ भन्ने थाहा हुँदैन। ज्ञान भनेको, परिचय भनेको मान्छेको चेतनाले जबर्जस्ती लादेको शब्दको मलखाद मात्रै हुन जसमा अहंकार सिबाय केही फस्टाउँदैन
मलाई ओरालोभन्दा उकालो मन पर्छ। उकालोमा गन्तव्य गौण हुन्छ, यात्रा केन्द्रमा हुन्छ। उकालोमा तपाईं कहिल्यै वरपर हेर्दै हिँड्न सक्नुहुन्न, खासगरी त्यो उकालोमा जो फोक्सुन्डो झरनाको काँधमा छ। आकाशमा उडिरहेको चरा, बेंसीमा बगिरहेको फोक्सुन्डो, हिमालमा रगडिँदै बाफिएको बादल केही हेर्न सक्नुहुन्न। हेर्नै परे सजिलो ठाउँ खोजेर रोकिनुपर्छ। जसरी जुकाले अर्को टेक्ने सुरक्षित ठाउँ नपाएसम्म मुन्टो ठड्याएर लिन्ठिङ लिन्ठिङ गरिरहन्छ उसैगरी अर्को पाइलो थमाउने ठाउँ खोज्दै धर्मराउँदो पाइला चालेर बढ्नुपर्छ उकालोमा। एउटा गलत चालले तपाईंलाई ५ सय मिटर मुन्तिरको गल्छीमा लगेर थेचारिदिन्छ। किनारमा उभिन जानेन भने मात्रै पनि तपाईंलाई थिन्ले लोन्डुपलाई झैँ खच्चडले धकेलिदिन्छ। त्यसैले उकालो चढ्दा तपाईंको आँखाको बास पैताला र त्यसले टेक्ने जमिनमा मात्रै केन्द्रित हुन्छ। सुने आफ्नै पैतालाको पदचाप, हेरे आफ्नै जुत्ताको डाम। सीमितताबीचको संघर्ष उकालोको उपहार हो। तर ओरालोको यात्रा अलिक फराकिलो हुन्छ। खुट्टाहरू फुक्काफाल हुन्छन्। चाल वेगवान हुन्छ। यात्राभन्दा पियारो गन्तव्य लाग्छ। आफू मुन्तिरको आकाशमा उडेको चरा पनि देखिन्छ, खोला देखिन्छ, बस्ती देखिन्छ। संसार देखिन्छ। तर हिजो उक्लेको उकालोभन्दा आज ओर्लने ओरालोमा मैले धेरै संघर्ष गरेँ। च्यातिएको घुँडाको ‘लिगामेन्ट’ ले घरीघरी रनाहा पारेर रोक्थ्यो। म दुखाइ मार्ने मल्हम दलेर उसलाई थुम्थुम्याउँथे। बरु उक्लँदा यार्चागुम्बु टिपेर फर्केका मान्छे र तिनका खच्चडको क्याराभान थियो, अहिले ओर्लंदा त बाटो सुनसान थियो। तैपनि मेरो नियति फरक थियो। मैले यसअघि बनाएका उकालो र ओरालोको अवधारणा भत्केको थियो। सजिलो र अफ्टेरोको मूल्यांकन फेल खाएको थियो। सोचेँ, सबै अनुकूलता सधैँभरि अनुकूल भै राख्दैनन्। सबै प्रतिकूलता सधैँ असजिला हुँदैनन्

फर्किँदा सुम्दुवाबाट दाहिने हानिएर पुग्मो गाउँको लाम्ग्याल लाखाङ गुम्बा पुग्ने धोको थियो, तर खुट्टाले धोका दियो। त्यसो त खुट्टा सद्दे हुने साथीहरूलाई पनि त्यो अवसर मिलेन। जाने ३ जनामध्येका मित्र अमृत भादगाउँलेलाई भनेँ, ‘कृपा गरेर मेरा आँखाहरू सापटी लैजानोस् र हेरेर आइदिनोस्।’ उनले त्यसै गरे तर सापटी लगेका आँखा अझै फिर्ता दिएका छैनन्। उनले आँखा फिर्ता गरे भने एकबार फेरि पुग्मो उक्लेर त्यहाँभन्दा ५ घण्टा माथिको कान्जिरोवा हिमालको फेदीसम्म पुग्ने इच्छा छ। त्यहाँका छो–ङोन्पो, छो–कारपो, छो–नाक्पो र छो–लुगाल तालमा सुन्निएका गोडा पैताला चोबलेर आराम गर्न मन छ। जीवनका नीला, सेता, काला र हरिया अनुभूतिलाई उतै विसर्जन गरेर फर्किन मन छ

