रेस्टुरेन्ट व्यवसायी बुद्ध गुभाजुको पुरानो जोत्ये जीप तम्तयार थियो, काँठी बाँधेर ठिक्क पारेको घोडाजस्तो। तर घोडसवारको पत्तो थिएन। सात बजे पोखराको महेन्द्रपुलबाट छुट्ने योजना तर, पूरा टोली जुट्दा ११ बज्यो। अनि हामी हुइँकियौं, काहुँडाडातिर।
म स्कुल हापेर पुग्ने ठाउँ थियो काहुँ। तर जोत्ये समूहका कथाकार मीरा ढकाल, वनस्पति फ्रिक सन्देश लामिछाने, कवि अमित रिजाल त पुगेकै रहेनछन्। राजस्व अधिकृत सूर्य प्रतीक सुर्खालीको ताल पनि तिनकै जस्तो। सबैका लागि म गाइड हुने भइहालेँ। त्यसो त मभन्दा ज्यादा काहुँ उक्लेका बुद्ध दाइ पनि थिए। युवा समालोचक उपेन्द्र पौडेल र म बाइकमा अघिअघि कुद्यौं। बुद्ध दाइको जोत्ये हिनहिनाउँदै पछि लाग्यो।
काहुँ सिरानसम्मै मोटरबाटो छ। आधाजसो कालोपत्रे। गुरुङ गाउँसम्म सार्वजनिक बस पनि चल्छन्। त्यसैले हाइकिङ, बाइकिङ वा मोटोराइकिङको विकल्प खुल्लै हुन्छ। फेदी बस्यारीबाट उक्लिएर बरालथर, पोखरीथोक, सिस्न्यारी, तिलाहारा अनि थाप्ला मुन्तिर निधारमा रहेको गुरुङ गाउँ। गुरुङ गाउँको पुछारमा सानो चौर। चौरको बगलमा बरपीपल चौतारो। चौताराको पेटीबाट सेती र विजयपुरबीचमा रहेको उपत्यकाको दृश्य अद्भूत देखिन्छ। चौतारामा बूढा बाघचाल खेलिरहेका भेटिन्छन्। कोहीकोही डोका नाम्ला बुन्दै पनि हुन्छन्।
गुरुङ गाउँको तगारोमै स्वर्गीय वीरसिंह गुरुङको घर छ। काहुँ उनै वीरसिंहका कारण पनि प्रख्यात छ। उनैले बनाएका हुन्, काहुँ धरहरा। तिनै शिक्षाप्रेमीका आँगनमा उभियौं हामी। ५० वर्षअघि बनेको युरोपेली शैलीको घर। खुला आँगन, चाक्लो पिँडी अनि पिँडीमा तरुनीझैं उभिएका सुलुत्त पिल्लरका आडमा हाम्रो मोडलिङ चल्यो।
दुःखको कुरा घरमा कोही थिएन। उनको मात्रै होइन, पूरै गुरुङ गाउँ रित्तै भइसकेको थियो। एकाध घरमा राखेका कुरुवा कुखुरा धपाउँदै थिए। व्यवसायी गुभाजु बसाइँ सरेका गुरुङ–घरलाई भाडामा लिएर होटल चलाउने योजना सुनाउन थाले। ‘हजार सपनाहरूको माया लागेर आउँछ...' हामीले गीत गाएर उडाइदियौं उनको योजना। सबै राम्रा ठाउँमा एकैजनाले रेस्टुरेन्ट खोलेर बस्न सम्भव हुँदैन।
