Contact Form

Name

Email *

Message *

Monday, August 28, 2017

कात्तिके कैंडा

कात्तिक दोस्रो हप्ताको पहिलो दिन, सोमबार । मट्टिखानको टाकुराबाट हिमालका चुचुरा हेर्ने मनसुवा उठेपछि भट्भटेको घैंटोमा एकबार फेरि टिल्पिल्ल पेट्रोल भरियो । तिहारको झमेलाभन्दा एकहप्ता जसो अगाडि । झोलामा पसालेँ जुगाडको एक बोतल मिनरल वाटर । एक पुरिया चाउचाउ । अनि काल-जमानाकी ओशोमार्गी मा आनन्द शिलाको 'डन्ट किल हिम !'
राम्रा पहाडका थुम्का, नदी-ताल किनार, जंगल जे देखे पनि मलाई त्यहीँ घर बनाऊँ बनाऊँ लाग्छ ।
बाँकी जिन्दगी यतै घर बनाएर बस्ने स-सानो योजना पनि बनिहाल्छ । घरमा कतिवटा कोठा हुने ? कस्तो मोडलको हुने ? ढलान गर्ने कि टिनले छाउने वा खरको छानो हाल्ने ? यी सबै समस्याको छिनोफानो पनि तत्कालजस्तै हुन्छ । बगैंचा र तिनमा उमार्ने फूलका प्रकारको समेत हेक्का हुन्छ । यस्ता मनको घर ठडिएका ठाम देशैभरि कति छन् कति ! मेचीदेखि महाकालीसम्मै । दुई दर्जन घर त पोखरामै छन् । बाइबलको सुक्तिका झैं 'त्यहाँ घर भैजाओस् (लेट देअर वि अ हाउस)' भन्नेबित्तिकै घर ठडिन्थ्यो भने के हुन्थ्यो होला ? मेरो गाउँका मान्छे त मेरै घरमा मात्रै अटाउँथे होलान् ।
हो, मेरो यस्तै एउटा मानस-गृह छ मट्टिखानमा । त्यहाँ गएर सुन्तला नखाएको धेरै भयो । पृथ्वीचोकमा अमिलो नखस्केका हरिया गेडा खरिदेर म एक्लै कुदेँ मट्टिखान ।
घुम्नुको खास त्यस्तो लहड छुटेको धेरै समय भयो । हिँडेर यात्रा नगरेको त कति भयो कति ! एकताका थियो, कुनै उच्चाट किसिमको सिनेमा हेरियो भने वा किताब पढियो भने त्यसको मानसिक कैंडा मार्न म मोटरसाइकल लिएर कुद्थेँ । पोखरालाई छेकेर बसेका सबैजसो डाडाँको टुप्पोमा पुग्नु र त्यहाँ दिनभरि एक्लै बसेर उपत्यका हेर्नु मेरो आम दैनिकी हुन्थ्यो । सूर्यनारानको अन्तिम झिल्को अन्नपूर्णमा सेलाएपछि मेरो मन बाँउठिएर बनेको कैंडा हराउँथ्यो । सिनेमा र कथाका पात्रले हुँडलेको मन थामिन्थ्यो । अनि ओर्लन्थें ।
दुई वर्षअघि नै साइकलको फेसनले मलाई पनि छोप्यो । नन्प्रोफेसनल राइडर, मैले पहाडका चुचुरामा त पेडल मार्न सकिन, तर सेती र विजयपुरका गल्छेडाहरूका ठसठस ठेलेर किताब र सिनेमाको कथार्सिस साम्य पारेको हुँ । बेलुका घर पुग्दा मनको कैंडा मत्थर हुन्थ्यो, तनको कैंडा जागृत । यसरी मैले मनलाई तनमा र तनलाई मनलाई कन्भर्ट गरेँ । अस्तिका दुई वर्ष । यसरी नै मनका सम्बन्ध तनमा र तनका सम्बन्ध मनमा फेरिएपछि अलग कथार्सिस सुरु इैहाल्ने भो आफ्नै कथामा । आजकल न साइकल न मोटरसाइकल नै प्रयोग भएको छ । कथा बाँच्न छोडियो भने पनि भयो ।