प्रकाशित : असार २८, २०७६ १२:००
Published at: 
https://www.kantipurdaily.com/koseli/2019/07/13/15629985239126236.html 

Thursday, August 24, 2017

पैताला : कथा उत्खननको आदिअङ्ग (रचना गर्भ)


मेरा हजुरबा नामी तान्त्रिक र ज्योतिष थिए । विजयपुर खोलाको किनारमा आफैँले हुर्काएको जङ्गलको बीचमा रहेको ढुम्रीको रूखमुनि अनवरत मन्त्रजप गरेर बस्थे । हजुरबा उल्कै घुमक्कड पनि थिए । नेपालका सबै भूभाग र तत्कालीन औपनिवेशिक भारतका धेरै भागमा हिँडेरै पुग्थे रे ! उनले हालको बङ्गलादेश र पाकिस्तानका देवस्थल पैतालाले नापे । घुम्ने खर्चको जोहो गर्ने अगल काइदा थियो हजुरबाको : जोगी भएर हिँड्ने । जोगी भएर देश देशावर चहारेका मेरा हजुरबाका किस्सा मैले मेरा बा, काका र गाउँका बूढाहरूबाट सुनेको हुँ ।
मेरो हजुरबाको प्रभाव मेरा बामा पनि थियो । मेरा पुरेत बा पनि पूजापाठको दक्षिणाले खल्ती उकासिनेबित्तिकै घुम्न निस्किन्थे । घरमा आमालाई पिरलो पारेर कसैलाई नभनी राति उठेर सुटुक्क भागिदिने π उनी भागेर कता जान्थे कसैलाई थाहा हुँदैनथ्यो । वर्षामासको रोपाइँ वा मङ्सिरको चटारो छोडेर भागेका बालाई सम्झेर आमाले कसौंडीको भात चलाउँदै गीत गाउनुहुन्थ्यो :
घर बारेर सरुवा सारेकोरुन मलाई कर्मले पारेकोपाइना खबर, घर फर्की आउनुहोस् मेरो हजुर ।
मलाई एकातिर कवि हृदयकी अनपढ आमाको एकांकीपन र ६ जना सन्तान हुर्काउँदाको दु:खको आभासले रुवाउँथ्यो भने अर्कोतिर बाले निस्फ्रिक्री घुम्दै गरेका ठाउँ र भेट्दै गरेका मान्छेका कथाको कल्पनाले रोमाञ्चित पाथ्र्यो । घरबाट भागेको एक–दुई महिनापछि बा घर फर्केर आउँथे र आफूले घुमेका ठाउँ र भेटेका मान्छेको कथा हामी केटाकेटीलाई सुनाउँथे । हामी ठूला हुँदै गएपछि भने बा कहिल्यै भागेर हिँडेनन् । त्यसो पनि होइन । एकपटक त भागे, २०५७ सालमा । कुरा कात्तिकतिरको हो । तिहार मुखैमा थियो । म बीए पढ्दै थिएँ । त्यो बेला हराएका मेरा बालाई खोज्न भनेर मेरो बालसखा महेश भण्डारी र म चितवनका धेरै गाउँ–ठाउँ चहार्दै हिँडेका थियौँ । हामीले बिखर्ची भएर अड्किएका बूढा बालाई चितवन माडीको एउटा घरमा आश्रय लिएर बसेको अवस्थामा भेटेका थियौँ ।
त्यसको ६ वर्षपछि बा अनन्त लोक घुम्न निस्किनुभयो । उहाँलाई भूलोक घुमेर पुग्यो । त्यसपछिको भगुवा विरासत मेरो भागमा आयो । भागेर हिँड्ने पालो अब सायद मेरो थियो ।