गुरुङ गाउँ कटेर थाप्लामा पुग्यौं। पहाडको सिउँदो चौर भन्न लायक थियो। चौरको पूर्वपट्टि थुम्कोमा कृषि सांस्कृतिक धरोहर काहुँकोट छ। उत्तरमा अनुमान गरेभन्दा सुन्दर हिमाल। पश्चिमपट्टि धरहरा। अनि सबैभन्दा मदमोहिनी दक्षिणपट्टि थियो– प्रथम रजस्वालापछि घाम तापेर सुतिरहेकी किशोरीझैं पोखरा। हिमाल र तालका कारणमात्रै सुन्दर भएको होइन पोखरा। यो सहर आफैंमा सुन्दर मानव बस्ती पनि हो। सेती र विजयपुरले बाँडेको उपत्यकाको कुना–कुनासम्मका भूगोल अप्सराहरूको रंगमञ्चझैं देखिन्छ काँहुबाट।
एक घन्टाजसो त यता सोझिने, उता बांगिने गर्दै फोटा खिच्यौं हामीले। अनि सुरु भयो गाइड टोपलिएको मेरो नोस्टाल्जिक गाइडगिरी–
‘काहुँ पोखराको एउटा सांस्कृतिक धरोहर पनि हो। चौबीसे राजाका पालामा यस क्षेत्रका डिठ्ठा रहेका हुकुमलि नाम गरेका मुसलमानका नामबाटै काहुँ नाम रहेको दाबी गर्छन्, लोककवि अलिमियाँका छोरा हनिफ। राणाकालमा मालअड्डामा ९९ रुपैयाँको तमसुक बनाउँदा सेतीपूर्वको जमिनलाई ‘काहुँ कुँडहर' र सेती पश्चिमको जमिनलाई ‘काहुँ पोखरा' भनिन्थ्यो। अर्थात्, उपत्यकाभरिको कृषिकर्म र कृषि–संस्कृतिको माउ थियो काहुँ। पहेँले र जेठेबूढो धानका लागि प्रख्यात कुँडहर फाँट काँहुखोलाले सिञ्चित हुन्थ्यो। काहुँ खोलालाई थुन्न मुस्किल थियो। त्यसैले सारा गाउँले झारा जान्थे। यसरी अनिवार्य गरिएको बाँध बाँध्ने र कुलो सोहोर्ने कामलाई रिठ्ठेझारा भनिन्थ्यो। फेरि झारा जान नपर्ने गरी काम भयो भने त्यसलाई मैझारा भनिन्थ्यो।'
साथीहरू एक टकले सुनिरहे। बिस्तारै बोतल पनि हलुंगा हुँदै गए। म मस्किँदै गएँ, ‘कुँडहर फाँटमा रोपाइँ पस्नुअघि, डिठ्ठा र मुखियाको नेतृत्वमा काँहुकोटमा पूजा गर्न जान्थे किसान। मंसिरमा धान काट्नुअघि पूजा गर्ने ४ कोटमध्ये एक थियो काँहुकोट। कोटमा पूजा गरी धानको पुलापूजा र न्वाई खाएपछि मात्रै फसल काट्ने चलन थियो। खडेरीमा पानी माग्न जाने ठाउँ पनि काहुँकोटै थियो। सेती नहर बनेपछि इन्द्रदेवसँग पानी माग्न परेन। काहुँकोटले पनि भोग पाउन छोड्यो। काँहुकोट पुनर्निर्माण गरिएको छ। तर यसले सांस्कृतिक आयाम लगभग गुमाइसकेको छ। खाली पर्यटकीय महत्त्व जीवित छ।'
काहुँको उत्तरपट्टि बाक्लो जंगल छ। धारापानी सामुदायिक वनमा मृग, कालिज, वनकुखुरा, चौघडाजस्ता वन्यवर बाक्लै रहेको दाबी गरे सुशील केसीले। उनले धरहराछेउमा रेस्टुरेन्ट खोलेका छन्। जंगल गुराँसले सिजनमा राताम्मे देखिन्छ। काहुँ भ्यु प्वाइन्टबाट आर्बाविजयको बरालगाउँ, मौजामोरियाको आँटीघर, सिल्दजुरेको थाक, कालिका—माझठाना, भलाम, अर्मला, घार्मी, अस्ताम, सराङकोट, कास्कीकोटजस्ता बस्ती छ्वाङ्ङै देखिन्छन्। माछापुच्छ्रे, अन्नपूर्णा, धवलागिरि, मनास्लुजस्ता हिमशिखर आफ्ना फुटहिलसहित लहरै उभिएको देख्न पाइन्छ। फोटो खिच्नकै लागि लहर मिलाएर उभिएजस्ता पोजालु हिमाल। जरासहित सग्लै हिमाल हेर्नुको मजा काहुँकोटबाट सम्भव छ।
