Contact Form

Name

Email *

Message *

Friday, May 8, 2015

कम्पानुभूति


अमेरिकी महादेशको उत्तराखण्डमा बसोबास गरिरहेको मित्र अमित रिजालको ग्रुप म्यासेज आयो । नुवाकोटको जुँगेटारी स्थित उसको घर पुरै ध्वस्त छ । आमा, सुत्केरी बहिनी, भान्जी र हजुरआमा जेनतेन सकुशल छन् तर सानीआमालाई भने भुकम्पले खायो । । विदूर नगरपालिकाको उत्तरवर्ती खण्ड जुँगेटारीमा कुनै पनि उद्दारकर्ता नपुगेको तथा गाउँका सबै घरहरु पूर्णतथा ध्वस्त भएको खबर थियो । पोखरामा बसेर सञ्जालका फोटा र टेलिभिजनका भिडियो हेरेर अनुमान मात्रै थियो भुकम्पको । वास्तवमा पोखरालाई भुकम्पले मात्र सलाम गरेर गएको थियो । तर अन्यत्र जुन ताण्डब नाचेको थियो त्यसले पोखरालाई पनि हल्लाएको थियो । सम्भावना देखिएमा भोली नुवाकोट जाने र मित्रको परिवार जनसहित सम्भव भएसम्मका छिमेकीको घरमा उद्दारमा जुट्ने योजना बन्यो
भुईँचालोको दोस्रो दिन आइतबार बिहान ११ बजे पोखराबाट ६ जना नुवाकोट हिडियोँ । म सहित उपेन्द्र, सूर्य, सन्देश, सुरज र गाडीका ड्राइभर । सामान खरिद र बैंकबाट पैसा निकाल्दा बज्ने ११ बज्यो । बाटोभर रेडियोमा अपडेट सुन्दै हिँडियो । मोटरमा बस्दा भुईँचालोको पत्तो नहुँदो रहेछ । सडक किनारमा मान्छेहरु भागाभाग गरेको देख्नेबित्तिकै हामी रोकिन्थ्यौं ।
साँझ ४ बजे गन्तव्यमा पुगेर टार्गेट घरहरुबाट लत्ताकपडा, मूल्यवान सामान लगायतका हामी सम्पूर्ण सामानहरु निकादियौं । पाल टाँगिदियौं । नबिग्रने खानेकुरा र केही औषधिहरु दियौं । सबै काम गर्दा साँझको ७ बजिसकेको थियो । बस्ने उपाय थिएन । फर्कियौं । भुईँचालोको दोस्रो दिन कम्पनकेन्द्रको आसपास बस्ने संभावना थिएन । बस्ने ठाउँ पनि थिएन । हामी फर्कियौं । मैले देखेका केही उच्चाट अनुभवलाई बुँदामा राख्छु ।
एकः नदि किनारको बस्ती
मुङ्लिङ बजार नपुगी भुईँचालोको खास असर देखिएन । तर त्यसपछि जे देखियो त्यसले हामीलाई भुईँचालोले भन्दा ज्यादा मच्चायो । हाइवेभरी माथि भीरबाट खसेका ढुँगाहरु थिए । सामान्य पैह्रो गैरहेकै थियो ठाउँठाउँमा । नयाँ सिमेन्ट रडका घरको सातो लिएको थियो भने पुराना घर भने पुरै तहसनहस बनाएको थियो । गल्छीबाट नुवाकोटको साँँघुरो बाटोतर्फ छिर्ने बित्तिकै सास रोकिएला जस्तो भएर आउने अबस्था थियो । पुरै सन्नाटा थियो । त्रास । पारी खोलाको तिरमा लासै लास जलेका देखिन्थे । कतै कतै एकै ठाउँमा ५÷७ वटा जलाएका देखिए । सडकमा एकाध मोटरमात्रै थिए ।
दुई ः वर्ग छुट्याए जस्तो
गल्छी देखि विदूर नगरपालिका सम्म सिमेन्ट ढलान बाहेक कच्चि घरहरु कत्ति बचेका थिएनन् । धनीका घर बचेका गरिबका घर ढलेका । हुन त ढलान घर पनि चर्किएका थिए । तर ढुँगा माटोका सबै घर भत्किएको भन्दा पनि भत्काएको जस्ता देखिन्थे । पुरै नष्ट भएका । घरसँगै खसेका अन्नपात त्यसैमा पुरिएका देखिन्थे । मान्छेहरु जताततै पालै पाल मात्रै टाँगेर बसेका थिए । अधिकाँस पालहरु पुराना र च्यात्तिएका थिए ।
तीन ः अज्ञानताको पराकाष्टा