पहिलो दिन खेल खेल्दा होस् वा खेतमा काम गर्दा, वा होस् कुनै शारीरिक काम गर्दा, दोस्रो बिहान जो कसैको शरीरलाई आलस्यले अँठ्याउँछ । मांसपेशीहरूमा कुनै गाँठो परेजस्तो हुन्छ । त्यस्तो अनुभूतिलाई मेरो गाउँतिर कैंडा लाग्ने भन्छन् । किताब र सिनेमाले पनि यस्तै कैंडा पार्छन् । कहिले मनमा कैंडा लाग्छ, कहिले मस्तिष्कमा । तर आजकाल कैंडा लाग्न छोडेको पनि धेरै भयो । एउटै बल र चाल चाहिने काम गरिरहँदा कैंडा नलाग्दो रहेछ । थोरै बल बढी परोस् ! थोरै नयाँ चाल चाल्न परोस् ! थोरै सीप ज्यादा खोज्ने काम परोस् ! खै, आजकल पर्खाइले बरु तुरतुरे पार्छ । त्यस्तो किताब पाइनै छाडे ।
०००
आज म कुनै सिनेमा वा किताबको कथाले रन्थनाएर पुगेको थिइन् मट्टिखान । लामो समयदेखि नोस्टाल्जिक भइरहेको थिएँ । तीव्र्र सहरीकरणको चपेटामा मेरो समाजले गुमाएका केही कृषि संस्कृतिका मौलिक पर्वहरू विलय भएको आकस्मिक चेतनाले म भुन्भुनिएको थिएँ । चाको हराएको माहुरी जस्तो । केही समय भयो मैले यस्तै कुरा सुनाउन थालेको जमघटहरूमा । मेरा एकजना रेडियोकर्मी साथी छन्- दीपेन्द्र श्रेष्ठ । मेरा कुरा सुनेपछि कफी गफमा एकदिन उनले यस्तरी भन्दिएः 'तपार्इंका बात सुन्दा तपाईंको उमेर ८४ वर्ष पुगे जस्तो लाग्छ ? '
आज मट्टिखानबाट स्मृतिका केही कैंडा मार्छु । आउनुस् मेरो चौरासी पूजामा फूलपाती दिएर बस्नोस् । भोकै भए बेल-पत्र बेस !
०००
गौडी पूजा ।
एउटा सामान्य चाड । तर मेरो बाल मस्तिष्कमा यसरी गढेर बसेको थियो, मलाई यसको पखाई दसैंको भन्दा ज्यादा हुन्थ्यो । वर्षको दुई पटक यसको पूजा हुन्थ्यो । जेठ र मंसिरको पूर्णिमाका दिन । गोठमा गाईको गोबरको थुप्रो पारिन्थ्यो । शिव लिंग जस्तो । चामलको पैसे-रोटी र खीर बनाइन्थ्यो प्रसादमा । पूजा अवधिभर घरका सबै केटाकेटीलाई पशु-प्रतिष्ठा गरेर गोठमा दाम्लोले बाँधेर राखिन्थ्यो । अनि केराको पातमा प्रसाद राखेर मुन्टो मुन्तिर राखिन्थ्यो । हातलाई पिठ्युँपछाडि समातेर मुख गाढेर प्रसाद खानु पथ्र्यो । खाने बेलामा बाले घरबुना धनुष ताक्दै भन्नुहुन्थ्यो, 'हाचा, हाचा, भाग !'
मालगीतपछि दुलाहापक्षका मध्ये एकजना वृद्धले 'खड्गो गान' गर्थे । हातमा नाङ्गो खुकुरी लिएर नाच्दै र गाउँदै जगिया परिक्रमा गर्थे । झाँक्रीको मन्त्रोच्चारण जस्तै गरी राजा र राणाका गुनगान बर्बराउँथे ।
त्यस्तो धनुष पातीको डाँठबाट बनाइन्थ्यो । तीर निगालो वा खरको डाँठको हुन्थ्यो । हामी पशुले अन्नबाली खाएझैं नटेरी नटेरी खान्थ्यौं । प्रसाद सकिएपछि बाले धनुष हामीलाई दिनुहुन्थ्यो । हामीले धनुष खैंचेर तीरले गोठ कटाउँथ्यौं । रमाइलो खेलजस्तो थियो यो चाड । आजकल यस्तो कसैले गरेको देखेको छैन । मेरै घरमा पनि मनाउन छाडियो यो पर्व ।
घरका केटाकेटीलाई पशु र मान्छेबीचको युगीन सम्बन्ध बुझाउँदै हुर्काउने मीठो संस्कृति किन लोप भयो होला ? 