काँहुखोलाको पानी सोझिएको नहरको विख्यात ठाउँ ‘दुईकुलाको मुहान'मा सिँचाइका लागि दिनहुँजसो मल्लयुद्ध हुन्थ्यो। हरेक वर्ष घाइते हुने र कहिलेकाहीँ ज्यान गुमाउनको किस्साले वर्ष दिनको बात पुग्थ्यो। मैले मल्लयुद्ध देखिनँ, सुन्न त कति सुनेँ कति। त्यसैको टुप्पामा बसेर म हेर्छु तलतिर– सेतीनदीदेखिको पूर्वेली पाटो। देख्छु तीनवटा गाउँलाई उठीबास पारेको प्रस्तावित पोखरा विमानस्थलको रित्तो चौर, जेठोबूढो र पहेँले फल्ने फाँटका छाती चिरेर कित्ता छुट्याइएका प्लटिङका रेखाचित्र। सुक्दै गरेको किसानी कल्चर र फुक्दै गरेको लाहुरे फूल।
काहुँकै काखमा भद्रकाली मन्दिर। कक्षा ६ मा पढ्दा नम्बरी भगुवा थिएँ म। स्कुलबाट भागेर पुग्ने एउटा गन्तव्य थियो भद्रकाली र कार्कीडाँडो। जसको वनमा दिनभर झार, रूख, झरेका पात, चरा र किटपतङ रुँगेर म चार बज्ने प्रतीक्षा गर्थें। झाडीमा झोला लुकाएर उक्लन्थेँ काहुँ। टुप्पामा पुग्दा सगरमाथै चढेजस्तो। म मेरो ब्याचको तेन्जिङ नोर्गे भएको अनुभूत गर्थे। देख्थेँ परसम्म फैलिएका नामै नचिनेका डाँडाका तप्कै तप्का। तिनैका जरामा उमि्रएका थिए नाम चिनेका सेता हिमाल। हिमालका लहरमा एकसाथ उभिँदा मलाई सँगसँगै ‘कभर अप' गरूँगरूँ लाग्थ्यो।
केही पहिलेसम्म काँहुडाँडाबाट छ्वाङ्ङै देखिन्थ्यो– छिनेडाँडास्थित देउराली माईको झ्यापुल्ले चौतारो, चाउथेको पीपलडाली, अनि गौंडाको मुखनेरको कदमको बोट। देउराली माईको चौतारा एयरपोर्टको अधिग्रहणमा पर्योक। पीपलडालीले ओगटेको जग्गा महँगो भयो र जग्गाधनीले काटिदिए। धन्न नहरको मापदण्डमा परेकाले कदमको बोट जीवित छ, तर कुन दिन बाटो चक्ल्याउनेको तारो हुने हो पत्तो छैन। दुख्खले पुर्खाले हुर्काएको काहुँसिञ्चित कुँडहर फाँटको त्यो रहरलाग्दो कृषि–संस्कृति आज भताभुंग छ। चौतारा मासिएका छन्। पानी खाने हिटी पुरिएका छन्। पोखरी चौर बनाइएका छन्।