मेरो हजुरबा र बाको जिनेटिक प्रभाव ममा पनि छ । म आफँैलाई अति अस्थिर मन भएको मान्छेको रूपमा पाउँछु । एकै पेसा, व्यवसाय, ठाउँ, सम्बन्ध वा काममा अड्किरहन सक्दिनँ । हिँडिरहन मन लाग्छ । म सिनेमा पनि प्राय: एक्लै हेर्छु । घुम्न पनि एक्लै निस्किन्छु । घुम्न चाहिने खल्ती भएन भने घरमा एक्लै चेस खेल्छु । मैले उपन्यासमा प्रयोग गरेको पात्र जोस्मणिमा पनि त्यही घुमक्कड जिन घुसेको छ । किस्सा, कथा र उद्देश्य फरक भए पनि जोस्मणिको चरित्रनिर्माणमा मेरा हजुरबा, बा र मेरो आफ्नै समष्टि अवचेतन मिस्कट परेको छ ।
०००
मेरो बुद्धि विकासमा ‘महाभारत’ को ठूलो प्रभाव छ । सानो छँदा हजुरआमाका लागि ‘रामायण’, ‘महाभारत’ र ‘कृष्णचरित्र’ जस्ता किताब पढिदिन्थ्यौँ । हजुरआमा आफैँ पढ्न सक्नुहुन्थ्यो, तर भरिसक्ये नातिनातिनालाई नै सश्वर कथा वाचन गर्न लगाउनुहुन्थ्यो ।
महाभारतको प्रारम्भमा एउटा प्रेमकथा छ, देवयानी र कछको । यिनको प्रेमको छेकलमा सञ्जीवनी विद्याको प्रसंग छ । देवयानीका पिता शुक्र महान् कवि मात्रै थिएनन्, अन्वेषक पनि थिए । दैत्यका गुरु शुक्रले मृत्युलाई यति नजिकबाट अध्ययन गरेका थिए कि यसको रहस्य नै पत्ता लगाएका थिए । उनैले बनाएका थिए सञ्जीवनी विद्या जसले युद्धमा मरेका दैत्यगणलाई ठामका ठाम ब्युँताइदिन्थ्यो । देवासुर संग्रामका बेलामा शुक्रको सञ्जीवनी विद्या अभेद्य अस्त्र सावित भएको थियो । महाभारत पढ्दाका बखतदेखि नै मेरो बाल मस्तिष्कमा सञ्जीवनी विद्याको गहिरो प्रभाव थियो । खै किन हो ? मलाई भित्रभित्रै लाग्थ्यो कि कुनै दिन म आफैंले पनि त्यो विद्या प्राप्त गर्नेछु । राती निदाउनुपूर्व र बिहान आँखा खुलेपछि बिस्तारामा पल्टेर सञ्जीवनी विद्याको कल्पना गर्थेँ, कहिलेकाहीं अझै गर्छु ।
'पैताला' को मूलपात्र जोस्मणि यही सञ्जीवनी विद्याको खोजमा निस्केको छ ।
०००
हामी हुर्केको पुरानो घरमा मात्र २ वटा कोठा थिए । ६ जना छोराछोरीसहित ८ जनाको परिवारका लागि जम्मा दुइटा कोठा थोरै हुने भैहाल्यो । त्यसैले बाहिर पिँढीमा पनि एउटा खाट हुन्थ्यो । पिँढीको खाटमा पल्टेर हेर्दा खरका तान्द्राबाट खसेको बलेनीले ढाक्न नसकेको आधी आकाश देखिन्थ्यो । तिनताका मेरो गाउँमा बिजुली बत्ती थिएन । बिजुलीजस्ता ताराहरू आकाशभरि थिए । हामी केटाकेटी आँगनमा ओछ्याइएको गुन्द्रीमा उत्तानो पर्दै तिनै ताराहरू हेरेर मन लाग्दा चित्रहरू कल्पना गथ्र्यौँ । एकले अर्कालाई आफूले कल्पना गरेको चित्र देखाउने खेल खेल्थ्यौँ । ताराहरूलाई कल्पनाको रेखाले जोड्ने खेल खेल्दाखेल्दै ममा त्यसै–त्यसै आकाशसँग प्रेम बस्यो । अवसर मिलेसम्म जमिनमा उत्तानो परेर म अझै पनि आकाश हेरिरहन्छु । चाहे दिन होस् या रात ।
