त्यसो त, आजकाल कुन आख्यान कुन गैरआख्यान ? ‘साहित्यका समारोहमा मेरो कथा वा उपन्यासको (की) मूल पात्र’ भनेर जीवित मान्छेलाई दोसल्ला ओढाउने चलनै चलेको छ । कथाका पात्र र घटना यतिउति प्रतिशत सत्य हुन् भन्ने दाबीका साथ प्रसिद्ध आख्यान लेखिएका छन् । त्यसैले कथा र घटना हुबहु सत्य हुनु र नहुनु मात्रैले आख्यान र गैरआख्यान छुट्याउने जमाना गए । यहाँ आख्यानजस्ता कल्पनातीत आत्मवृत्तान्त चल्तीमा छन् । आख्यानभन्दा अविश्वसनीय अभ्यास समाजमा जस्ताका तस्तै छन् ।‘ननफिक्सन फिक्सन’ भन्ने विद्या त्यसै त आएन !
त्यसो त, आख्यान र गैरआख्यान छुट्याउन खोजेर साध्य पनि छैन । लेखकले त्यसलाई आख्यान भनेर छापे आख्यान हो, गैरआख्यान भनेर छापे गैरआख्यान । ‘लेखकको मृत्यु सिद्धान्त’को भर्सेला परोस् ! नारायण वाग्लेले ‘कोरियाना’लाई गैरआख्यान भनेका छन् ।
तथ्यलाई अवलोकन गरून्जेल मात्रै त्यो तथ्य हो, जब कथिन्छ त्यो इतिहास हुन्छ । कथ्नु अर्थात् कथा हाल्नु । त्यसैले आख्यान सदैव तथ्य र इतिहासको बीचबाटै अंकुराउँछ । अनि इतिहास कहिलेकाहीँ भक्तिमार्गमा पसेर लेजन्ड बन्छ र लेजन्ड मिथ ।
मिथ बन्ने भनेकै तथ्य अर्थात् अवलोकनबाट हो । ‘कोरियाना’ अवलोकन साहित्य हो । अवलोकन अर्थात् वर्तमानमा जे भइरहेको छ त्यसलाई हेर्नु, सुँघ्नु, सुन्नु, चाख्नु र छाम्नुको मनिखाँबो भएर ‘कोरियाना’को किलो जमेको छ । रङ, आवाज, स्वाद, स्पर्श अनि वास्नाको वर्णनलाई विचारको बान्कीमा मथ्नु र त्यसैमा लम्बेतान घोत्लिएर पाठकलाई एक–एक तुर्को आदर्श–देशनाको नौनीको डल्लो फ्याँक्नु कोरियानाको खासियत हो । मनिखाँबो मात्रै होइन, किताबको जग पनि यही हो र कटेरो पनि यही हो । नौनीको डल्लो मन पर्नेलाई ‘कोरियाना’ अच्छा किताब हो ।
त्यो तुर्को देशनामा उनी साहित्य, कला, संगीत, सिनेमा आदिको फुर्को समातेर कर्पोरेट समाज, पुँजीवाद, बजार–कूटनीति, पर्यावरण, हरित–प्रभाव, प्रेम, परिवार, सामाजिक सम्बन्धको विघटन, एकाकीपन, अत्यास, कुण्ठा आदि अनेक विषयमा बोल्छन् । बोल्छन् होइन, बताउँछन् । बताउँछन् होइन, कहिलेकाहीँ लदाउँछन् पनि पाठकलाई ।
उनी ‘विगतलाई हिस्ट्री र आगतलाई मिस्ट्री’ भन्दै गर्दा वर्तमानलाई दृष्टि बनाउँछन् । भन्छन् नि, हाम्रो एक सेकेन्ड अगाडिको कुरा भूत हो, पछाडिको भविष्य । हामी जहाँ छौँ, त्यो मात्रै वर्तमान हो । अर्थात् वर्तमान भनेको भूत र भविष्यलाई छुट्याउने समयरेखाको एउटा बिन्दु मात्रै हो जसको लम्बाइ, चौडाइ, उचाइ हुँदैन । मोटाइ हुँदैन । त्यसैले वर्तमानको क्षेत्रफल हुँदैन, आयतन हुँदैन । गुदी हुँदैन । वर्तमानजस्तै हुँदाहुँदै पनि नभएकोजस्तो किताब हो ‘कोरियाना’ । कटन क्यान्डीजस्तो, खाए पनि नखाएजस्तो अनुभूति ।
