Contact Form

Name

Email *

Message *

Saturday, May 9, 2015

परिवर्तन असत्य हो (नथिङ चेन्जेज, एभ्रिथिङ इज कन्स्ट्यान्ट)


परिवर्तन के हो ? उफ् ! आज एकाबिहानै बिस्ताराबाट नउठ्दै मेरो दिमागका आयो । साँच्चै परिवर्तन के हो ? ‘नो म्यान इभर स्टेप्स् इन त सेम रिभर ट्वाइस्,’ हेराक्लिटसले भनेको पुरानो वाक्य सम्झिएँ । थपेर सम्झेँ उसैको फेमस वाक्य— नोथिङ इज पर्मानेन्ट एक्सेप्ट चेन्ज ।
परिवर्तनलाई सत्य मान्ने काम हाम्रैतिरको बुद्धले पनि गरेकै हुन् । ध्यानको मुख्य सार नै वर्तमानमा अवस्थित हुनु हो । हामीभन्दा एक मिलिसेकेन्ड वा त्योभन्दा पनि कम समय अगाडिको समय भूतकाल हो । पछाडिको भविष्यकाल । अर्थात वर्तमान भनेको वास्तवमा समय नै होइन । यो त एउटा लकिर मात्रै हो । सानो धर्को अर्थात रेखा जसले भूत र भविष्यलाई विभाजन मात्रै गरेको हुन्छ ।
बुद्ध भन्छन् ः वर्तमानमा बाँच ।
अब यो हुँदै नहुने, हुँदै नभएको समयमा कसरी बाँच्ने ? तर यसको सारभूत कुरा के हो भने वर्तमान मात्रै यस्तो ठाउँ हो जहाँ संसारका सबकुरा रोकिन्छन् । स्थिर हुन्छन् । किन कि परिवर्तनले ‘समयको अवधि’ डिमान्ड गर्छ । एक अवस्थाबाट अर्को अवस्थामा गुज्रने अवधि । वर्तमानमा त्यस्तो अवधिको सुविधा हुँदैन । ‘ध्यानीहरु ध्यानमुद्रामैं हजारौं वर्ष बाँचिरहन सक्छन्’ भन्ने पूर्वीय मान्यताको जड यही हो । त्यहाँ ध्यानीका लागि समय रोकिन्छ ।
त्यही बुद्धले भने ः संसार दुःखपूर्ण छ । खै ! यो वाक्य मैले कहिल्यै पचाउन सकिन । मैले सदैव घोरिएर सोच्ने विषय नै यही हो ः संसार दुःखपूर्ण कसरी छ ? दुःख हुनु भनेको के हुनु हो ? अथवा के नहुनु हो ?
तर पनि दुःख त छ । दुख्ने काम नै दुःख हो । चाहे त्यो मन होस् या तन । तर मान्छेको शरिरका अरु आयाम पनि छन् । मन र तन जस्तै मस्तिष्क छ, चेतना छ, ऊर्जा छ । के ती पनि दुख्छन् ?
‘दुःख वा सुख भन्ने कुरा मान्छेका क्रियात्मक अवस्था हुन् ।’ मेरै दिमाग भित्रबाट एउटा बोल्यो । क्रियात्मक अवस्था अर्थात काम । अनि सोच्छु हामीले रमाइलो भन्ने गरेका कुराहरु साँच्चै सुख हुन् त ? खेल्नु, पढ्नु, खानु, पिउनु, घुम्नु, सेक्स गर्नु यस्ता कुरा सुख हुन्थे भने नखेल्नु, नपढ्नु, नपिउनु, सेक्स नगर्नु सब दुःख हुनुपर्ने ।
तर हामी जे कारणले दुःखी भइराखेका छौं त्यो सब नखेल्नु, नपिउनु, नखेल्नु होइन । सायद अर्कै छ । मान्छेको सभ्यताले दुःखलाई बिर्सनको लागि यति धेरै प्रपञ्चको र आविश्कार ग¥यो कि मान्छेले दुःखको कारणै बिर्सन थालिसक्यो । तर कारण नहुँदैमा दुःख नहुने होइन । जस्तो कि मृत्युको कारण थाहा नहुँदैनमा मृत्यु रोकिने गर्दैन ।
एउटा भन्छ, दुःख नै सत्य हो । अर्को भन्छ परिवर्तन नै सत्य हो । बिजगणितको समान्य फर्मुला हुन्थ्यो भने बराबरी तथ्य लगाएर भन्न सकिन्थ्यो दुःख नै परिवर्तन हो । परिवर्तन नै दुःख हो ।
उसो भए मान्छे किन परिवर्तन चाहन्छ ? थप दुःख पाउन ?
हेर्छु संसारका हरेक कुराहरु चलिरहेका छन् । हावा, पानी चलेका छन् । आकाशमा पिण्ड पिण्डहरु तमासले दौडिरहेका छन् । सबैकुरा दौडिएका छन् । यो परिवर्तन अर्थात चेन्ज हो या स्थान्तरण अर्थात डिस्प्लेस्मन्ट हो भन्न सकिन्न । परिवर्तन आन्तरिक बदलाव हो । स्थान्तरण पोजिसनल बदलाब ।
हेराक्लिटसले दिएको खोलाको उपमा डिस्प्लेसमन्ट हो कि चेन्ज ?
गौर गरेर हेर्छु पदार्थको सानो अंश परमाणुदेखि ठुलो अंश आकाशिय पिण्डहरु गोल गोल छन् । पृथ्वी पनि घुमिरहेकै छ । एउटा वृत्तमा दौडिरहेको खेलौना ट्रेनजस्तै । संसारका हरेक कुरा दौडेको देख्छु म, गोलाकार घेरोमा । के यो परिवर्तन हो ?
गौर गरेर हेरौं, परिवर्तन समय र वस्तुको सापेक्ष हुन्छ । तर सारा विश्व बह्माण्डलाई नै एक मानेर सोचौं त ! संसारमा जब एउटा मात्रै कुरा हुन्छ के त्यहाँ परिवर्तन हुन्छ ?
Twitter@ganesspaduel
http://www.nepalayanews.com/2015/04/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%A8-%E0%A4%85%E0%A4%B8%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B9%E0%A5%8B/ 

0 Comment:

Post a Comment