Contact Form

Name

Email *

Message *

Thursday, August 24, 2017

कथालोककी स्मिता


-- सिमाना अात्रेय

मैले लेनिन बञ्जाडेको ‘अफेयरगन्ज’ पढें । ‘अफेयरगन्ज’मा स्मितासँगको अफेयरले मलाई सुमनसँग रिस उठिरहेको थियो । म रिसले यत्ति धेरै थाकें कि शरीरमा बसिरहने ताकत पनि रहेन । बिस्तारामा पल्टिएँ । मलाई स्मिताको यत्ति धेरै माया किन लागिरहेछ ? आजसम्म मलाई कहिल्यै पनि कथाका पात्रहरूप्रति सहानुभूति पलाएको थिएन । आज वर्षौं नफुटेको सहानुभूतिको मूल फुटिरहेछ, त्यो पनि कथालोककी स्मितासँग ।
भर्खर आएको ‘पैताला’ उपन्यासमा गनेस पौडेलले लेखेका छन् कि कथा कानुनअनुसार हरेक मान्छे जीवनको एकपल्ट कुनै न कुनै कथाको पात्र बन्नैपर्ने हुन्छ । कथाअनुसार कति पात्र मानवलाई कथाकारले कथामै मार्दिन्छन् । त्यसरी मारिएकाहरू साँच्चैको लोकमा आफू को थिएँ भन्नेसमेत थाहा नपाई मर्छन् । यसरी मर्नेहरू साँच्चिकै मर्छन् । वास्तविक संसारमा उसको लाशमात्रै हुन्छ । अनि कथामा नमरेका मान्छेहरू जब साँच्चैको लोकमा फर्काइन्छन्, त्यसपछि पनि उनीहरू कथालोकका सबै कुरा बिर्सिन्छन् । संयोगले आफू नै पात्र भएको आख्यान पढ्न पुगे भने उनीहरूलाई त्यो आफ्नै कथा हो कि जस्तो लाग्छ ।
मलाई कताकता त्यो ‘अफेयरगन्ज’की स्मिता मै हुँ कि जस्तो लाग्छ तर म सुमनलाई चाहिँ चिन्दिनँ । के मलाई कथालोकको सब कुरा बिर्साएर वास्तविक संसारमा फर्काइएको हो ? के त्यो स्मिता भन्ने पात्र मै हुँ ? नभए किन लागिरहेछ मलाई आफ्नै कथाजस्तो ? कति वर्ष भौँतारिए होला कथालोकमा ? एक वर्ष, एक महिना, या कति दिन ? कति समय लगायो होला लेखकले ‘अफेयरगन्ज’ लेख्न ? म उसले कथा अन्त्य नगरिन्जेल कुन ठाउँमा भौँतारिइरहें हुँला ? नगरकोटको डाँडामा या अमेजन क्याफेभित्र ? या कतै गुमनाम सहरमा ?
मलाई आफैंले बाँचेको जिन्दगीदेखि डर लाग्यो । अझै बढी डर त कथाकार, आख्यानकारहरूसँग । मान्छेको जीवनको चाँबी नै उनीहरूसँग हुने रहेछ । भगवान् पनि तिनै आख्यानकार, कथाकारले रचेका त होलान् ! भगवान्हरू पनि कति लाचार रहेछन् आख्यानकारहरूसँग । उनीहरूले जे लेख्छन्, त्यही गर्न बाध्य । ढुंगाझैं सास रोकेर बसिरहेछन् अनन्तकालदेखि । कति निर्दयी आख्यानकारहरू, कथाकारहरू ! मनमा दया नभएकाहरूले धन्न मलाईचाहिँ कथालोकमै मारिदिएनछन् । लामो सास फेरें ।
सुमनको साथी प्रभात कथालोकमा मात्रै म¥यो कि वास्तविक संसारमै म¥यो ? ऊ उसको साँच्चैको लोकमा के थियो, थाहा पायो कि पाएन होला ? कि ऊ साँच्चैको लोकमा आएर ‘अफेयरगन्ज’ पढिरहेको छ कि ? यो त मलाई आफ्नै कथा हो कि जस्तोे लाग्यो पो भनेर बसिरा’छ कि ? प्रश्नहरू भूमरी जसरी मडारिएर आए ।