स्कुलमा एक दिन पृथ्वीको उत्पत्तिको कथा पढेँ । सायद ६ कक्षामा होला । 'ब्रह्माण्ड (आकाश) यति विशाल छ कि यसको कुनै अन्त्य नै छैन ।' एउटा यस्तै आशयको वाक्य थियो जसले मलाई निकै दिनसम्म अशान्त बनायो । ब्रह्माण्ड यदी स्पेस हो भने यसको अन्त्य कसरी असम्भव छ ? म प्रश्न सोध्थेँ । तर यसको उत्तर मसँग थिएन । पछि ब्रह्माण्ड उत्पत्तिका अरू धेरै सिद्धान्तहरू पनि पढेँ । स्टेफन हकिन्स पढेँ । तर मेरा प्रश्नहरू कहिल्यै शान्त भएनन् । उल्टै थपिँदै पो गए ।
पृथ्वीभन्दा लगभग सय गुणा ठूलो भनिएको सूर्य अझै तातो छ तर त्यसबाटै टुक्रिएर (?) बनेको भनिएको पृथ्वी किन यति चाँडै सेलाइसक्यो ? सोलर नेबुलाको संयोजनबाट करिब साढे चार अर्ब ६० करोड वर्ष पहिले बनेका हुन सूर्य र पृथ्वी । तर पृथ्वी करिब ३५ मिलियन वर्षअगाडि नै चिस्सिएको भनिन्छ । पृथ्वी किन चिस्सियो ? चिस्सिनु भनेको के हो ? यदि बिग ब्याङ्बाटै ब्रह्माण्डको उत्पत्ति भएको हो भने तिनताकाको ब्रह्माण्डमा जताततै समान ताप वितरण भएको हुनुपथ्र्यो । जब चारैतिर समान ताप छ, तब कसरी कुनै अमूक पिण्ड मात्रै सेलाउन सक्छ ?
यति ब्रह्माण्ड फैलिरहेको छ भने फैलनाकै लागि भए पनि ब्रह्माण्डबाहिर कुनै स्पेस त हुनैपर्छ । त्यसो भए के स्पेस र युनिभर्स फरक कुरा हुन् ? त्यो ब्रह्माण्डबाहिरको स्पेस तातो छ कि चिसो ? तातो छ भने कुन ऊर्जाले तातो छ ? चिसो छ भने कसरी चिसो छ ? जसरी तातो हुन कुनै बलिरहेको वस्तु चाहिन्छ, चिसो हुन किन कुनै ‘सर्त’ आवश्यक हुँदैन ? के चिसो आफैँ स्थापित हुने अवस्था हो ?
म के कल्पना गर्थेँ भने, कुनै न कुनै यस्तो पदार्थ हुनैपर्छ जसले हामीले चिनेका आम तत्त्व र ऊर्जाको ठीकविपरीत काम गरोस् । अर्थात् अरू तत्त्वका परमाणुहरू डिफ्युज हुँदा जसरी ठूलो परिणामको ताप निकाल्छन् त्यस्तै कुनै तत्त्व हुनुपर्छ जसका परमाणु डिफ्युज हुँदा उस्तै परिणामको चिसो निस्कनुपर्छ । उपन्यासमा त्यस्तो इलेमेन्टलाई मैले ‘एनएचसिक्ससिवाई’ भनेको छु । ‘एनएचसिक्ससीवाई’ मेरो आकाश–प्रेमको उपज थियो । 'पैताला' को मूलपात्र जोस्मणि यसको पनि खोजमा निस्केको छ ।
मृत्यु र ब्रह्माण्ड संसारका सबैभन्दा ठूला रहस्य हुन् । यिनै रहस्यको पर्दामा धर्महरू जन्मिएका हुन् । सिद्धान्तहरू जन्मिएका हुन् । सभ्यताहरू जन्मिएका हुन् । कथाहरू जन्मिएका हुन् । तर यस्ता रहस्यको खोजमा कुनै पात्रलाई हुत्याउँदा हुने असहजतालाई व्यवस्थापन गर्न मात्रै मैले तन्त्रको सहारा लिएको हुँ । कथामा तन्त्रको सिम्बोलिक प्रयोग मात्रै भएको छ ।