त्यसो त हामी कटन क्यान्डी खोज्दै बजार डुल्दैनौँ । भेटियो भनेचाहिँ मज्जा मानेर खान्छौँ । ‘कोरियाना’ कटन क्यान्डी किताब हो । कटन क्यान्डीले मन–पेट त भरिन्न, तर त्यसको स्वाद र त्यसलाई खानुको आनन्दानुभूति भने अर्को कटन क्यान्डीवाला देख्नेबित्तिकै जिब्रोमा आइहाल्छ । जस्तो कि ‘कोरियाना’ चाख्नासाथ मैले ‘दोचा’ सम्झेको थिएँ ।
हलुका हुनुको अर्थ, गुदी नहुनुको अर्थ, अर्थहीन हुनु होइन । कटन क्यान्डीभन्दा हलुका हावा छ, हावाभन्दा हलुका छ शून्य । हलुका हुन नसकेकै कारण मान्छे ‘स्लिपिङ ट्याब्लेट’ खान्छन् । चक्कीको निन्द्राभन्दा बोझिलो रात के होला ? सायद शून्यभन्दा पनि हलुका हुनुपर्छ प्राकृतिक निद्रा । निद्राभन्दा हलुका हुन्छ ध्यान । र, ध्यान गर्नु भनेको वर्तमानप्रति सचेत हुनु हो । बौद्धमार्गी,झेनहरू जसलाई अवलोकन भन्छन् । प्रकृति, आश्चर्य र विचारको त्रिखुट्टीमा उभिने अवलोकनबाटै हाइकु जन्मेको हो । तर, ध्यान ज्ञान होइन । ज्ञानवादी पाठकले ‘कोरियाना’ नपढे पनि हुन्छ ।
त्यसो त ‘कोरियाना’ले आफ्नो पाठकको प्रस्ताव नै गरेको छ । भन्छन् नि विद्वानहरू– आख्यान र गैरआख्यानको भेद छुट्याउने जिनिस भनेका स्थापित कथावाचक (न्यारेटर) र प्रस्तावित पाठक हुन् ।
आख्यानको न्यारेटर भनेको लेखक आफैँ हुँदैन । होजस्तो देखिए पनि हो भन्न पाइँदैन । गैरआख्यानको न्यारेटर लेखक स्वयं हुन्छ । होइनजस्तो देखिए पनि होइन भन्न पाइँदैन ।
लेखक : नारायण वाग्ले
प्रकाशक : नेपालय
पृष्ठ : २४२
मूल्य :रू.४९५/–
उता पाठकका हिसाबले आख्यान आमसाहित्य हो जो अक्षर खुट्याउने सबैका लागि लेखिएको हुन्छ । कसैले पढ्दै–नपढ्नु वा पढेर नि नबुभ्mनु भिन्दै कुरा । आख्यान मेरो पाठक यस्तै हुुनुपर्छ भन्ने पूर्वानुमानमा लेखिँदैन । पाठकको प्रकार ताकेर लेखिने आख्यानमा प्राण हुँदैन । तर, गैरआख्यान सबैका लागि लेखिँदैन । वा कम्तीमा लेखकले गैरआख्यान लेख्नुअघि आफ्ना सम्भावित पाठकको अनुमान गरेको हुन्छ : यति पढेको, यस विषयमा सामान्यज्ञान भएको, यस्तो व्यहोरा अनि विचारको, यहाँ बस्ने, यो लिंगको, यो उमेरको आदि आदि ।
जस्तो कि, वाग्लेकै ‘कोरियाना’मा पाठकको एउटा चित्र छ । किताबैभरि पाठक अर्थात् ‘तपाईं’सँग उनी संवादरत छन् । पाठकलाई उनले ‘तँ यस्तो छस् उस्तो छस् । अबचाहिँ यसो गर । उसो नगर ।’ भनेर काम अह्राएका छन् । घरि ‘कफी, चिया वा मिल्कसेक घुक्र्या’ भन्छन् । घरि ‘चिसो पानीमा कागती निचोरेर खा’ भन्छन् । घरि ‘कोठाभित्र लिड लाइट बालेरै भए पनि गमलामा बिरुवा रोप’ भन्छन् । उनको अह्रनखटनले बनेको खरी घोटेर मोटा रेखाले स्केच गर्दा ‘कोरियाना’को प्रस्तावित पाठकको चित्र यस्तो देखिन्छ :