त्यति नै बेला ध्यान भंग ग¥यो मोबाइलको टुङटुङ आवाजले । मेसेज आएको रहेछ । हेरें । अपरिचित नम्बरबाट रहेछ, “सिमाना मलाई तुरुन्त फोन गर । म स्मिता ।”
मुटु थरर्र काँप्यो । के ऊ ‘अफेयरगन्ज’की अभागी स्मिता हो ? मेरा कुनै साथीको नाम पनि स्मिता छैन । भएजति सबैलाई सम्झिन खोजें– मामाघरतिरका साथी, घरतिरका, स्कुलका, कलेजका सबैलाई । तर, अहँ कोही आएनन् स्मिता बनेर । त्यही नम्बरमा डायल गरें । उताबाट भाउजु बोल्नुभयो, “तपाईंको ब्यालेन्स रकम कम भइसकेको छ, कृपया रिचार्ज गर्नुहोला ।”
फोन गर्दा पैसा सकिएर लागेन भने दाइले ‘तेरी भाउजू बोली’ भन्नुहुन्थ्यो । म मुसुक्क हाँसिदिन्थें । आज पनि एकसरो रेखा कोरियो अनुहारमा । आज मलाई तनाव थियो । पैसा थिएन तर फोन गरिहाल्नुपर्ने बाध्यता थियो । भाउजू मेरो तनाव बुझ्दिनन् । उनलाई चुप लगाउन मैले पचास रुपैयाँ थमाउनै पथ्र्यो । भाउजू चुप नभइन्जेल स्मितासँग कुरा हुन असम्भव थियो ।
म कोठाबाट बाहिर निस्किएँ । हामीले सधैँ रासन खाने साहूको पसलमा पुगें । मलाई थाहा थियो– उसले सब कुरा उधारो दिन्छ तर रिचार्ज कार्ड दिन्न । दाइले पनि रिचार्ज कार्ड र चकलेट उधारो नदिन भन्नुभाथ्यो । फेरि पसलेले आफैं पनि रिचार्ज कार्ड उधारो दिएको थाहा थिएन । ‘मैले रिचार्ज कार्ड उधारो पाउँदिन, तपाईंहरूलाई कसरी दिऊँ ?’ भनेपछि मान्छेहरू मन नलागी–नलागी गोजीबाट हजारको नोट थमाउँथे । ऊ रिचार्ज कार्डको साथमा पाँचसय र चारओटा सयका नोट दिन्थ्यो ।
“रिचार्ज कार्ड दिनुस् न साहुजी पचासको ।”
उसले क्याल्कुलेटरबाट आँखा हटाएर मलाई हे¥यो र हात तन्कायो । यसको मतलब उसले मसँग पचास रुपैयाँ मागेको हो ।
“साहुजी दिनुस् न, आजमात्रै । आज बेलुका तरकारी किन्न आउँदा दिन्छु, सत्ते । खातामा नचढाइदिनुस् ल,” रुँलाझैं गरेर भनें । खै उसले के सोच्यो कुन्नि, च्यावनप्राशको बट्टाभित्र हात हालेर रिचार्ज कार्ड निकाल्यो र भन्यो, “बेलुका सम्झेर दिनू ।” मैले टाउको हल्लाएँ ।
म बतास्सेर कोठामा आएँ र स्मितालाई डायल गरें ।
“हेल्लो ! म सिमाना । तिमी स्मिता हौ ?” 
उसले ‘हो’ भनी ।
“तिमी ‘अफेयरगन्ज’की स्मिता हौ कि कताकी हौ ?” मैले जिस्काएर सोधें ।
उसले बिस्तारै भनी, “म वीरगन्जकी स्मिता हुँ । तर, म अहिले अफेयरगन्जमा छु ।”
यति भनेर ऊ सुक्सुकाउन थाली ।
“तिमी किन रोएको भन त !”