०००
हरेलो ।
भदौ महिनाको पहिलो मंगलबार हरेलो गरिन्थ्यो । यो पूजाको पुजारी हुन्थे घरका हलीदाइ । उनी नभएमा हामी केटाकेटीलाई पूजा गर्न पठाइन्थ्यो ।
गिँदरी भन्ने घाँसको रूख हुन्छ । यसको झ्यापुल्ले हाँगालाई काटिन्थ्यो । मकैका सुत्लामा धानबाहेकका नौ थरी अन्न बाँधेर पोका पारिन्थ्यो र पोकालाई गिँदरीको हाँगामा बाँधिन्थ्यो । त्यसपछि पूजा सामग्री बोकेर घरको मुख्य खेतको खले गह्राको आलीमा गइन्थ्यो । गिँदरीको हाँगालाई आलीमा गाडेर पूजा गरिन्थ्यो ।
'यस्तो पूजा किन गरिन्छ ? ' एकदिन मैले बालाई सोधेको थिएँ । 'वर्षभरि खेत जोत्ने खन्ने गर्दा कयौं कीरा, फट्याग्रा, गँड्यौला मरेका हुन्छन् । यिनको हत्याको पापले नपिरलोस् भनेर यिनलाई सम्झेर पूजा गरेको हो । यिनको आत्माले शान्ति पाओस् भनेर ।'
नेपालकै अन्यत्र यस्तो पूजा हुन्छ या हुँदैन ? मलाई थाहा भएन । तर किसानमा भएको प्रकृति र पर्यावरणप्रतिको सचेतता जनाउने यो चाडको अलग सौन्दर्य थियो । आजकल पोखराका किसानले हरेलो गरेको देख्न पाइँदैन ।
०००
लुतो फाल्ने ।
साउने संक्रान्तिको दिनमा साँझ घरमा लुतो फाल्ने पूजा हुन्थ्यो । सुन्दा खास नलागे पनि यो चाडको एउटा आकर्षक पक्ष थियोः वनस्पति प्रेम । 'धर्तीमा उम्रेका सबै बिरुवाको पात' जम्मा गर्न बिहानै बाले खटाउनु हुन्थ्यो । धर्ती भन्नाले आफ्नो गाउँ । सामान्य झारपातदेखि अग्ला रूखसम्मका पात समेटर हामी जम्मा गथ्र्यौं । कसले कतिवटा वनस्पति जम्मा गर्ने भन्ने पनि हुन्थ्यो । युनिक भैटोपल्नाका लागि अरूले वास्ता नगर्ने वनस्पति जम्मा गर्ने होड हुन्थ्यो । धेरैले खोज्ने युनिकमध्येको वनस्पति 'सर्पको मकै' पनि हुन्थ्यो । खास वनस्पतिमध्येमा, लुतेझार त खोज्नै पर्ने हुन्थ्यो । लुतेझारलाई गौलेटो वा गग्लेटो भनिन्थ्यो ।
लुतो फाल्ने साँझ दिनभरि खोजेका वनस्पतिको हाँगाबिँगा, झारपात आदि नाङ्लामा राखिन्थ्यो । त्यसमाथि चार थान अगुल्टो । अनि बाले लुतो फ्याक्ने मन्त्र उच्चारण गर्न थाल्नुहुन्थ्योः 'कण्डारक ! सुराधीश ! गृहाण दीपमुत्तमम् । सरलेन्धनसम्भुतं ममारिष्टं विनाशय ।। कण्डारक ! रात्रिचर ! लुतादी भयनाशन । उक्कामिमां प्रक्षिपामि मास्तु लुताभयं मम ।'
