Contact Form

Name

Email *

Message *

Z

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, April 7, 2024

काश


काश म त्यो मदहोस मान्छे हुन्थेँ
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी रातभर अनिद्रामा थियौ ।
 
काश म त्यो जङ्गली फुल हुन्थेँ
जसको शरीरको सुगन्धले लठ्ठिएर तिमी मध्यदिनसम्म बिस्तारामा थियौ ।
अथवा हुन्थेँ म त्यो पदयात्री
जसको हात समातेर सुर्यास्तको नदीतटमा तिमी बालुवा विचरण गर्ने कामना गछ्यौँ ।

भूगोलले छुट्याएको समय र समयले अलग्याएको भूगोलमा बसेर
म बेलाबेला कल्पना गरिरहन्छु
काश म त्यो कवि त्यो चित्रकार अथवा त्यो सारङ्गीवाज हुन्थेँ
जसको कायाको-मायाको मधुर जादूमा तिमी नृत्यमग्न झुलेकी थियौ ।
काश, मध्यबजारको चिया पसलमा तिम्रो एक झल्को कुरिबस्ने म कुनै कलेजी केटो हुन्थेँ ।
काश, तिम्रो जन्मदिनमा आरती बाल्ने म कुनै सन्त, भिक्षु या पुजारी हुन्थेँ ।
काश, बसस्ट्यान्डमा चिम्सा आँखा ओछ्याएर तिमी नआएको बाटो हेरिरहेको म कुनै पर्खालु यात्रु हुन्थेँ ।
काश, म कुनै बुक सपको अदृश्य र्‍र्‍याकमा अड्एिको त्यो दूर्लभ पुस्तक हुन्थेँ,
जसलाई तिमी देख्न, सुम्सुम्याउन र आफ्नो बनाउन चाहन्थ्यौ
जसलाई तिमी रात बिरात अनिदो बसेर पढ्न चाहन्थ्यौ ।

काश, म तिमीलाई मनपर्ने कविताको कुनै हरफ हुन्थेँ
जसलाई तिमी कण्ठस्त गुन्गुनाइरहन्छौ ।
काश, म तिम्रो जुनै कथाको कुनै अप्रतिम पात्र हुन्थेँ
जसका खुद्रा खुसीमा तिमी मुस्कुराएकी थियौ,
जसका मसिना दुखमा तिमी सुक्सुकाएकी थियौ ।

काश म त्यो मदहोस मान्छे हुन्थेँ,
जसले मध्यरातमा पठाएको मुलायम म्यासेज पढेपछि
तिमी अझै अनिद्रामा छौ ।

Monday, December 2, 2019

एउटा अध्ययनशील मजदुरको प्रश्न


Bertolt Brecht को कविता Questions from a Worker Who Reads को सरोनरकृत नेपाली अनुसिर्जना वाचन : कवि सुदर्शन पौडेल

Wednesday, November 27, 2019

पैताला गाथा



Book-Hill Presents Paitala - A Novel By Ganess Paudel
Singer / Music : Pushpan Pradhan Lyrics : Ganess Paudel Production : www.Jukson.com Artist : Kapil Sharma Ass. Cinematographer : Nicholas Gurung Cinematographer : Milan Shankar Editor / Colorist : Netra Gurung Director : Arun Giri
All Rights @GanessPaudel

Sunday, August 25, 2019

थाह छैन

झरी पर्छ —
झरझर, छमछम र तपतपको तालमा ।
कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले
उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि
म साइकल लिएर कुद्छु ।

झरी पर्छ —
दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा ।
टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा
निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ
म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ ।
न सम्झने मन हुन्छ न बिर्सने चासो
बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास ।

प्रिय तिमी झरी हौ
मलाई थाह छैन
मलाई झरी मन पर्छ या पर्दैन ।

* * *

निदाउँछु ब्युँझदा ब्युँझदै
ब्युँझन्छु निदाउँदा निदाउँदै
खासमा
कहिले वारीको निन्द्राबाट पारीको ब्युँझाईतिर
कहिले वारीको ब्युँझाईबाट पारीको निन्द्रातिर
वारपार गर्दागर्दै सकेको छु मैले माझी जिन्दगी ।
यसरी न म वारीको भएको हुन्छु न पारीको ।