शायद उसले टम्म भरिएको आँखा मिची र अलि कठोर भएर भनी, “तिमीले मलाई सहयोग गर्नुपर्छ । म तिम्री बालसखी प्रतिमा हुँ । मलाई तिमीले कथालोकबाट वास्तविक लोकमा झारिदेऊ पिलिज । म कथालोकमा अझै यही अमेजन क्याफेमा बसिराखेकी छु ।”
म थरर्र काँपें ।
“प्रतिमा, यो कसरी हुन सक्छ ? तिमी त बिरामी हजुरआमाको स्याहार गर्न दाङ पुगेकी थियौ । फेरि तिमी प्लस टुपछि पढ्न छाडेर किन गएकी त क्याफे ? आऊ बरु मेरै घर बस ।”
“सिमाना ! मलाई वास्तविक संसारको ज्ञान भयो । कतिलाई त यो पनि हुँदैन । तर, यो कथालोकको कानुनविपरीत हो । मैले चाहें भने मसँग सत्य थाहा पाउन सक्ने क्षमता छ । म सत्य कुरा सपनाबाट थाहा पाउँछु । कथाकानुनअनुसार त वास्तविक लोकको बारेमा ज्ञान नहुनुपर्ने हो तर भयो । थाहा पाएर पनि म आफैं साँच्चैको संसारमा आउन सक्दिनँ । तिमीले लेनिन बञ्जाडेलाई भेटेर मलाई साँच्चैको लोकमा फर्काऊ । जबसम्म म कथालोकमा बाँच्छु, त्यतिबेलासम्म म स्मिता नै हुँ । मलाई स्मिता नै भन है सिमाना ।”
अझै धेरै बोल्न मन थियो तर के गर्नु, पचासमा तीस रुपैयाँ नेपाल टेलिकमले लोन काट्दा बीस रुपैयाँ बाँकी थियो । धन्न यति कुरा थाहा भयो । हतारहतार मैले लोन लिएँ र फेरि डायल गरें । तर, यसपटक उताबाट भाउजू कराइन्, “तपाईंले डायल गर्नुभएको नम्बर मिलेन ।”
अघि गरेकै नम्बर हो र पनि भाउजूले रङ नम्बर भनेर स्मितासँग बेखबर बनाइदिइन् । मलाई भाउजूसँग रिस उठ्यो ।
अब कथाकारलाई कहाँ भेट्ने ? लोनको पैसाले नेट चल्यो । फेसबुक लगइन गरेर लेनिन बञ्जाडे सर्च गरें । भेटे पो ! शायद उनले डिएक्टिभेट गरे कि ? कि फेरि अर्को कथा लेखेर मेरा कुनै साथीलाई कथालोक पु¥याउन लागे कि ? मलाई नै पु¥याए भने ? डरले आँतमुख सुक्यो । हतारहतार गनेस पौडेल सर्च गरें । उनलाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गरेर म्यासेज छोडें, “प्रिय आख्यानकार, तपाईंको पहिलो आख्यान ‘पैताला’ मलाई राम्रो लाग्यो । अझै राम्रो गर्दै जानुस् । म तपाईंसँग भेटेरै कुरा गर्न चाहन्छु र कथालोकको बारेमा जान्न चाहन्छु । तपाईको कल्पनामा र तपाईंको ‘पैताला’मा मात्रै कथालोक हुन्छ या साँच्चै कथालोक र यसको कानुन छ ? म सबै जान्न चाहन्छु । तपाईंले कृपा गरेर लेनिन बञ्जाडेको फोन नम्बर दिनुहोस् । कथाकार, आख्यानकार, साहित्यकारहरूको त भेटघाट, कुराकानी भइराख्छ होला । जसरी हुन्छ, मलाई उहाँको नम्बर दिनुहोस् । लेनिन बञ्जाडेले लेख्नुभएको ‘अफेयरगन्ज’की स्मिता मेरी साथी हुन् । उनी कथालोकमै भौतारिरहेकी छन् । म उनलाई यो वास्तविक लोकमा झार्न चाहन्छु ।”
मैले गनेस पौडेललाई म्यासेज छोडेको आज पाँच दिन भयो । उहाँले न त म्यासेज खोल्नुभयो, न त फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नुभयो । मैले चाहिँ यो पाँच दिनमा सयौं पटक फेसबुक खोलें र बन्द गरें । उहाँले भने ‘पैताला’का प्रोग्रामहरू कहाँ–कहाँ भए र कहाँ–कहाँ हुँदैछन् भनेर मिनेट–मिनेटमा हालिरहनुहुन्थ्यो । पाठकको प्रतिक्रियामा ‘धन्यवाद’, ‘हस्’ भनेर कमेन्ट पनि गरिरहनुहुन्थ्यो तर उहाँले मेरो म्यासेजमा आँखा लगाउनुभएन ।
