Contact Form

Name

Email *

Message *

Thursday, December 31, 2009

मेरो जिन्दगी मेरो मर्जी





केटाकेटीमा एउटा कविता पढ्नुपथ्र्यो विलियम वर्डस्वर्थको ‘आई वान्डर्ड लोन्ली याज द क्लाउड’ । ड्याफोडिल अर्थात पहेँलो जातको नर्गिसको फूलको सुन्दरता मात्रै हेरेर बस्न पनि मान्छेको चोला कति छोटो छ ? स्वच्छन्दता र प्रकृतिप्रेमका लागि संसारप्रसिद्ध कवि वर्डस्वर्थको यो कविता मलाई अझै कण्ठ छ । तिनताकै यो कविता पढ्दा ड्याफोडिलको संस्करणमा म पोखराका हिमालहरु देख्थें । ती जस्तै माछापुच्छ्रे र अन्नपूर्णलाई हेरेर बिहान बिताउँथे म र आफूलाई वर्डस्वर्थको अवतार ठान्थेँ । स्कुल हाप्थेँ र एकलै विजयपुर खोलामा पौडी खेलेर चार बजाउँथे ।

कल्पना गर्थेँ माछाझैं दिनभर पौडेर बस्न पाए कस्तो हुन्थ्यो ! चराझैं फुर्फुरिए उड्न पाए कस्तो हुन्थ्यो ! म चरालाई प्रेम गर्थे तर गुलेलीले चरा मार्नु मेरो सर्वाधिक मिठो शौख थियो । झोलामा गुलेली कहिल्यै छुट्दैनथ्यो । माछा मार्नमा त क केटाकेटीदेखि नै खप्पिस हो । यस्तो लाग्थ्यो, एउटा नाथे जिन्दगी म माछा मारेरै, पौडी खेलेरै वा गुलेलीले चरा मारेरै बिताइदिन सक्छु । तर आजकाल माछा चरा मार्नै छोडियो । एकलै खोलामा पौडन जाने कल्पनै पनि हुन्न ।
गत वर्ष मैले जागिर छोडेँ । आफ्नै लगानी भएको विद्यालयमा पढाउँथे । सरकारी स्केलको दोब्बर तलब खान्थेँ । अनेका ठाउँमा गरेका लगानीको मुनाफा जोड्दा कमाई राम्रै हुन्थ्यो । एकदिन अचानक मलाई अनुभुत भयो, म हिँड्ने बाटै होइन यो । म जहाँ पुग्न चाहन्छु, त्यहाँ पुर्‍याउने हाइवे अर्कै छ । अनि मैले जागिर छोडेँ ।
दराजभरि आधि तलब सकेर किनेका किताबहरु थिए । तिनलाई पढ्नु थियो । कति दुःखले खोजखाज पारेर जम्मा गरेका फिल्मका सिडीहरु थिए । तिनलाई हेर्नु थियो । अरु त अरु भैहाले, आफ्नै आमासँग दिनभरी गफिएर बस्न नपाएको कति भएको थियो । अविश्वास र गलतफहमीको कारणले बोलचालै बन्द भएरका आफन्त र मित्रहरु थिए । तमाशले दिनभर हेरेर नबसेको फेवाताल थियो । दिनभर पौडेरै बस्ने रहर भएको बेगनास थियो । फोटो खिचेरै मन नभरिने मुस्ताङ थियो । पहाडका पत्रपत्र थिए जहाँ मेरा पैँताला पुगेका थिएनन् । गोजेरसम्म भरिएका कति कति भन्न मन लागेका कुरा थिए । लेख्न मन लागेका कुरा थिए । र्‍याफ्टिङ गएकै थिइनंँ । बञ्जी जम्प हानेकै थिइनंँ । थोरङ्ला क्रश गरेकै थिइनंँ । अरु त अरु मन भरिने गरी प्याराग्लाइडिङ वा अल्ट्रालाइटमा उडेर पोखरा हेरेकै थिइनंँ । केटाकेटीदेखि पढ्दै आएको सगरमाथाको फेदीको हिउँ छोएकै थिइनंँ । न मैले समुद्रको नुनिलो पानीमा डुबुल्की मारेको छु त मरुभूमिको बालुवामा लम्पसार सुतेको छु । वास्तवमा मैले जिन्दगीमा गर्न लायक केही गरेकै छैन । मैले बाँचेकै छैन ।