मन्त्रोचारणलगत्तै बाले पहिलो अगुल्टो घरको धुरी कटाएर उत्तरतिर फाल्नुहुन्थ्यो । त्यसो गर्दा म खंग्रङ्गै हुन्थेँ । खरको छानोमा आगो टिपे त बर्बादै भइहाल्यो नि ! तर कहिल्यै त्यस्तो भएन । कसैको घरमा भएन । अनि बाँकी तीनवटा अगुल्टो भने तीन दिशामा फाल्नुहुन्थ्यो । सामान्यता लुतो फाल्दा आफ्नो जग्गामा अगुल्टो पार्न हुँदैन भन्ने थियो । त्यसैले घरबारीको सिमाना कटाएर फालिन्थ्यो । अहिले घरहरू पनि बाक्लिए । लुतो फाल्ने चलन पनि हरायो ।
०००
मागल गान ।
मंगललाई गाउँले भाषामा मागल भनिन्छ । विवाह, व्रतबन्ध, भागवत कथावाचन आदि मंगल कार्यको अघिल्लो दिन गाउँका सबैभन्दा ज्येष्ठ महिलाले मंगलगान गर्ने यो चलन अचेल हराइसक्यो । शुभकार्यको अघिल्लो दिन (कसार बटार्ने दिन) मा खुदोमा चामलको पिठो भुटेको पहिलो घान नाङ्लामा खन्याएपछि त्यसलाई बटार्दै गाउँका सर्वाधिक बूढी महिलाहरू लामो लयमा मागल गाउँथे । यो लयमा कुनै लोकगीत रेकर्ड भएको मैले सुनेको छैन ।
धेरथोर तीज पञ्चमीको बेलामा गाइने लामो लयको गीतजस्तै भए पनि यसको थमौती र उठौती फरक छ । 'बाबैको आँगनीमा जगिया ...' शब्दबाट सुरु हुने यो गीतले भोलिको कार्यक्रम शुभ-शुभ सम्पन्न होस् भन्ने कामना गर्दछ । गाउँका बूढीआमाहरूलाई विशेष सम्मान दिएर शुभकार्य प्रारम्भ गरिने मौलिक परम्परा पनि पोखराले बिर्सिसक्यो ।
मेरा माइला बा जगन्नाथ पौडेलका अनुसार विवाहको बेलामा पहिलेपहिले जन्ती बूढाहरू भेला भएर श्लोक हाल्थे । नाच्नेहरू तिनताले (भोटेशाला) मा नाच्थे तर विवाहको विशेष रौनक श्लोकको प्रतिस्पर्धाले गथ्र्यो । अहिलेको अन्ताक्षरी जसरी अन्तिम अक्षरबाट उठाएर रामायण, महाभारत आदिका श्लोकहरू मुखाग्र हाल्नेको कौशल देखिन्थ्यो । अरूका श्लोक गायन गरेरमात्रै होइन, आँसुकविका झै मौलिक श्लोक रचना गरेर पनि रमाइलो गरिन्थ्यो । श्लोक हाल्नकै लागि अन्यत्रबाट सिपालु कविलाई विशेष निम्तो पनि गरिन्थ्यो ।
पूजा अवधिभर घरका सबै केटाकेटीलाई पशु-प्रतिष्ठा गरेर गोठमा दाम्लोले बाँधेर राखिन्थ्यो । अनि केराको पातमा प्रसाद राखेर मुन्टो मुन्तिर राखिन्थ्यो । हातलाई पिठ्युँपछाडि समातेर मुख गाढेर प्रसाद खानुपथ्र्यो । खाने बेलामा बाले घरबुना धनुष ताक्दै भन्नुहुन्थ्यो, 'हाचा, हाचा, भाग !'