नयनराज पाण्डे, बुद्घिसागर, कृष्ण धरावासी, अमर न्यौपाने, अक्षर काका, नीलम कार्की निहारिका, नारायण वाग्ले, नारायण ढकाल, राजन मुकारुङ सबै दिमागमा सल्बलाए । सकेजति सबलाई सम्झिएँ । उनीहरूले लेखेका किताब सम्झिएँ तर मलाई अब आख्यानकारहरूको नाम सर्च गर्दै पाँच दिन कुर्दै फेरि म्यासेज पठाउँदै लेनिन बञ्जाडेको नम्बरका लागि भौँतारिहन मन लागेन फेसबुकमा । सबै उस्तै त होलान् यी आख्यानकारहरू । पाठकलाई त भाउ दिए पो ! उनीहरूको किताब भर्खर लन्च भएको छ भने र त्यसमा कमेन्ट गरेको छ भने मात्रै बोल्छन् नत्र त कहाँ बोल्न पाइन्छ र ! आख्यानकारका अक्षरले थिचिए पनि पढेर सक्नैपर्छ र कमेन्ट गर्नैपर्छ उनीहरूसँग नजिकिन । मलाई नजिकिरहने फुर्सद थिएन ।
फेसबुकमै आख्यान पढिरहने दुई–तीन जना साथीहरूलाई सोधे लेनिन बञ्जाडेको बारेमा तर उनीहरूले ‘अफेयरगन्ज’को बारेमा मात्रै भने । म निराश भएँ । अब के गर्ने ? मेरी साथी प्रतिमा उर्फ स्मितालाई कसरी यो लोकमा ल्याउने ?
आज ठ्याक्कै सात दिन भयो । मैले लेनिन बञ्जाडेलाई भेट्न सकिनँ । न त सकें मेरी साथी स्मितालाई फोन गरेर खबर गर्न । भाउजूले नम्बर मिलेन भने पनि मैले हजारौं पटक प्रयास गरें, सब विफल भयो ।
खाना खाएर विस्तारामा मात्रै के पल्टेकी थिएँ– म्यासेज आयो टुङटुङ । हेरें । नम्बर कतै देखे–देखे जस्तो लाग्यो । हो त मैले हजार पटक ट्राई गरेको नम्बर यही त हो । ‘अफेयरगन्ज’की स्मिताको ।
मेसेजमा लेखिएको थियो, “मलाई फोन गर सिमाना ।”
पहिलोचोटि स्मिताको म्यासेज आएदेखि नै मैले नियमित रिचार्ज गर्न थालेकी थिएँ । सात दिनसम्म मैले हरेक दिन पचास रुपैयाँ रिचार्ज गरेर फेसबुकमा कुरिराखें रिप्लाई तर आएन । म हैरान भइसकेकी थिएँ । मेरो रिचार्जको पैसा बालुवामा पानी हालेसरह भएको थियो । म दाइलाई भन्न सक्दिनथें । मलाई थाहा छ दाइले मलाई पागल भन्नुहुन्छ । दाइको अगाडि म चुपचाप बस्न बाध्य थिएँ । एक हप्तामा मुस्किलले एकदिन निदाउन सकें ।
मैले स्मितालाई डायल गरें । उताबाट उनले भनिन्, “सिमाना थाहा छ तिमीले लेनिन बञ्जाडेलाई भेटिनौ । तिमीले मेरो कारण धेरै दुख पायौ । कथाकार, आख्यानकार अरुको दुःख लेख्न सक्छन् मात्रै, देख्न सक्दैनन् । भित्री मनमा लागेको चोट पनि लेख्छन् तर कहाँ लाग्यो, कति पीडा भयो– उनीहरू देख्दैनन् । उनीहरूमा दुःख लेख्न सक्ने क्षमता हुन्छ । अक्षरमा पोख्न सक्ने क्षमता हुन्छ तर दुःख अनुभव गर्न सक्ने क्षमता हुँदैन । हुन्थ्यो भने म यसरी कथालोकमा भौँतारिरहन पर्दैनथ्यो सिमाना । स्मिता ! तिमी अझै एक–दुई महिना भौतारिरहनु पर्ने भयो । मलाई माफ गर । म जतिसक्दो प्रयास गर्छु भेट्ने ।”
म एकसुरले उसका कुरा सुन्दै थिएँ । यो सपना हो या विपना– मेरो दिमागले भेउ पाएन । 
उसले थपी, “सिमाना ! तिमीले पनि सक्छ्यौ मलाई कथालोकबाट निकाल्न ।”
म अचम्ममा परें ।
“मैले कसरी निकाल्न सक्छु र तिमीलाई ? तिमीलाई त जसले कथालोकमा पु¥यायो, उसले मात्रै निकाल्न सक्छ, हैन र ?”