सरकारले जनतालाई पाल टाँगेर बस्न सुचित गरेकोले सबै जना जेनतेन पालमा बसेका त देखिन्थे । तर ग्रामिण ठाउँका अधिकाँस पालहरु सुरक्षित ठाउँमा थिएनन् । केही पाल त घरको ढलानमा टाँगिएका थिए । घरकै भित्तामा पाल अड्याएर बस्ने पनि थिए । धेरैजसो पालहरु बचेखुचेका घरको पिँढीसँगै जोडिएका थिए । कुनै पनि पालमा आकस्मिक बन्दोबस्तीका सामान थिएनन् । भग्नाबशेषकै वरवर केटाकेटीहरु डुलिरहेका देखिन्थे ।
चार ः दुई जना मलामी
बाटो भरी मलामीहरु धेरै पटक देखिए । तर कुनै पनि लासका लागि बढिमा १० जनाभन्दा मलामी कतै देखिएनन् । सायद सबैलाई आफ्नै चटारो थियो । विदूर नगरपालिकाको त्रिशुली पुल कट्ने बित्तिकै बाबुछोरा जस्ता लाग्ने २ जनाले लास बोकेर हिँड्दै गरेको देखियो । एउटा मात्रै बाँसमा सेतो तन्नालाई क्रोक्रो जस्तो पारेर लास लग्दै थिए । उनीहरुले त्यसलाई जलाउने कुरा थिएन । सायद गाड्नेवाला थिए ।
पाँच ः सुनसान सहर
त्रिशुली किनारको आर्मी ब्यारेकका डर्मिटरी पनि पुरै भित्किएका देखिन्थे । त्यसपछि आउने विदूर नगरपालिका अन्तरगत मुख्यसडकका दुवैपट्टी पुरै घरहरु काम नलाग्ने गरी चर्किएका थिए । कुनै घर त ग्राउन्डेड नै थिए । कति बर्ष लगाएर खडा गरेको सहर पुरै काम नगाग्ने भएको थियो । सहर पुरै सुनसान थियो, भुतको सिनेमामा देखाइने रित्तो बस्ती जस्तो । बाटोमा एकाध गुडेका मोटरसाइकल बाहेक घर वरवर एउटा धुलोमुसो थिएन । पुरै घर रित्तै छोडेर कता लागेछन् सहरियाहरु ?
छ ः बेहाल बाटो
विदून नगरपालिका कटेर जुँगेटारी लाग्दै गर्दा भिरालो ठाउँको बाटो धेरै ठाउँमा चिराचिरा परेको देखियो । बिजुलीका तार जथाभावी थियो । पानी पर्यो भने पुरै बाटो धस्सिएर जाने निश्चित जस्तै थियो । सामान्य पैह्रो त मुग्लिङ आसपास बाटै गैरहेको देखिन्थ्यो ।
सात ः गफ मात्रैको उद्दार
विदूर नगरपालिकाबाट १५ मिनेटमा पुगिने ठाउँमा पनि मान्छेहरु भत्किएका घरबाट लास र सामान बरोबर निकाल्दै थिए । तर पुलिस र आर्मीको कुनै उपस्थिती थिएन । कम्तिमा पाल टाँग्न, अपर्झट बस्दोबस्तीका सामान व्यवस्था गर्न र भत्केको घरबाट महत्वपूर्ण सामान झिक्न पुलिस र आर्मीको सहयोग पुग्नु पथ्र्यो । त्यत्रो सुनसान विदूर नगरपालिकाको मूख्य बजारमा साँझसम्म हुनै सुरक्षाकर्मी देखिएका थिएनन् । सहरमा लुटपाट हुनसक्ने व्यापक संभावना थियो ।
आठ ः विचार नगर्दा भोकभोकै
गल्छी फर्केपछि दालभातै खानु पर्ने हामीले भोकमान सामान्य खाज मात्रै खायौ मलेखु नजिकै । तर त्यसपछि हामीले त्यही खाजा मात्रै पाइने पसल पनि भेटेनौं । नदिकिनारका जोखियुक्त पसलहरु खुल्ने कुरा पनि थिएन । अनुमान गर्न नसक्दा हामी रातभरी भोकै भयौं । राती एक बजेतिर अकलादेवी मन्दिर तनहुँमा चाउचाउ पकाइदिने पसल भेट्यौ । पसले पनि डरले पाल टाँगेर बसेको हुनाले धन्न खान पाइयो । घर फर्किदाँ २ बजेको थियो ।
Twitter @ganesspaudel
http://www.nepalayanews.com/category/जोड-र-घटाऊहरु/

0 Comment:

Post a Comment