अहो म कति धेरै काम छोडेर जागिर खाँदै थिएँ ! कति धेरै रहरलाई बन्दक बनाएर आफू मात्रै एकलै स्वतन्त्र विचरण गर्दै थिएँ ! मैले जुन खुसीका खातिर पैसा कमाउँदे थिए, तिनै खुसीलाई दिनुपर्ने समय बेचेर पैसा कमाउँदै थिएँ । म विडम्वना बाँच्दै थिएँ ।
जागिर छोड्नु सजिलो काम होइन । त्योभन्दा पनि असजिलो काम हो, जागिर छोडेर पनि बाँचिरहन सक्नु । तथापि पोहोर चैतमा मैले निर्णय गरेँ : म जागिर खान्न । म व्यवसाय गर्दिन । म उद्योग चलाउन्न । बरु उस्तै परे दिनभरी क्याण्डी क्रश खेलेर बस्दिन्छु तर म त्यस्तो कुनै काम गर्दिन जसको उद्देश्य पैसा कमाउनु हुन्छ ।
अहिले एक वर्ष कटेर ३ महिना यता आइपुगेको छु । तै पनि मैले अझै सुनिराख्छु : त्यसरी पनि कहाँ हुन्छ ? यसरी कसरी चल्छ ? कसरी पुग्छ ? आफ्नो मात्रै सोचेर हुन्छ, अरुको बारेमा सोच्नु पर्दैन ? देश, समाज, परिवारको बारेमा केही गर्नु पर्दैन?
प्रश्नहरु यसरी बर्षिन्छन् मानौं मैले अवकाश लिएको यिनै प्रश्नको जवाफ दिनका लागि मात्रै हो । तर सबैलाई सबै प्रश्नको जवाफ दिदैं हिँडेर समय सक्ने कुरा हुन्थेँन । मान्छेको जात जागिर खान मात्रै जन्मेको त होइन नि ? जिन्दगी पैसा कमाउन मात्रै बनेको होइन नि ! 
साँच्चै जीवन कति छोटो छ ? मन परेका सिनेमा हेरेर बस्दा बस्दै जिन्दगी सकिन्छ तर सिनेमा सकिन्नन् । किताब पढेर बस्दा बस्दै जिन्दगी सकिन्छ तर किताब सकिन्न् । घुम्दा घुम्दै समय सकिन्छ तर ठाउँ सकिन्नन् । सुन्दासुन्दै कानको श्रवण शक्ति सकिएला, हेर्दा हेर्दै आँखाको ज्योति सकिएला तर न सुन्नुपर्ने संगीतको धुन सकिन्छ, न हेर्नुपर्ने कलाको सौन्दर्य । यहाँ सकिनका लागि हाम्रो आयु मात्रै हुँदो रहेछ ।
हामी हरबखत दौडेको दौड्यै गर्छौ तर पनि कहीँ कतै पुग्दैनौं । जिन्दगीदेखि भागेर पुग्ने ठाउँ पनि कतै हुँदैन । मर्ने बेला बुढेसकालमा हिसाब गर्छौ, जिन्दगी त गर्नु पर्नेभन्दा नगर्नु पर्ने वा नगरे पनि हुने काम गरेरै सकिएको रहेछ । आफूले जिन्दगीभर गरेको कामलाई अर्थहीन देखेर मर्नुभन्दा पीडादायी मरण के हुन सक्छ ?
म कमभन्दा कम पीडादायी जिन्दगी बाँच्न चाहन्छु । म बाँकी जीवन धेरैभन्दा धेरै हेरेर, सुनेर, पढेर र अनि लेखेर बाँच्न चाहन्छु ।

0 Comment:

Post a Comment