“सिमाना अब उसले फेरि ‘अफेयरगन्ज’ लेख्दैन । लेखे पनि अरु कथा लेख्ला– ‘मकै’, ‘सेतोपाटी’जस्ता । उसले सके बिर्सिसक्यो होला मलाई । उसलाई ‘अफेयरगन्ज’ले कथाकार बनायो तर उसले कथाका पात्रहरूलाई भुल्यो । आफूलाई सफल बनाउने मजस्ता कथाका पात्रहरू भुल्यो । अब मेरो जीवन तिम्रो हातमा छ । तिमीले मलाई छिटो निकालिदेऊ सिमाना, नत्र म यही अमेजन कफीसपमा मर्छु । तिमीले अब मेरो बारेमा कथा लेख्नू । उसले मलाई ‘अफेयरगन्ज’मा जहाँ छोडेको छ, त्यहीँदेखि सुरु गरेर मलाई वास्तविक लोक फर्काऊ । मलाई तिमीले अमेजन कफीसपबाट निकालेर बरु वीरगन्जकै तिम्रो ठूलोबाबाको ब्राउन पिस कफीसपमा छाडिदेऊ । त्यसपछि म प्रतिमा बन्नेछु सिमाना । त्यसपछि मैले अहिलेको लोक बिर्सिन्छु । तिमीले मलाई याद गरायौ भने पनि याद हुँदैन मलाई । कथाकानुनमा यही कुरा छ तर सपनाले गर्दा मलाई वास्तविक लोकको बारेमा भने ज्ञान भयो । म यहाँबाट निस्किएपछि मैले कहिल्यै सपना देख्न सक्दिनँ । कथाकानुनअनुसार यदि कथालोकमै हुँदा कसैले सपनाबाट वास्तविक लोकको बारेमा थाहा पाउँछ भने उसले कथालोकबाट झरेपछि सपना कहिल्यै देख्न पाउँदैन । तिमीले सकेसम्म आजै कथा सक्यौ भने म भोलि बिहानै ६ बजे ब्राउन पिस कफीसपमा तिमीलाई कुरिरहन्छु ।”
फोन काटियो । मैले कसरी लेख्न सकुँला र कथा ? तैपनि मैले लेख्नैपर्छ । ज्ञानले, रहरले मात्रै मान्छेलाई कथाकार बनाउँदैन रहेछ । नजानेकै भए पनि मैले साथीको कर्तव्य निभाउन कथा लेख्नैपर्छ । बाध्यताभन्दा पनि यो नैतिक जिम्मेवारी हो मेरो । जानेको छैन भनेर सुख पाइँदैन । आँट गर्नैपर्छ । मैले पनि मेरी साथी स्मितालाई कथालोकबाट झार्न आँट गरें । 
उनलाई आजै झारे भोलि हामी वीरगन्जको कफीसपमा भेटिन्छौं । तर, मलाई थाहा छैन कथालोक कति माथि छ ! सगरमाथाको उचाइभन्दा पनि माथि छ कि ? आकाशभन्दा माथि छ ? कि ककनीको हाइटजति छ ? झार्दै गर्दा उसलाई म सेफ ल्यान्डिङ गराउन सकुँला मेरो ठूलोबुवाको कफीसपमा ?