०००
व्यवस्थापनको विद्यार्थी भए पनि मलाई इतिहास, दर्शन र मिथकको ठूलो अभिरुचि छ । मलाई के लाग्यो भने, तन्त्रले व्याख्या गर्ने शरीरका चक्रहरू मानव सभ्यताका चरणबद्ध सत्यहरू हुन् । तर कुण्डलिनी तन्त्रको चक्र शरीरको तलदेखि माथितिर जागृत हुँदै जान्छ । दर्शन उत्पादनको चक्र भने माथिबाट तलतिर झर्दै गएको छ । सत्यको उत्पादन कसरी तलतल झरेको छ त ? हेरौँ न π
शास्त्रीय भौतिकवादीहरूले टाउकोलाई सत्य माने । सभ्यताको प्रारम्भिक चरणमा सत्य भनेकै ज्ञानेन्द्रियले दिने अनुभव र अनुभूतिको संयोजन थियो । नाक, कान, आँखा, छाला र जिब्रोले जे भोग्छ, त्यही सत्य । औद्योगिक क्रान्तिपछि वस्तुको उत्पादन ह्वात्तै बढ्यो । मेसिनले गर्ने अतिरिक्त उत्पादनका लागि अतिरिक्त बजारको खोजमा निस्केका देशले संसारभर उपनिवेश फैलाए । बेलायत सूर्य नअस्ताउने देश भयो । उपनिवेशको फैलावट र बचावटमा युद्धहरू जन्मे । युद्धको त्यो बेला सत्य टाउकोबाट ओर्लेर गर्धन, काँध र पाखुराको भागमा बस्यो : पाखुराले हतियार समात्ने, च्वाट्ट गर्धन काट्ने र उपनिवेश फैलाउने, काँधले बोकेर उपनिवेश धान्ने ।
उपनिवेश कालको उपज विश्वयुद्धहरूको क्षतिपछि मान्छे निराश भयो । हतास मनस्थितिकै कारण विसंगतिवाद र शून्यवाद मौलायो । युद्धको विभीषिका देखेर मानवता जाग्यो । राष्ट्रसंघ बने । जेनेभा सन्धि भयो । मानवअधिकारका कुरा आए । अनि अस्तित्ववादको बहससँगै सत्य गर्धनबाट छातीमा अर्थात् हृदयमा ओर्लियो । तर त्यो बेलासम्ममा माक्र्सवादको बहस सुरु भैसकेको थियो । उनले सत्य छातीबाट अझ तल पेटमा झारिदिए । माक्र्सले भने, समाजको सत्य भोका र अघाएका मान्छेको द्वन्द्वबाट स्थापित हुन्छ । उता कार्ल मार्क्सकै छेकलमा सिग्मन्ड फ्राइडले सत्यलाई पेटभन्दा पनि अझै तल ओरालिसकेका थिए । उनी भन्थे, सिर्जनात्मक सत्य पेटमा होइन, यौनांगमा हुन्छ ।
यसरी टाउकोबाट ओर्लिंदै ओर्लिंदै सत्य यौनांगमा आयो तर त्यसपछि अझै तल कहिल्यै झरेन । एक्कासि उत्तरआधुनिकता पो बहसमा आयो जसले पहिले स्थापित सबै सत्यको अवधारणा, केन्द्र र लयलाई भत्काइदियो । सत्यको खोजलाई नै अस्वीकार र अपहेलना गर्न थाल्यो । सभ्यताको योभन्दा ठूलो विडम्बना के हुन्छ ?
मलाई के लाग्न थाल्यो भने, सत्यको आदि–अङ्ग बरु पैताला हो । त्यसलाई स्थापना गरौँ अनि जानुपरे बल्ल जाउँला केन्द्रविहीनताको अवधारणामा । पहिला बाटो त पूरा गरौँ । बाटो नसक्दै गन्तव्यलाई गाली गर्न त भए नि !