लोककवि अलिमियाँ यस संस्कृतिका शिखर उपजमात्रै थिए, एक्ला उपज थिएनन्। हार्मोनियम र तबलावादक विष्टकाजी, लोक भजनका उस्ताद कृष्णबहादुर भण्डारी, अद्भूत बासुँरीवादक मनराम अधिकारी आदिलाई त मै ठिटाले पनि भोगेको हुँ। यस्ता प्रतिभा गाउँपिच्छे थिए। सेतीपूर्वको लोकसंस्कृतिको विकास त्यसै भएको होइन। अलिमियाँ त्यसै जन्मेका होइनन्। यहाँका रोपाइँ, दाइँ, धान गोडाइ, पशुचरन जस्ता कृषिकर्मको आभाले उज्यालो भएको हो पोखराको लोकसंस्कृति। काँहुडाँडा त्यसको अविचल साक्षी हो– कविशिरोमणिको तरुणतपसी चौतारोजस्तो।
काहुँकोटबाट ३ सय मिटर पश्चिमपट्टि छ धरहरा। एकतले टावर। यहाँबाट पोखरा उपत्यकाको कुनाकुना प्रष्ट देखिन्छ। दक्षिणमा गगनगौंडादेखि उत्तरको हेम्जासम्मका स्पष्ट खुल्छन्। रमाइलो कुरा के भने काहुँबाट पोखराका हरेक नदी, ताल, बाटा, मुख्य भवन, अस्पताल, विद्यालय, क्याम्पस, व्यापारिक केन्द्र, उद्योग, पार्क आदिलाई चोरी औंलाले ताकीताकी देखाउन पाइन्छ। विमानस्थल त तिनिक्क तन्काएर सुकाएको तन्नाजस्तै देखिन्छ। ओर्लंदा होस् र उड्दा विमान काहुँछेउकै आकाश नापेर जान्छन्।
काहुँ उक्लिँदा कुटुक्क मन खाने कुरा पनि छन्। पानी मागेर खाने ठाउँसम्म नराखेर सिरानका काँहुकोटेहरू बेसी झरिसके। धरहरा परिसरमा अति अश्लील शब्द, साहित्य र चित्र कोरिएका छन्। थाप्लामा बनाइएको काहुँ महोत्वसकालीन चौर, पिकनिक स्पट हुँदै डम्पिङ साइटमा चेन्ज भइसकेको छ। झाडीमा लागुऔषधका लतीले फालेका सिरिन्ज छरपस्ट। धन्न भर्खरै एउटा कामचलाउ रेस्टुरेन्ट खुलेको छ। नत्र काहुँको पर्यटकीय विकासका लागि केही भएकै छैन। काहुँ महोत्सवका बेला तातेको पर्यटकीय मुद्दा सेलाएर बरफ परिसकेको छ।
आफैंले लगेका खानेकुरा सकेर हामी फर्कियौं। ओर्लंदा भद्रकालीको उत्तरपट्टि कार्कीडाँडातर्फ झर्नु राम्रो हुन्छ। काहुँको ठिक तल छ कार्कीडाँडा जहाँ बौद्धगुम्बा छ। अनि त्यसको बित्तामै छ भद्रकाली। काहुँको शिखरबाट तल हेर्दा जमिनमा टाँगिएको प्यागोडा मन्दिरझैं देखिन्छन् यी दुई डाँडा। कार्कीडाँडा र काहुँको बीचमा सुन्दर तलाउ छ। पोखराको नागदह। यसलाई कमल पोखरी भनिन्छ। बीचमा नागको आधुनिक प्रतिमा छ भने पश्चिमतिर मन्दिर। पूरै जलाशय सुन्दर कमल फूलले ढाकेको छ। जंगलका बोटका हाँगाहाँगामा बकुल्लाहरूको क्रीडा देखिन्छ। उत्तरी किनारका केही भागमा केटाकेटी पौडी खेलिरहेका थिए। कोहीकोही आँखा छलेर फूल टिप्दै थिए। उनीहरूलाई हपार्दै थिइन्, जाल थापेर माछा मारिरहेकी एउटी गुरुङ्सेनी बज्यै। ‘माछा मार्न हुने फूल टिप्न नहुने?' एउटा बबुरो भन्यो। हामी एक झमटले हाँस्यौं।
0 Comment:
Post a Comment