छोरी पक्षका महिलाहरू कन्यादानपछि विशेष प्रकारको दुःखको गीत गाउँथे । यस्तो गीतलाई मालगीत भनिन्थ्यो । वधूलाई बिदाइ गर्ने, घरजम गरेर खान सुभाशिष दिने यस्तो गायन पनि गाउँका वृद्धाहरूले नै गर्दथे । मालगीत पनि अहिले पूरै लोप भइगयो ।
त्यसो त क्षेत्रीहरूको विवाहमा अर्को अध्याय पनि थपिन्थ्यो । मालगीतपछि दुलाहा पक्षकामध्ये एकजना वृद्धले 'खड्गो गान' गर्थे । हातमा नाङ्गो खुकुरी लिएर नाच्दै र गाउँदै जगिया परिक्रमा गर्थे । झाँक्रीको मन्त्रोच्चारण जस्तै गरी राजा र राणाका गुनगान बर्बराउँथे । खड्ग गानको अन्त्यमा '..बैरीको गर्धन चैट !' भन्दै खुकुरीले जगियामा गाडेको एउटा केराको थामलाई च्वाट्ट काट्थे ।
मैले मालगीत गाएको सुनिन तर खड्गो हालेको भने सुनेको थिएँ । खड्गो हाल्दा राजा, राणा र नेपाल एकीकरणको गाथा गाउने चलन थियो । २००७ सालमै राणाशासन सकिए पनि पछिसम्मै श्री ३ को गुनगान गाएर खड्गो हालिरहन्थे यताका क्षेत्रीहरू । अहिले गणतान्त्रिक र धर्मनिरपेक्ष भइसकेको मुलुकमा खड्गो हाल्न अनिच्छुक देखिनु खास नराम्रो पनि नहोला । तर मेरो जिज्ञासा, पोखरा क्षेत्रमा गरिने यस्तो खड्गो हाल्ने परम्परा अन्यत्र थियो कि थिएन ? यस्तो परम्परा कहिलेबाट कसरी स्थापित भयो ?
(यो लेख लेख्दै गर्दा मेरो विशेष अनुरोधमा कवि मुकुन्दशरण उपाध्यायकी धर्मपत्नी राधादेवी पौडेलले फोनमै मागल गान र मालगीत गाएर सुनाउनुभयो । त्यस्तै गाउँमा एकमात्र खड्गो हाल्न जान्ने व्यक्ति होमबहादुर कार्की, मेरा मित्र रञ्जित कार्कीका बुबालाई पनि सम्झिएँ ।)
०००
मान्छेले चाहेको सबै रोज्न सक्दैन । एउटा रोज्दा अर्को छोड्नुपर्छ । खेतीपाती र सहरीकरणमध्ये रोज्ने नै एउटा हो । पोखराजस्तो सानो क्षेत्रफल भएको उपत्यकाले कि उब्जाउ जमिन जोगाएर गाउँ बनिराख्न पर्‌र्यो कि खेतबारी नासेर घर उभ्याउन दिनपर्‌यो । सहरीकरणको प्रक्रियामा यो स्वाभाविक पनि हो । तर सहरीकरणको लपेटामा पिता पुर्खाले वर्षौंदेखि अभ्यास गर्दै आएका कृषि-संस्कृतिका मौलिक परम्परा पनि एकाएक नास भएर जाँदा मनमा कैंडा लाग्दोरहेछ । यस्तो कैंडा जो मट्टिखान पुगेर पनि मर्दैन बरु बल्झिन्छ ।
पोहोर सालसम्म छिनेडाँडाका रैथाने बासिन्दाका हरेक परिवारले माईपूजाको दिनमा प्रस्तावित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको खाली चौरमा गएर भात खाएका थिए । यो वर्ष वा अर्को वर्ष यस्तो भान्छा चल्छ कि चल्दैन ? मलाई शंका लाग्छ । छिनेडाँडाका रैथानेहरू वर्षको एक पटक घरमा भान्छा गर्दैनन् । भाँडाकँडा र अन्न बोकेर चौरमा आउँछन् । परिवार पिच्छेको खाना छुट्टाछुट्टै पकाएर खान्छन् । कराई अर्थात् अहिलेको पिकनिक पनि होइन त्यो ।
पिकनिकमा त सबैको भान्छा एउटै हुन्छ । माईपूजामा घरैपिच्छेको छुट्टै खाना पाक्छ । दाउराको आगोमा । सयौं परिवारको सयौं चुल्हो एकसाथ बलेको देख्दा यस्तो लाग्छ, कतै सुदूर कन्दराबाट बसाइ सरेर भर्खरै आएको काविलाको भेला हो यो । मुसाफिर आर्य जातिको आदिम परिदृश्य हो यो । तर सायद अबका केही वर्षमै मेरो गाउँको यो परम्परा हट्दै जानेछ । माईखाने चौरमा बोइङ उत्रने भएपछि परम्पराको मोह के होला र खै ?

0 Comment:

Post a Comment