सन्नाटा भन्दा शान्त आँखा,
आँधिभन्दा अशान्त मौनता
वा यस्तै केही अमिल्दा सत्यहरूले घेरिएर
जंगलको कुनै मध्यभागतिर
मान्छेहरूले कुल्चँदा कुच्चँदा
घाँस मरेर बनेको धर्के बाटोमा
गीत गाउँदै हिडिरहेको बेला एकलै एकलै
अकस्मात रोकिछ कुनै
युवतीले आफ्नोे गीत भने
बुझ्नू
म त्यही गीत हुँ ।
त्यो गीत
उदास उदास भौंतारिएको
लास्ज्लो ज्याभोरको ग्लुमी सन्डे हुनसक्थ्यो ।
वा कुहिरोले धप्प ढाकिएको बार्दलीबाट
तप्किएर खसेको अरुणा लामाको
‘पोहोर साल खुसी फाट्दा’ पनि हुन सक्थ्यो ।
वा हुन सक्थ्यो निक केभको
वन्स देयर केम अ स्टोर्म इन द फर्म अफ् अ गर्ल ।
म त एउटा गीत न हुँ प्रिय
उदास भएकै हुनाले मलाई मीठो मान्छन् मान्छे ।
पहाडको कुनै घनघोर अक्केराबाट
बर्षौ अड्किएर बसेको पथ्थरको पिँधबाट
चिहान भन्दा गहिरो पिडाको गीत
गाएछ कसैले भने बुझ्नू
त्यो आवाज म नै हुँ प्रिय,
जो अझै प्रतिक्षामा छ
एउटा उत्खननको ।
आखिर ज्यूँदो मान्छेलाई कतिन्जेल पुरिरहन्छ्यौ प्रिय ?
म निक्कै चिसो परिसकेको छु प्रिय,
कालापथ्थरको सिरेटोभन्दा पनि चिसो ।
प्रेमको सघन शैय्यामा
मृत्यु र जीवनमध्ये केमा छु भन्ने स्पष्ट दोधारमा
सास धानिरहेको रहेको बखत जेनतेन जेनतेन
मेरा कानका लोतीमा केही सल्बलायो भने
वा मेरा फुस्रिएका कपालमा,
घामका दानाजस्तै पोखियो भने कुनै प्रयास
मलाई थाह हुन्छ तत्काल
ती तिम्रा औँलाहरू हुन् ।
त्यती बेला तिमीले सुन्नु पर्छ
मेरो धड्कनको डिलबाट तप्किरहेको हुनेछ
बतासको आँसु झैँ एउटा धुन
मात्र तिम्रा लागि --
द स्ट्रीट आर गेटिङ कोल्डर
एन्ड आइ एम ग्रोइङ वोल्डर
टुमरो सिम्स सो फार अवे ...
0 Comment:
Post a Comment