सोच्छु,
वारी र पारी बिचको खोलाजस्तै
पक्कै कुनै बिन्दू छ होला अस्तित्वमा
जो खुसुक्क आउँछ निन्द्रा र ब्युँझाईको बिचमा र पलायन हुन्छ ।

तर त्यो बिन्दू कस्तो छ ? निन्द्राजस्तो छ या ब्युँझाईजस्तो ?
वा अर्कै केहीजस्तो छ जस्को अनुभव कसैसँग छैन ?
जिन्दगीको २४ घण्टामा
निन्द्रा र ब्युँझाईका रेखा छोट्याएर त्यो बिन्दूलाई तन्काइदिन पाए
कस्तो हुन्थ्यो होला ?
त्यो तन्काई सपनाजस्तो रंगीन हुन्थ्यो कि विपनाजस्तो सपाट ?
त्यो बिन्दू हुन त होला नि है अस्तित्वमा ?

प्रिय तिमी त्यही बिन्दू हौ
मलाई थाह छैन
मलाई त्यो बिन्दू मन पर्छ या पर्दैन ।

* * *

कहिले घाम डुबिसक्दा पनि तिमी आउँदिनौँ
अनि म घुप्लुक्क निदाइदिन्छु ।
कहिले घाम उदाइसक्दा पनि तिमी जाँदिनौँ
म जाग्राम-जाग्राम अग्राख पलाइदिन्छु ।

याद बनेर यसरी रातबिरात
कहिले तिमी नआइदिए हुन्थ्यो झैँ लाग्छ
कहिले नगइदिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले रात नपर्दिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले जून नसर्दिए हुन्थ्यो झैँ लाग्छ ।

तिम्रो यादमा म जति मुस्काउँछु
उत्तिकै उदास किन हुन्छु ?

प्रिय तिमी याद हौ
मलाई थाह छैन
मलाई याद मन पर्छ या पर्दैन ।

___________________
पोखरा
भदौ १, २०६१

Sunday, July 7, 2019

जीगिषा पछ्याऊ


आफ्नो जीगिषा पछ्याऊ
सिँच बारीका बिरुवालाई
प्रेमले मुस्कुराऊ गुलाफसँग
बाँकी त अन्जान रुखहरूका
फगत छाया मात्र हुन् ।
यथार्थ भन्नु जहिल्यै
हाम्रो चाहानाभन्दा कि बढी भैदिन्छ कि कम ।
हामीसँग बराबरी हुने भनेको
हामी मात्रै न हौं ।
एकलै बस्नु बरु जाती
सुसभ्य र उन्नत । सिधा, सादा, सम्पुर्ण ।
दु:खका पथ्थरहरूलाई चढाइदेऊ देउरालीमा
र हलुका भएर घर फर्क ।
जीवनलाई अलिक दूरीबाट हेर ।
प्रश्न नगर जीवनसँग ।
जीवनसँग तिमीलाई बताउने कुनै जवाफ हुँदैन ।
अस्तित्वका उत्तर ईश्वरभन्दा पनि प‍‌र छन ।
गुरु थापेर हिमाल (ईश्वर)लाई हृदयमा
हिँड चुपचाप चुपचाप ।
ईश्वर भनेका ईश्वर हुन्
किनकि ईश्वरलाई आफैँ को हुँ भन्ने पनि
खास्सै थाह हुँदैन ।
~फर्नान्डो पोसोआ
(अनुवाद: गपौ)

Sunday, May 24, 2015

तनाबोटलमा स्वागत छ

तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

नमस्कार, ए तिमी आयौ ?
कति बस्छौं, कुनै छ अनुमान ?
यता नाम¬—सही राखेर दर्ता गर त !
थर र कुन ‘थारवान’बाट हो त्यो पनि लेख्नु है
पहिचान बिनाको कुनै पाहुना राख्दैनौ हामी ।
हा हा हा हा ...