घडीको मोटो र लामो सुई दुवैले दश ताकिरहेका थिए । अरुबेला हुन्थ्यो भने म ९ नबज्दै विस्तारामा पल्टिसक्थें । तर, आज गहन जिम्मेवारी निभाउनु छ । कथा सक्नु छ रातभरिमा । म उसलाई भौतारिरहन दिन्नँ । 
मैले कथा लेख्न सुरु गरें ।
“मलाई सुमनले धोका दियो । उसलाई मैले फोन गरें तर उसको फोन व्यस्त भन्यो । म पीडा खप्न नसकेर घोप्टिरहें । न्यापकिनले आँसु पुछें अनि फेरि सुमनको मोबाइलमा डायल गरें । उसको मोबाइल अफै थियो । फेसबुक खोलेर म्यासेज छोडें, “सुमन तिमीले मलाई धोका दियौ तर म तिमीलाई प्रेम गरिरहन्छु । म अब कसैलाई प्रेम गर्न सक्दिनँ सुमन । मेरो मन भाँच्चिएको छ । म जीवनभर अविवाहित रहन्छु । यति जाबो जिन्दगी बिताउन तिमीसँग बिताएका लामा रातका लामा यादहरू छँदै छन् । तिमी प्रमिलासँग खुसी रहनू । म तिम्रो खुसी खोस्न कहिल्यै आउनेछैन । तिमी ढुक्क हुनू । तर, प्रमिलालाई चाहिँ नरुवाउनू है । ऊ कति रोई फोनमा । हुन त मेरा पनि आँसु झरे । झरिरा’छन् । मेरो आँसुको झरी झरिराखे नि म अरुको आँखामा मरुभूमि देख्न चाहन्छु । सुख्खा ।”
म अमेजन कफीसपबाट निस्किएँ । मलाई अब सुमनको बारेमा केही जान्नु थिएन । म सरासर अमेजन रिभर गएँ अनि फोन फालिदिएँ । त्यही फोनले गर्दा त मलाई रुवायो ।
ममीसँग मोबाइल फोन चाहियो भनेर कति रोएँ । ममी पनि ‘पैसा छैन छोरी, रिन गरेर त के किन्नु’ भनेर रुनुभयो । त्यसको पर्सिपल्ट बुवाले लैनो भैंसी बेचेर मलाई मोबाइल किनिदिनुभयो । त्यसरी ममीसँग रुँदै किनेको मोबाइलले खुसी दिनुको सट्टा उल्टै रुवायो ।
अमेजन रिभरबाट म घर फर्किन चाहन्थें । म अफेयरगन्ज त सुमनलाई भेट्न त आएकी थिएँ । मलाई वीरगन्ज फर्किनु थियो । सुमनले हिजो राति भोलि अमेजन क्याफेमा हजार रुपैयाँ दिन्छु भनेको थियो, त्यसैले पनि घरबाट हिँड्दा थप पैसा बोकिनँ ।
अमेजन रिभरबाट पानीजहाज चढेर वीरगन्ज पुग्न २५० रुपैयाँ लाग्थ्यो भने अफेयरगन्जको रेल्वे स्टेसनबाट फर्किंदा २ सय रुपैयाँ । तर, म अमेजन रिभरमै थिएँ । मलाई अफेयरगन्जको रेल्वे स्टेसन जानै हिँडेर एक दिनभरि लाग्थ्यो भने गाडीमा ५० रुपैयाँ ।
म अमेजन रिभरअगाडि उभिरहें । दुइटा पानीजहाज गए, तीनवटा आए । साँझ पर्दै थियो । आँखाबाट आँसु पनि झर्दै थियो । मेरा सब सपनाहरू खरानी भएका थिए । खरानीले परानी जोगाउन सकिन्न । खरानी त घसेर हिँड्ने हो । म दुःखको खरानी लगाएर हेरिरहेकी थिएँ ।
कोही मलाई पछाडिबाट आएर आँखा छोप्यो र लगत्तै चिच्यायो ।
“अरे दिदी किन रोएकी ? के भो ? फेरि यतिबेलासम्म किन घर नआउनुभएको ? ममी–बुवा कुरिरहनुभा’छ । म त साथीकोमा आएको । भोलि उसको क्लबमा भलिबल रच बिहानै । त्यहीभर भोलि हिँड्दा गेम छुट्ला भनेर आइहालें ।”