क) ऊ मध्यमवर्गीय सहरिया हुनुपर्छ ।
ख) ऊ सूचना, प्रविधि, सामाजिक सञ्जालको मामलामा खग्गु हुनुपर्छ ।
घ) ऊ पुरुष नै हुनुपर्छ ।
ङ) १७औँ पेजको अन्तिम वाक्यअनुसार ऊ भनसुने मनुवा हुनुपर्छ ।
क) ऊ मध्यमवर्गीय सहरिया हुनुपर्छ ।
ख) ऊ सूचना, प्रविधि, सामाजिक सञ्जालको मामलामा खग्गु हुनुपर्छ ।
घ) ऊ पुरुष नै हुनुपर्छ ।
ङ) १७औँ पेजको अन्तिम वाक्यअनुसार ऊ भनसुने मनुवा हुनुपर्छ ।
यो मेरो बेफ्वाँकको अनुमान हो । लेखकले पाठकसँग प्रत्यक्ष बोल्न थालेपछि उक्त पाठकको बयबान्की र बसोवास आफैँ बन्दै आउँदो रहेछ, मस्तिष्कमा । त्यो मान्छे म आफैँ हुँ कि होइन ? थाहा हुँदै जाँदो रहेछ । मैले जिज्ञासा मात्रै मेटाउन यसो ख्यारखुर पारेको यस्तो अन्टसन्ट चित्र पो बनेछ ! यस्तो चित्र पाठकैपिच्छे फरक आउन पनि कति बेर ! त्यसैले यसमा जोडबल गर्दिनँ । माथिका चार बुँदालाई नजरअन्दाज गरिदिए पनि हुन्छ । बरू म विषयवस्तुको बातमा थिएँ । त्यतै फर्किन्छु ।
‘कोरियाना’का दुई पाना पढ्दापढ्दै झलक्क लाग्छ, यो ‘स्ट्रिम अफ कन्सस्नेस’ हो । चौथो पाना सक्दा लाग्छ, होइन यो त ‘इन्टेरियर मोनोलग‘ हो । छैटौँ पाना पढेपछि सोच्छु, यो खासमा सोह्रौ“ सदीको मेटाफिजिकल कविताको छनक अहिले गद्यमा गएर पुनर्जन्म भएको हो ।
‘कोरियाना’मा असली ट्विट पाराका फुर्के विचार प्रशस्तै उनिएका छन् । विचार र बहकाउपन कोभेल्कोले पाठकलाई उल्कै उफार्छ । पहाडी बर्खेखोलामा पौडी खेलेजस्तो हुन्छ पठन । खोलाको बहाव कहिले स्वाभाविक, प्राकृतिक र प्रासंगिक लाग्छ । अनि ‘अब त भेल्को कटियो कटियो’जस्तो भान हुन्छ, तर यसो पानीमाथि टाउको उचालेर हेर्यो, ज्यान त ठामको ठाम । पठन पूरै वारिको वारि । उत्तिखेरै के उर्लेर आउँछ के ? सबैकुरा आकस्मिक लाग्छ, ठेलमठेल लाग्छ । कतै सचेत लाग्छ, कतै सतत । अचेत भने लाग्दैन ।
‘कोरिनाया’का दुई पाना पढ्दा–पढ्दै झलक्क लाग्छ, यो ‘स्ट्रिम अफ कन्सस्नेस’ हो । चौथो पाना सक्दा लाग्छ, होइन यो त ‘इन्टेरियर मनोलग’ हो । छैटौँ पाना पढेपछि सोच्छु, यो खासमा सोह्रौँ सदिको मेटाफिजिकल कविताको छनक अहिले गद्यमा गएर पुनर्जन्म भएको हो । तर, आठौँ पाना पछि लाग्छ, होइन यो अर्कै केही हो, तर माथि सोचेका जम्मैको मिसमास पक्कै हो । त्यसमाथि थपथाप पनि हो । कतै असाध्यै भावुक– कतै चञ्चल, कतै अचाक्ली गहिरो– कतै साह्रै सतही, कतै उधुम वैचारिक– कतै उखुम बहकाइला, कतै सारगम्य मूर्त – निस्सार अमूर्त, कतै वर्णनको वर्षा – कतै वाचनको खडेरी; यस्तो लाग्छ ‘कोरियाना’ आख्यानको धागोमा उनिएका बहुरंगी गैरआख्यान फूलहरूको माला हो । भलै यसरी अथ्र्याउँदा मालाको डोरी साह्रै मसिनो, तर उनिएका फुलका थुंगा साह्रै गह्रुँगो देखिने खतरालाई आत्मसात् गनुपर्छ । खतरा किनभने, यस्तो माला गलामा सिउरिन मिल्दैन । फूलको वजनले झड्काल्ने हुनाले धागो चँुडिन्छ । बरू गैरआख्यानको धागोमा उनिएका आख्यान फूलहरूको माला भनिदिँदा माला नचुँडिने पक्का हुन्छ । तर, फूलभन्दा मोटो धागो ? यो त अल्लि सुहाउँदो हुँदैन । मोटो त लट्ठो पो हुन्छ । लट्ठोले तोरण बन्छ माला बन्दैन ।
म कहिलेकाहीँ विचार्छु, संसारको साहित्यिक इतिहासलाई‘ होल–टाइमर’ लेखकभन्दा ‘पार्ट–टाइमर’ लेखकका कृतिले ज्यादा प्रभाव पारेका छन् । शुद्ध साहित्यिकलाई भन्दा यस्ता ‘अशुद्ध’ अनुयायीलाई विषय र अनुभवको एउटा अतिरिक्त सुविधा सदैव रहेको हुन्छ । एडम स्मिथको श्रम विशिष्टीकरणको सिद्धान्तले वस्तुको मात्रै होइन, साहित्यको उत्पादनमा समेत उत्तिकै प्रभाव पारेको छ । विभिन्न पेसा व्यवसाय र अध्ययनको क्षेत्रबाट साहित्यमा हाम्फालेका यस्तै लेखकहरूका कारण खासमा साहित्य कोठाभित्रको घोत्ल्याइँबाट बाहिर निस्केको हो । यसमा अनेकन विधा, विचार र विधि थपिएका हुन् ।
वाग्ले पनि एउटा उदाहरण हुन् । उनको भनाइमा साहित्य उनको व्यसन हो, पत्रकारिता पेसा । उनको साहित्य लेखनमा पत्रकारिताको र पत्रकारितामा साहित्यले पारेकोे प्रभावको विषय अर्कै खोजको कुरा होला, तर वाग्लेको लेखनीले छोट्याएको अभिव्यक्तिको आकारका बारेमा र्यान्डम रिडर्सका धेरै फोरममा मैले बोलेको छु । शब्द चयन, वाक्य संगती, अनुच्छेद विभाजन आदिमाथिको वाग्ले तकनिकी अहिले आम तकनिकीजस्तै भएको छ । छरिता वाक्य, कचिला अनुच्छेद, फारु संयोजक, निषेधित (छद्म)विराम वाग्ले–अभिव्यक्तिका अभिव्यञ्जना हुन् । विशेषणभन्दा बिम्बको प्रचुरता उनको लोभलाग्दो लेखन–सम्पदा हो । उनको लेखनमा गण्डक क्षेत्रमा बोलिने ग्रामीण शब्द र लवजको छेलोखेलो बसोवास हुन्छ । वाग्लेको ‘कफिगफ’ स्तम्भ र ‘पल्पसा क्याफे’ उपन्यासले नयाँ पुस्ताका सबैको लेखन शैलीलाई पारेको प्रभाव छरपस्टै छ । आफ्नो सदाकालीन लेखनशैलीमा यसपटक भने कुमार नगरकोटीका झैँ शब्दको उच्चारण पद्धतिमा समेत लेखेर ‘कोरियाना’मा उनले गज्जबको ‘सिम्फोनिक इफेक्ट’ निकालेका छन् । शब्दको ध्वनि र विन्यासको बिटमा उनका वाक्यहरू नृत्यमग्न देखिन्छन् । अनुच्छेदहरू सोचमग्न । पाठक त्यसै मनमग्न ।
‘कोरियाना’का हरेक वाक्य बाटोजस्तै लाग्छन् जसका प्रत्येक शब्दहरूबाट अन्तै पुग्ने आँखाले बाटा उम्रिएका छन् । एउटा वाक्यमा आउने सबै मूल शब्दमा घोत्लिनु र विचारको लामै फुर्को जोडेर फेरि मूलबाटोमा ढलिमली फर्किनु ‘कोरियाना’को संगठन हो, संरचना हो ।