सोच्नुस् त, सृष्टिको पहिलो कथा के थियो होला ? मलाई लाग्छ, मान्छेको पैताला र जमिनको आदिम संवाद नै सृष्टिको पहिलो कथा हो । मान्छेका पैतालाले घाँससँग, बालुवासँग, हिउँसँग, महासागरको पानीसँग, पहाडका गल्छेडासँग जुन संवाद गर्‍यो, त्यो संवादको उत्कण्ठा मान्छेको आदिम उत्कण्ठा हो । कथा बनाउने र कथा सुनाउने त्यो अवचेतन इच्छामा नै सभ्यता विकासको सूत्र लुकेको छ । सत्य अन्वेषणको आदि–अङ्ग पैताला नै हो ।
(पौडेलको उपन्यास 'पैताला' शनिबार विमोचन हुँदै छ)
प्रकाशित: जेष्ठ १३, २०७४



Published at: 

Thursday, April 27, 2017

प्यारो पोखरा : सिर्जनात्मक सहर

नेपाल नामको टीकी पैरिन्छिन् जो वसुन्धरात्यै टीकीको पनि टीकी हो यो सुन्दर पोखरा।--मुकुन्दशरण उपाध्याय, 'प्राकृत पोखरा
पृथ्वीको कुनै कुनो सौन्दर्यविहीन छैन। हिमाल अन्त पनि छन्। ताल पनि छन्। पहाड छन्, खोलानाला छन्। फाँट छन्। अनेकन संस्कृतिले झपक्क बलेका गाउँबस्ती छन्। तर जसरी पोखरामा सबथोक 'जक्स्टोपोज्डछन्, अन्यत्र छैनन्। त्यसैले त पोखरा, पोखरा भएको हो। 
उसो त पोखरा भनेको भूगोल हुँदै होइन। प्रशासनिक हिसाबले 'पोखरापरिभाषित हुनै सक्दैन। एउटा नगरका रूपमा कहलाइनुअघि पनि पोखरा थियो। तर त्यो पोखरामा अहिलेको लेकसाइड पर्दैनथ्यो न सराङकोट पथ्र्यो। न पथ्र्यो ढुंगेसाँघु र कुँडहर फाँट। प्रशासनिक परिभाषाले न बेगनास र रूपा ताल पोखराका हुन्छन् न कविशिरोमणि पोखेरेली दरिन्छन्। जुन बेला 'प्राकृत पोखराका लागि मदन पुरस्कार पाए त्यस बेलासम्म स्वयम् मुकुन्दशरण पनि प्रशासनिक हिसाबले पोखरेली थिएनन्। पोखराले भौगोलिक परिभाषालाई खारेज गर्छ र गरिरहेको छ। 
उसो भए पोखरा के हो? पोखरेली को हुन्? खासमा पोखरा भनेको सहर होइन, सौन्दर्य हो। भूगोल होइन, संस्कृति हो। संस्कार हो। सिर्जनात्मकता हो। पश्चिमको नीलगिरिदेखि पूर्वको मनासलुसम्म फैलिएको हिमालले सिँचेको कृषिसंस्कृतिका उपासक प्राय: एउटै लबजमा बोल्छन्, उस्तै अन्न उमार्छन् र खान्छन्, उस्तै गीत गाउँछन्, उस्तै नाच्छन्। उस्तै हाँस्छन्, उस्तै रुन्छन्। यो उस्तै जो गर्छन् ती पोखरेली हुन्। 
आदिकालदेखि अहिलेसम्म पोखराले महानतम सर्जक जन्माएको छ। यहाँ आएका महानतम सर्जकलाई प्रेरणा दिएको छ। पोखराकै सुन्दरताबाट मोहित भएर ऋषि वात्सायनले जीवनको अन्तिम समय यतै बिताएको योगी नरहरिनाथले बताएका छन्। प्रेमर्षि वात्सायनले बसोबास गरेको तपोभूमिलाई आजकल 'वात्सायन घाटभनिन्छ जहाँ दुर्घटनावश पोखराको फोहोर विसर्जन गरिन्छ। चिसाखोलामा कश्यप ऋषिको आश्रम रहेको र उनकै नामबाट 'कास्कीभएको विश्वास गर्नेहरू पनि छन्। यस्तै रजनीश ओशोका प्रथम संन्यासीमध्ये एक योग चिनमयले नेपालमा 'कम्युनखोल्न पोखरा नै रोजे। यस्तै जापानी भिक्षु इकाई कावोगोजीले शतकअगाडि पोखरा आएर यसको सौन्दर्य वर्णन गरेका छन्। 