उसको साथी मोटे रमाहिर रै’छ । ऊ अफेयरगन्जको हो । उसको मामाघर वीरगन्ज । हाम्रो घरको पल्लापट्टिको रातो रङ लगाएको घर ।
अरु बेला मोटु भनेर गाला निमोठ्दिन्थें । ऊ पनि मलाई तानेर भलिबल सिकाउन लैजान्थ्यो । आज म उसलाई हेर्न सकिरहेकी थिइनँ ।
“दिदी ऊ त्यो लास्ट पानीजहाज हो, गइहाल्नुस् । ममी चिन्तित हुनुहुन्छ । तपाईंको फोन पनि लाग्दैन रै’छ ।”
रमाहिरले बाई भन्यो । उनीहरू लगभग ५० मिटर पर पुगे । खै कताबाट बल आएछ कुन्नि ! म चिच्याएँ, “भाइ, मसँग घर फर्किने पैसा छैन । म यहीँ बस्छु ।” 
चर्कै भएछ आवाज । दुवैजना कानेखुसी गरे अनि फरक्क फर्किए । मलाई भाइले ५ सयको नोट थमाइदियो र पानीजहाजमा चढायो । मैले पानीजहाजबाट उनीहरूलाई हात हल्लाएँ ।
लगभग बिहानको ५ बजे पानीजहाजबाट वीरगन्ज उत्रिएँ । साथमा मसँग बचेको २ सय रुपैयाँ थियो । ५० रुपैयाँको मैले पानीजहाजमै खिर, पुरी र चटपट खाँदा सकें ।
२ सय रुपैयाँ लिएर ५ नै बजे घर गइहाल्न मन भएन । वीरगन्ज शहर पूरै डुलें । लगभग एक घण्टापछि ब्राउन पिस कफीसप अगाडि उभिएँ । चारैतिर बत्ती झलमल्ल थियो । मान्छेहरू घरी कफीसपभित्र कहिले बाहिर गरिराख्थे । यसको मतलब थियो कि कफीसप रातभर चल्छ । म त्यही कफीसपमा छिरेँ । मलाई कफीको चुस्कीसँगै सुमनको चुम्बनको चुस्की लिनु थियो र कफी रित्तिएसँगै उसका यादहरू रित्ताउनु थियो । म कफी खाने मान्छे त हैन, खाएँ भने त्यही लैनो भैंसीको दूध खान्थें । त्यो पनि आज मिल्काइदिएकी थिएँ । कफी खानेहरू भन्छन् दिनभर फ्रेस राख्छ कफीले । म पनि उसका यादहरूबाट रिफ्रेस हुन चाहन्थें । वेटर नजिकै आयो । मैले मिल्क कफी अर्डर गरें ।”
यहीँनेर स्मिताको कथा टुंग्याइदिएँ । मैले उसलाई अफेयरगन्जबाट वीरगन्ज ल्याएँ । ऊ आई कि आइन ! मलाई आफूले लेखेको कथाले स्मिता वीरगन्ज आई होली भन्ने लागेन तर पनि कफी खाने बहानाले म कोठाबाट निस्किएँ । दाइ पल्लो कोठाबाट कराउनुभयो, “यति बिहानै कताको साइत हो ? एकाबिहानै तेरो चुरीफुरी बढेको देख्छु त ! के हो ?”
“दाइ, म नोट दिन जान्छु के प्रतिमालाई,” दाइको थप कुरा नसुनी म बाहिरिएँ ।
ठूलोबाबाको कफीसप ब्राउन पिसमा ऊ नीलो रङको स्कर्ट र सेतो टिर्सटमा थिई । स्मिता उर्फ प्रतिमा । मलाई देखेर जुरुक्क उठी र अँगालो हाली । ऊ सधैं यसै गर्छे ।
“प्रतिमा तिमी कता थियौ ? नदेखेको थुप्रै भयो त ।”
उसले ‘दाङमा हजुरआमालाई स्याहार्न गएको’ भनी । 
कथालोकबाट अत्तालिएर हतारहतार आफ्नो कुरा सक्ने स्मिताबाट ऊ बेखबर थिई । ऊ प्लस टु पढ्दाताकाको जस्तै बिन्दास देखिन्थी । उसमा ‘अफेयरगन्ज’की स्मिताको स्मृतिको अलिकति लेप पनि थिएन ।

0 Comment:

Post a Comment