पुरा जिन्दगी बोकेर आयौ कि क्या हो ?
झोला त ठुलै देख्छु !
माफ गर यहाँ भारी बिसाउन मनाही छ ।
तिमी उठ्दा तिम्रो पिठ्युँमा
बस्दा काँधमा
सुत्दा छातीमा
निहुँरिदा टाउकामा
तिम्रो भारी देखिएकै हुनुपर्छ तनाबोटलमा ।
मुत्दा, हग्दा, मात्रै होइन है
सेक्स गर्दा पनि तिम्रो भारी तिमीसँगै हुनु पर्छ ।
हा हा हा हा ...

आहा, गजब देख्छु म !
तिमी त झोलाभरि आश्चर्य बोकेर आएका छौ ।
कसरी थाहा भो तिमीलाई ?
यहाँ लगेजमा
डर र अपराधबोध मात्रै बोक्न पाइन्छ ।
ज्योति हराएको सिलिन्डर र भोक भरिएको भजालो मात्रै बोक्न पाइन्छ ।
बलात्कारपछि ब्यूँझिएकी कलिलि बालिकाको छिप्पिएको आँखा मात्रै बोक्न पााइन्छ ।
उहिल्यै मरेको जन–स्वास्थ्यको बरखी बार्न बसेको
टिचिङ अस्पतालको बुढो एप्रोन मात्रै बोक्न पाइन्छ ।
र पाइन्छ बोक्न तनाबोटलमा
खोक्दा खोक्दै खोक्न बिर्सेको जाजरकोटको दम ।
हा हा हा हा ...

तिमीले त नियमले दिएका कुरा मात्रै ठ्याक ठ्याक बोकेर आएका छौ ।
तिमीले त नियमले पाइने जति सबका सब बोकेर आएका छौ ।

हामी खुसी छौं ।
हामीलाई
हामीले भन्नु भन्दा पहिल्यै कुरा बुझ्ने मान्छे मन पर्छ ।
हामीले मुख नबाउँदै अलङ्कार बुझ्ने विद्वान पाहुना मनपर्छ ।

यसो हेर्दा पत्रकार जस्ता छौ ?
कवि हौ कि समझदार जस्ता छौ ?
कि कुनै सरकारी स्कुलको मास्टर हौ, गाउँतिरको ?
हुलिया हेर्दा त कलाकार जस्ता छौ ?

माफ गर दर्तामा पेसा लेख्नु पर्दैन ।
यहाँ काम गर्नेहरू कति छन् कति
मात्र रोजगार छैनन् ।
त्यसो त
पत्रकार हुनु, कवि हुनु वा मास्टर हुनु
वा कुनै किसान वा कलाकार हुनु
पेसा पनि त होइन, रोजगारी पनि त होइन ।
यो त जिम्मेदारी पो त
निख्खर भोको जिम्मेदारी ।
हा हा हा हा ...

चिस्याएर खान्छौं भने
तिम्रो कोठामै फ्रिज राखिएको छ ।
तताएर खान्छौ भने
बगलमै ओभन राखिएको छ ।
उसिनेर, वफाएर वा फ्राइ गरेर
जसरी खाए पनि हुने प्रबन्ध छ कोठामा ।
कोठाको छेवैमा छ
विश्वामित्रको ठोक्रो जस्तै कहिल्यै नरित्तिने तखता ।
तखताभरि तिम्रा लागि खानेकुरा छन् ः
आश्वासन र केही बासी भाषण
केही थान घोषणापत्र र दस्तावेजहरू छन्
आन्दोलनताका बाँडिएका पर्चा पनि छन्
चुनावताका टाँगिएका पोष्टरहरू छन्
यहाँ यतिका धेरै खानेकुरा छन् ।
स्वाद फेरीफेरी खानू !
आज भ्याएनौ भने भोली पस्किने पनि यही हो ।
हा हा हा हा ...

यहाँ जत्ति नुहाए पनि पाइन्छ ।
तातो आसुँ वा चिसो पसिना दुबैको व्यवस्था छ ।
आवेशको वीर्य वा आक्रोशको रगत सबैको व्यवस्था छ ।
ढुक्क हुनु,
यहाँबाट फर्किदाँ
मज्जाले पाइन्छ दुधले पखाल्न ।
हा हा हा हा ...