प्रख्यात अध्यात्मिक नियात्रा पुस्तक 'द स्नो लियोपर्डलेखक पिटर म्याथिसन, कवि तथा नियात्राकार विलफ्रिड नोयर; कर्णेल जिमी रोवोर्टस, एडी कोक्सजस्ता प्रसिद्ध लेखकका मुख्य कृतिमा पोखरेली सौन्दर्यको प्रभाव पाइन्छ। विलफ्रिड नोयर तिनै नियात्राकार हुन् जसले 'भर्जिनहिमाल माछापुच्छ्रेको १५० मिटर मुन्तिरसम्म आरोहण गरेका थिए। टोनी हेगन, ओलेग पोलुनिन, बिल टिलमन आदिको पैताला र चेतनाले पोखराको सौन्दर्य नापेको पनि उहिल्यै हो। क्रिस बोनिङटनको 'अन्नपूर्ण साउथ फेसपनि पोखरेली सौन्दर्यकै एउटा दस्ताबेज हो। लेफ्टिनेन्ट कर्णेल जेम्स ओवेन मेरिओन रोबटर््सलाई नेपाली ट्ेरकिङका पिता मानिन्छ। ब्रिटिस म्युजियमका लागि चरा संकलनहेतु पचासकै दशकमा पोखराको सेरोफेरो नापेका उनी यसकै मोहिनीमा यतै बसे। जीवनको अन्तिम श्वास फेवा किनारमा फेरे। उसो त अन्नपूर्णमा पहिलो पाइला टेक्ने मोरिस हर्जोगबिना पोखरेली सौन्दर्यको पश्चिमेली वर्णन अपूरो हुन्छ। पोहोर साल नेपाल लिटरेचर फेस्टिबल उद्घाटन गरेका युद्धसंस्मरण लेखक जेपी क्रस पोखराको सुन्दरताले यति तानिए कि चालीस वर्षदेखि यतै बसिरहेका छन्। 
डा. केआई सिंहको संयुक्त प्रजातान्त्रिक पार्टीको पोखरा महाधिवेशनमा शिक्षामन्त्रीका नाताले महाकवि लक्ष्मीप्रसाद देवकोटा आएका थिए। बूढापाका साहित्य अनुरागी सम्झन्छन्, साँझको सांस्कृतिक कार्यक्रममा उनले 'नीलकाँडाशीर्षकको कविता वाचन गरेका थिए। सम्भवत: पोखरा बसेर लेखिएको महाकविको कविता त्यही मात्रै हो। संयोग वा प्रभाव जे होस्, पोखराबाट फर्केपछि देवकोटाको सौन्दर्य चिन्तन र आध्यात्मिक जीवनमा ठूलो परिवर्तन आएको देखिन्छ।

वामपन्थी लेखक गोकुल पोखरेलदेखि कलाकार चन्द्रमानसिंह मास्केसम्मलाई पोखराको सौन्दर्यले छोएको थियो। मास्केले पोखरामा तीनवटा चित्र बनाए। १९८२ सालमा आएका उनले ताल बाराही र बिन्ध्यवासिनीसहित एक पोखरेली व्यापारीको पोट्रेट पनि बनाएका थिए। 
कवि तीर्थ श्रेष्ठका अनुसार ईश्वर बल्लभ, बालकृष्ण सम, माधव घिमिरे तारन्तार पोखरा आइरहन्थे। भीम दर्शन रोक्का र भैरव अर्याल त लगभग आधी पोखरेली भएरै बाँचे। नन्दलाल पाण्डे, आईबी मल्ल, ललित शाही, भगतसिंह बक्दास, मनोरञ्जन जोशी, शैलेन्द्र साकार, हरि अधिकारी, नगेन्द्रराज पौडेल, केन्द्र माझी, जैनेन्द्र जीवन आदि सर्जक पनि जागिर सिलसिलामा पोखरा आएका थिए। पोखराको सिर्जनशीलतामा यिनीहरूको संलग्नता स्मरणीय ठान्छन् कवि श्रेष्ठ। जागिरकै सिलसिलामा पोखरा आएका मोहन घिमिरेले लेखनाथ पौडेलको नाममा तात्कालीन अर्घौं अर्चलेलाई 'लेखनाथ गाउँ पञ्चायतबनाइदिए जसको जगमा पछि लेखनाथ नगरपालिका नै स्थापित भयो।

जब हामी पोखरालाई 'नगरभन्दा फराकिलो पार्छौं, त्यसले समेट्ने सेरोफेरो मस्र्याङ्दीदेखि कालीगण्डकीसम्म हुन्छ। यो क्षेत्रलाई 'बृहत् पोखराअवधारणामा आजकल 'डिस्कोर्स' गरिन्छ। यसैले स्थापित गर्छ, नेपाली कलासाहित्यमा पोखराको प्रभाव। आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, राष्ट्रकवि माधव घिमिरे, भूपी शेरचन, लोककवि अली मिया, मुकुन्दशरण उपाध्याय, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, विजय बजिमय, सरुभक्त, तीर्थ श्रेष्ठ, दुर्गा बराल