मलाई खित्कनः हाँसो उठेको एउटा कुरा के भने किताबकै बीचमा उनले ‘यो किताब राति पढे उत्तम’ भनेर सुझाएका छन्, तर खासमा यो किताब पढ्ने उपयुक्त समय बिहान हो । कोरियाना जो छ, ब्रेकफास्टजस्तो छ । ब्रेकफास्ट स्किप गर्ने मेरोजस्तो बानी भएकाहरूले भने डेजर्ट वा सलादका रूपमा पढे पनि हुन्छ । तर, रातिचाहिँ नपढ्नू । अब एउटा ‘अफलाइन’ कुरा गर्छु ।
हामी कटन क्यान्डी खोज्दै बजार डुल्दैनौँ । भेटियो भनेचाहिँ मजा मानेर खान्छौँ । 'कोरियान' कटन क्यान्डी किताब हो । कटन क्यान्डीले मन–पेट त भरिन्न, तर त्यसको स्वाद र त्यसलाई खानुको आनन्दानुभूति भने अर्को कटन क्यान्डीवाला देख्नेबित्तिकै जिब्रोमा आइहाल्छ ।
जीवजन्तु र वनस्पतिका प्राकृतिक स्वभावमा मान्छेको प्रवृति घुसाएर बिम्ब बनाउने परिपाटी आमलेखकमा छ । एकाध अपवाद बाहेकजीव–वनस्पतिलाई गलत बिम्बका रूपमा उभ्याउने हुतिहारा खेलो ‘कोरियाना’मा खासै नदेख्दा मलाई सन्तोषै भयो । स्याल, फ्याउरो, ब्वाँसो, हुँडार, गिद्ध, कुकुर, सुँगुर, जुका, सर्प, भ्यागुता, बिच्छी आदिजस्ता निरीह प्राणी मात्र नभई सिउँडी, सिस्नो, खिर्रो, काँडा, काँस आदि वन्यजाति सदैव साहित्यिक बिम्बको कोपभाजनमा पर्दै आएका छन् । यस्तो साहित्य पढेका कलिला पाठकको अवचेतनमा जीवजन्तुप्रतिको दृष्टिकोण कस्तो भएर बस्छ ? साहित्यिकहरू बिर्सन्छन् ‘हिंस्रक’ भनिने स्यालले रमाइलोका लागि कुखुरा मार्दै हिँड्दैन । अघाएको बाघ हामीजस्तो भात–भ्रमणमा निस्कँदैन । बाघलाई थाहा छ, ऊ निस्कियो भने जंगलको शान्ति भंग हुन्छ ।
साना किराहरूको जाल बुनाई, कमिलाको खुदो, बाघको लोककथा, चराको छिनछिने वर्णन ‘कोरियाना’का उत्सवयोग्य अवसर हुन् । तर, अग्ला बाँसको निहुराइलाई मान्छेको स्वभाव जनाउन प्रयोग गरेको भने चित्त परेन । ‘फलेको वृक्षको हाँगो’ मलाई मन नपर्ने कवितांश हो जसले नफुल्ने नफल्ने बिरुवालाई अपमान गरेको छ । बाँस साना जातका चरा बस्ने उन्नत घर हो । घर होइन, समाजै हो । चरा–किराका बारेमा काव्यिक प्रेम छताछुल्ल देखाएका वाग्लेले बरा बाँसलाई किन कातर, डरपोक देखाएका होलान् ?
सक्किनुअघि कवि तीर्थ श्रेष्ठको कविता
‘हिउँमा लेखिएका नामहरू’ उद्धृत गरिनँ भने शीर्षक रिसाउला:
हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने बाँकी रहने छैनन्
हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू ।
‘हिउँमा लेखिएका नामहरू’ उद्धृत गरिनँ भने शीर्षक रिसाउला:
हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने बाँकी रहने छैनन्
हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू ।
Published at:
0 Comment:
Post a Comment