म धेरै बोलेँ ?
यति त बोल्नै पथ्र्यो
रिसेप्सन हो ।

तिम्रो बसाई लामो होस् !
तिम्रो अनिन्द्रा लामो होस् !
तिम्रो छटपटी लामो होस् !
तिम्रो अत्यास लामो होस् !
डिप्रेशनले आजित भएर आत्महत्या नगर्दै
तिम्रा तमाम सपनाहरु भकभकी पाकेर मरून्
र त्यो पाकिरहने समय लामो होस् !
शुभकामना छ !

तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

................................................................................
गनेस पौडेल
पोखरा, मझेरी पाटन

Saturday, May 9, 2015

थकित छु म - फर्नाण्डो पिसोआ



फर्नाण्डो पिसोआ (जुन १३, १८८८– नोभेम्बर ३०, १९३५) पोर्तुगाली कवि, समालोचक, अनुवादक, दार्शनिक तथा प्रकाशक हुन् । उनको वास्तविक नाम फर्नाण्डो अन्तानियो नोगुयरा हो । बिसौं शताव्दीमा महत्वपूर्ण कविका रुपमा उनलाई विश्वभर चिनिन्छ । उनले एकै नामबाट विरलै रचनाहरू प्रकाशित गरे । कृतिको समिक्षामा कृतिकारको परिचयले आग्रहपूर्ण प्रभाव पार्ने हुँदा उनी फरक फरक नामबाट रचनाहरू लेख्थे । यसैकारणले पनि उनका रचनाहरूको एकिन हुन अद्यावधि सकिरहेको छैन । के पनि भनिन्छ भने अंगे्रजी, फ्रान्सेली र पोर्तुगाली भाषामा लेखिएका परिचय नखुलेका सबै स्रष्टाहरू बास्तममा पिसोआ थिए । उनका चल्तिका साहित्यीक उपनामहरूमा फर्नाण्डो पिसोआ, अल्र्वटो सिएरो, रिकार्डो रेइस, अल्भारो डे क्याम्पोस, एन्टेनियो मोरा, क्लाउडे पास्टेउर, बर्नाण्डो सोअरेस आदि छन् । छ बर्षकै उमेरबाट उनले छद्मनामबाट लेख्न थालेका थिए । उनले प्रयोग गरेका सयभन्दा बढि यस्ता साहित्यीक छद्मनामको खोज भैसकेको छ भने कति खोजकै क्रममा छन् । अति साधारण भाषामा अति दार्शनिक कविताहरूले लेख्ने पिसोआको प्रस्तुत कविता भने अल्भारो डे क्यापोसको उपनामबाट सन् १९३५ जुन २४ मा लेखिएको हो ।

थकित छु म

थकित छु, स्पष्ट छ
हो एकबार हरकोहीलाई थाक्नै पर्छ
थाह छैन मलाई, केले थाकेको छु म,
थाहा पाए पनि के पो होला र ?
कारणहरूले भगाउने हैन थकान !
‘घाउ’ त्यसरी नै दुख्छ, जसरी ऊ दुख्छ
‘घाउ’का कारकको प्रतिक्रियामा कहाँ दुख्छ ?

हो, म थकित छु,
र हमेशा फिस्स मुस्काएको छु
थकानप्रति ‘यत्ति मात्रै भएकोमा’–
शरीरभरि एक चाह निन्द्राको
आत्माभरी एक चाह सोचविहिनताको,
अनि, सबैलाई ताज पहि¥याउने, देखावटी बुझाईका
एक स्वजल्य पारदर्शिता ...
अनि अहिले आशाविहिन हुनुको एक सुखद आराम ?
म बाठो छु ः यत्ती हो कुरा ।
मैले धेरै देखेको छु
र जे देखेको छु त्यो धेरै बुझेको छु ।
यसले ल्याउने थकानमा पनि एक अजिव सुखानुभूति छ,
त्यसैले त अन्त्यसम्ममा टाउकाले अझै काम गर्छ ।

I Am Tired

I am tired, that is clear,
Because, at certain stage, people have to be tired.
Of what I am tired, I don't know:
It would not serve me at all to know
Since the tiredness stays just the same.
The wound hurts as it hurts
And not in function of the cause that produced it.
Yes, I am tired,
And ever so slightly smiling
At the tiredness being only this -
In the body a wish for sleep,
In the soul a desire for not thinking
And, to crown all, a luminous transparency
Of the retrospective understanding…
And the one luxury of not now having hopes?
I am intelligent: that's all.
I have seen much and understood much of what I
have seen.
And there is a certain pleasure even in tiredness
this brings us,
That in the end the head does still serve for
something.

तिम्रो एउटा गीत


सन्नाटा भन्दा शान्त आँखा, 
आँधिभन्दा अशान्त मौनता 
वा यस्तै केही अमिल्दा सत्यहरूले घेरिएर 
जंगलको कुनै मध्यभागतिर 
मान्छेहरूले कुल्चँदा कुच्चँदा 
घाँस मरेर बनेको धर्के बाटोमा 
गीत गाउँदै हिडिरहेको बेला एकलै एकलै
अकस्मात रोकिछ कुनै 
युवतीले आफ्नोे गीत भने 
बुझ्नू 
म त्यही गीत हुँ । 

त्यो गीत 
उदास उदास भौंतारिएको 
लास्ज्लो ज्याभोरको ग्लुमी सन्डे हुनसक्थ्यो । 
वा कुहिरोले धप्प ढाकिएको बार्दलीबाट
तप्किएर खसेको अरुणा लामाको 
‘पोहोर साल खुसी फाट्दा’ पनि हुन सक्थ्यो । 
वा हुन सक्थ्यो निक केभको 
वन्स देयर केम अ स्टोर्म इन द फर्म अफ् अ गर्ल ।

म त एउटा गीत न हुँ प्रिय
उदास भएकै हुनाले मलाई मीठो मान्छन् मान्छे ।

पहाडको कुनै घनघोर अक्केराबाट
बर्षौ अड्किएर बसेको पथ्थरको पिँधबाट
चिहान भन्दा गहिरो पिडाको गीत 
गाएछ कसैले भने बुझ्नू 
त्यो आवाज म नै हुँ प्रिय,
जो अझै प्रतिक्षामा छ 
एउटा उत्खननको ।
आखिर ज्यूँदो मान्छेलाई कतिन्जेल पुरिरहन्छ्यौ  प्रिय ?

म निक्कै चिसो परिसकेको छु प्रिय, 
कालापथ्थरको सिरेटोभन्दा पनि चिसो ।

प्रेमको सघन शैय्यामा 
मृत्यु र जीवनमध्ये केमा छु भन्ने स्पष्ट दोधारमा 
सास धानिरहेको रहेको बखत जेनतेन जेनतेन
मेरा कानका लोतीमा केही सल्बलायो भने 
वा मेरा फुस्रिएका कपालमा, 
घामका दानाजस्तै पोखियो भने कुनै प्रयास 
मलाई थाह हुन्छ तत्काल 
ती तिम्रा औँलाहरू हुन् ।

त्यती बेला तिमीले सुन्नु पर्छ
मेरो धड्कनको डिलबाट तप्किरहेको हुनेछ
बतासको आँसु झैँ एउटा धुन
मात्र तिम्रा लागि --
द स्ट्रीट आर गेटिङ कोल्डर
एन्ड आइ एम ग्रोइङ वोल्डर
टुमरो सिम्स सो फार अवे ...

Wednesday, December 4, 2013

म हराएको मान्छे ....।


म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे
म हराएको मान्छे ....।

नखोज्नू मलाई तिम्रो मनको कुनामा
म गुमनाम भइरहन्छु मेरै सपनामा 
कुनै फुलको थुँगामा मलाई नखोज्नू
नखोज्नू मलाई दिन वा रातको कल्पनामा

म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे
म हराएको मान्छे ....।

नडुल्नू मलाई खोज्दै वनकन्दरामा
म सुकेको समी हुँ जीवनको जरामा
नखोज्नू मलाई कुनै शब्दकोष बोकेर
मेरो अर्थ दिने शब्द छैन यो धरामा

म भएको छु आफैं हराएको मान्छे
आफैंले खनेको बाटो बिराएको मान्छे

म हराएको मान्छे ....।

पानी



मेरो ईश्वर
मलाई थाहा छ तँ पानी नै होस
तँलाई थाहा छ मलाई पानी मन पर्छ ।

पानी थुनिन्छ
तर बन्दी हुँदैन
पानी हुलिन्छ ढलमा नलमा सेफ्टिट्याङ्कीमा
तै पनि फोहोरी हुँदैन ।

पानी हो ऊ हतास हुँदैन
निरास हुँदैन उदास हुँदैन
पानी हो ऊ जन्मजात स्वतन्त्र
कसैको दास हुँदैन ।

पानीको एउटै गन्तब्य हुन्छ
पानीको एउटै भविष्य हुन्छ ।

रंग हुँदैन पानीको
जात हुँदैन पानीको
मदिराझै‌ पागल पागल 
मात हुँदैन पानीको

पानी उम्लेर पोखिन्न बरु वाफ बन्छ
पानी चिसिएर कमजोर हुँदैन बरु हिमाल बन्छ
पानी नाप्दछ आकाश बादल बनेर
पानी पगाल्छ पथ्थर मुल बनेर ।

पानीको एउटै धर्म हुन्छ
तिर्खा मेटाउने
पानीको एउटै कर्म हुन्छ
बगिरहने
पानीको एउटै मर्म हुन्छ
पानीसँग नछुट्टिने ।

पानीसँग पानी नमिलेर
छुट्टिएको सुनेको छैन
पानीको बाढी आएर
पानीलाई बगाएको
पानीले उचालेर फेरि खसालेको
वा झिल्झिले कागज जस्तै
युज एण्ड थ्रो गरेको भोगेको छैन
पानीमाथि नै पानी तैरिएर
कथित ओभानु भएको देखेको छैन


मेरो ईश्वर
मलाई थाहा छ तँ पानी नै होस
तँलाई थाहा छ मलाई पानी मन पर्छ ।

वरिपरि खेलाएर सतत् माछाहरु
अर्को जन्म छ भने कतै
मलाई पानी भएर जन्मने ईच्छा छ ।
मेरो ईश्वर
म तँलाई मैभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

______गनेस पौडेल, पोखरा, असार ५, २०६७

सर्प, स्याउ र मुस्ताङ


लमतन्न सुतेका सुवर्ण रातभर
म व्यूँझन्थे सपनाका लागि हेर्न
उत्मुक्त आकाशगंगाको वादलु डिम्बका घेराबाट
उछिट्टिएका एक डोब सल्लाका पातहरू ।
सल्बलाउने निर्वाण तन्तुको खोलमा
अमिला गर्भको पर्प¥याउने स्वाद ।
उछिट्टिनु रचनाको सर्त नभए के हो ?

कुन जोड र कुन घटाउले मिलाएको छ
मुस्ताङ्गे स्याउको हिसाब ?
एक पुञ्ज प्रकाश चुँडालेर
जन्माएको हुँ म आफैंले धर्तिमाथिको नीर ।
सुर्केना परेका हारदाम्लोमा
मैले आफैंले राखेको हुँ सर्पको दाँत ।
म मैले लेखेकै नियमको पर्खालभित्र छु ।
म मैले बनाएकै इतिहासको छानोमुन्तिर छु ।

बरण्डाको रेलिङमा टाँगिएका
पाटका चिसा रुमालमा टेकाएर हत्केला
मैले कसरी मेट्न सकुँला र
कोक्याउने रेखाले कोरिएका कर्कलाको कथा ?
छप्लायङ्ग कहिले पोखिन्छ र बादल ?
टिलपिल टिलपिल कहिले गर्छ र बाफ ?
म सधैं हेर्छु चोक मुन्तिर बरफ किनिरहेका केटाकेटी
उत्पात गर्मीमा कप्कपाउँछु आफैं म चिसो पनि

एक आदिम रहलको ह्याङ्गओभर मात्र हुँ म
मरेका आदमखोर आदमहरूको
सन्नाटाको सहनाइ हुँ म ।

कलेजी रोबमा निराश खौराइएका तालु टल्कने
मार्फाली चट्टानका फुङ उडेका
राता खैरा पहाडका रङमाथि
आदिम बगैंचाको निलो फैलिएको छु म ।
म मेरै नियमले बाँधिएको छु
म आफ्नै हत्केलाले छोपिएको छु
उछिट्टिनु रचनाको गर्भ तुहिनु हो .... ।


गनेस पौडेल, पोखरा
सेप्टेम्बर ७, २०१३

सपना

सपना देखिरहन्छु, लेखिरहन्छु पानाहरूमा 
ती कोरा नलेखिएका पनि पाना हुन सक्छन् 
ती पुरा पोतिएका पनि पाना हुन सक्छन् । 

सपना लेखिनका लागि 
पाना भरी भए पनि फरक पर्दैन
पाना खाली भए पनि फरक पर्दैन ।

सपना देखिनका लागि
क्यानभास कालै भए पनि फरक पर्दैन
क्यानभास सेतै रहे पनि फरक पर्दैन । 

किनकी, 
टेक्ने जमिन र समाउने हागाँ बिना पनि
सपना कस्तरी झुण्डिरहन्छ
स्याउको बोटमा ... !
सायद, सपनाको आयतन हुँदैन 
सपनालाई अट्ने ठाउँ चाहिन्न । 

सपना प्राप्तिका लागि हुँदैनन्
सपना अप्राप्तिका लागि पनि त हुँदैनन् 
सपना सपनाकै लागि हुन्छन् । 

सपना देखिरहन्छु, लेखिरहन्छु म पानाहरूमा
ती कोरा नलेखिएका पनि पाना हुन सक्छन् 
ती पुरा पोतिएका पनि पाना हुन सक्छन् । 


Sep 6, 2013
Majheri Patan. 

Thursday, February 7, 2013

मान्छे ! तिमीसँग कुनै गुनासो छैन ।


हरेक दिन दौडेरै पुग्नु पर्छ मलाई
दूनियाले लुखुरलुखुर रल्लिँदै पुगेको ठाउँ
यसैले त हुन्छु म हरेक यात्रापछि
दूनियाभन्दा ज्यादा थकित ।

सपनाका काँचा बिस्कुन
सुकाउँछु मैले पनि दूनियाले झै
समाजको पुरानो गुन्द्रीमा ।
घाम त मेरो गुन्द्रीमा पनि उत्तिकै लाग्छ नि !
जत्तिको रापिन्छ ऊ बरोबरी दूनियाको मान्द्रोमा ।
तर साँझ नपर्दा नपर्दै
उठाइसकेका हुन्छ दूनियाले आफ्नो भागको अन्न
मेरा भटमासका दाना आलोको आलै रहन्छन् ।

हरेका साँझ सदाझैँ चकित चकित
थकित थकित
उघार्छु तगारो
खोल्छु दैलो
पल्टिन्छु खाटमा
हेर्छु दलिनका कापमा कापमा खुर्र खुर्र दौडेका
पुस्तैनी माउसुलीहरूलाई ।
बिहान निस्कँदा पनि यिनीहरु यहीँ थिए ।

छाम्छु आफ्नै शरिर
के हिजो जस्तै बराबर छन्
दूनियाले घोपेका घाउको गन्ती ?
छाम्छु सुतीसुती
पाइजामाको गोजी
गन्छु मनमनै, खल्तीभित्र छामेर औंलाहरुले
के हिजोकै संख्यामा छन्
मेरा सपनाका टुक्राहरु ?

न प्रश्नको कुनै छ उत्तर ।
न उत्तरमा छन् थप प्रतिप्रश्न ।
लम्पसार सुतेरै गन्न थाल्छु माउसुलीका छाउराछाउरी ।
जम्मा गर्न थाल्छु नयाँ सपना ।
बुन्न थाल्छु अर्को नयाँ गन्तव्य ।
देख्छु अर्को नयाँ भविष्य ।
अर्को नयाँ बाटो ।

भोली फेरि व्युँझनु छ
नयाँ सोच र योजनाका साथ
नयाँ बाटो र गन्तव्यका साथ
रातभर सुत्दै नसुती देखेका नयाँ सपनाका साथ

यसरी हरेक बिहान 
म उठ्छु र मनमनै सुनाउँछु आफैले आफैलाई, 
मलाई कुनै गुनासो छैन मान्छेसँग
दूनियासँग, 
समाज र सत्तासँग ।


माघ २५, ०६९
पोखरा