वात्सायन, क्षेत्रप्रताप अधिकारी, चेतन कार्की, नारायण वाग्ले, मञ्जुश्री थापा, नवराज कार्की, उषा शेरचन, सरिता तिवारी, प्रकट पगेनी, हरिदेवी कोइराला, अमृत गुरुङ, विवेक श्रेष्ठ, कर्ण दास, विनोद बानिया, रोशन शेरचन, अमर न्यौपाने, सरस्वती प्रतीक्षा, भूपिन, माधव वियोगी, ईश्वरमणि अधिकारी, दीपक समीप, शरण आँसु र सुरेश प्राञ्जलीसम्म फैलिएको पुस्तान्तरमा पोखरेली सौन्दर्यसंस्कृतिको उच्च प्रतिफल छ। यो फेहरिस्तमा जति गर्दा पनि छुट्ने कति छन्छन्। पोखरेली सर्जकहरू जुनजुन कुनामा जुनजुन समयमा बसेर सिर्जनामा लागेका भए पनि तिनले पोखराको प्रभावलाई देशभर पुर्‍याउन योगदान गरेका छन्। पोखरेली सौन्दर्यले शब्द, रङ्ग र संगीतका सबै क्षेत्रका राष्ट्रव्यापी प्रभाव पारेको छ। नेतृत्व गरेको छ। गन्तीमा राख्दा 'मोनोटोनसहुने गरी सर्जक जन्माएको छ पोखराले। यी सबै सर्जकलाई तुलामा राखेर हेर्दा पोखराको वास्तविक वजन देख्न सकिन्छ, पूरा देशको सापेक्षमा। यस्तो भार जसलाई पन्छाएर हेर्दा चौथाइ खण्ड पनि बाँकी रहन्न। त्यसैले पोखरा कला, साहित्य र संगीतको मोफसल होइन, केन्द्र हो।
कला, साहित्य र संगीतको क्षेत्रमा करियर खोज्न ठूला सहर पस्ने परम्परा नयाँ होइन। पोखरा इतिहासमा र अहिले पनि काठमाडौं पसेको छ, नपसेको होइन। तर पोखरा काठमाडौं मात्रै होइन, देशदेशावर जहाँजहाँ पसेको छ, रङ फेरेर पसेको छैन। त्यहाँको रङलाई पनि बदल्ने सामथ्र्य बोकेर पसेको छ। पछिल्लो समय पोखराले काठमाडौं पस्नमा होइन, पोखरामै बसेर सिर्जना गर्न रुचाएको छ। पोखराले कहिल्यै 'स्पेस' खोजेन बरु 'स्पेस' निर्माण गर्‍यो। आफ्ना लागि पनि अरूका लागि पनि। यो पोखरेली वाङ्मयिक संस्कारको एक विशेषता हो।
कास्की जिल्लामा मात्रै तीन दर्जनभन्दा बढी वाङ्मयिक संस्था क्रियाशील छन्। सेरोफेरोका जिल्लामा यस्तै क्रियाशीलता उच्चकोटिको छ। वाङ्मयिक संस्थामा जेठोमध्येको पोखरेली युवा सांस्कृतिक परिवार होस् या कान्छोमध्येको र्‍यान्डम रिडर्स सोसाइटी, देशका कुनै पनि कुनाका सर्जकले चिनेका र सुनेका नाम हुन्। गुणस्तरीय र इमानदार क्रियाशीलताबिना यस्तो वाङ्मयिक 'ब्रान्डिङसम्भव हुन्थेन। कला, साहित्य, संगीत, नृत्य, गायन, नाटक, सिनेमा आदि सिर्जनविधालाई शिरमा थापेर स्थापित यस्ता संस्थाकै कारण पोखराबाट यतिका सर्जक विकसित हुन सकेका हुन्। हिजो साहित्यको अँध्यारो युग छँदै रुद्रराज पाण्डे जागिरे भएर भएर पोखरा आउँछन्, यतैका विष्णुहरि पौडेलसँग मित लाउँछन् र भन्छन्, 'पोखरा मेरो पनि घर हो।प्रख्यात गायक अरुण थापा पोखरा आउँछन्। यहाँ आएपछि मात्रै आफू गायक भएको पत्तो पाउँछन् र भन्छन्, 'मबाट गायक जन्माउने आमा हो पोखरा।' स्वरसम्राट् नारायण गोपाल पनि प्रेमिका पेमला बोकेर यतै आएका हुन्, अपनत्वको खोजीमा। यस्ता उदाहरण थपे उपन्यासै बन्छ।
पोखरा आउने जोकोही सर्जक अतिथि हुँदैनन्, पारिवारिक सदस्य हुन्छन्। आखिरकार पोखरा 
भनेको सहर पनि त होइन। एउटा संस्कार, संस्कृति र सभ्यता जो हो।
Published Originally at: