विश्वप्रशिद्ध उपन्यास ‘क्याचर इन द राइ’ का लेखक जेडी स्यालिन्गरको अप्रसिद्ध चाहनाका बारेमा कमै पाठकलाई जानकारी होला । संसारले प्रिय ठानेका तर संसारलाई प्रिय नठान्ने एक सन्काहा लेखकको रमाइला किस्साहरूमा यो आलेख निर्मित छ ।
स्यालिन्गरको अनौठो एकान्तबास, जोगीपाराको जीवनशैली, अनौठो यौन व्यवहार अनि एन्टि सेलिब्रिटी रहर उदेक लाग्दो थियो । किशोरीहरु प्रतिको आशक्ति, एकप्रकारको लोलिता सिन्ड्रोम हो या होइन भन्ने बिषयमा पनि विभिन्न विवादहरु छन् । चार बर्षअघि सन् १९१० मा मृत्यु भएका जे डि स्यालिन्जर विवाद र रहस्यका अनौठा दास्तान थिए भन्ने कुरामा चाँहि कुनै विवाद रहेन ।
उनी एउटा जोगी जस्ता थिए । अग्ला पर्खालले घेरिएको उनको घरमा कुकुरहरु पालिएका थिए । छिमेकीहरुलाई पनि उनको घरमा प्रवेश गर्न रोक थियो । उनी शटगन पालेर बस्थे । उनले दर्जनौं वकिल पनि पालेका थिए, पत्रपत्रिकाहरूमा उनको बारेमा व्यक्तिगत विवरण छापिनबाट रोक्नु नै तिनको काम थियो ।
स्यालिन्गर एक एन्टी सेलिब्रिटी थिए । कसैलाई अन्तरवार्ता त परै जाओस् फोटो लिन समेत दिदैनथेँ । उनको कितावको डस्ट ज्याकेट (धुलोबाट बचाउन किताब बाहिर लगाइने गाता) मा समेत आफ्नो फोटो राख्न दिएनन् । उनको पछिल्लो पटकको फोटोमा उनी एकदम रिसाएर कसैलाई झम्टिउँला जस्तो गरी देखिएका छन् । वास्तममा उनी फोटोग्राफर प्रति रिसाएका थिए, लुकेर फोटो खिच्यो भनेर ।
उनको एकान्तबास, गोपनियता र अपरिचित रहने चाहनाका पछाडि उनको टिनएज किशोरीहरु प्रतिको लगावलाई कारण मान्नेहरु पनि छन् । तर उनको आकर्षण लोलिता सिन्ड्रोम जस्तो भने होइन । लोलिता सिन्ड्रोमका शिकारीहरु किशोरीहरुलाई मोलेस्टेशनका लागि आफू अनुकुल ढाल्ने मनोदशामा केन्द्रित हुन्छ । स्यालिन्गरमा ठ्याक्कै त्यस्तो भने थिएन ।
सन् १९१९ जनवरी १ तारिखका जन्मेका जेरोम डेभिड स्यालिन्गरको जीवन अनौठा घटनाले जोडिएका छन् । किशोर छँदासम्म उनी आफू यहुदी भएको विश्वास गर्थे , तर धेरै पछि मात्रै उनलाई थाहा भयो कि उनकी आमा क्याथोलिक थिइन् । यो घटनाले उनमा ठुलो मानसिक आघात परेको थियो ।
अर्को आघात उनले प्रेममा पाए । आफू २१ बर्षको हुँदा १६ बर्षे ओना ओनिलको प्रेममा चुर्लुम्म डुबेका थिए उनी । स्यालिन्गर ओनालाई बिहे गर्न चाहन्थे । सन् १९४२ मा सैनिक सेवामा अनिवार्य भर्ना हुनु पर्ने भो उनलाई । ओनासँगको रोमान्स टुट्यो उनको । उनकी प्रेमिकाले अन्तिममा चार्ली चाप्लिनलाई बिहे गरिन् । दोस्रो बिश्व युद्धताका युरोपका विभिन्न ठाउँमा खटिएर लडेका उनले हजारौं साथीहरु गुमाएका थिए । यसलाई उनलाई ठुलो मानसिक आघातका साथ वैराग्य जन्माएको थियो ।
नोम्र्याडी ल्यान्डिनका लागि चिनिएको दिन डी–डे भनेर चिनिने दिन अर्थात जुन ६ तारिख सन् १९४४ मा उनी उत्ताह नामक समुन्द्र तटमा ओर्लिए र पेरिस तर्फ लड्दै बढे । जहाँ उनले अर्नेष्ट हेमिङ्ग्वेलाई भेटे । हेमिङ्वेसँगको उनको सानो संगतले स्यालिन्गरको जीवनले नयाँ मोड लियो । हेमिङ्ग्वेले उनलाई लेखनमा उत्प्रेरित गरेका थिए ।
दोस्रो विश्व युद्ध सकिएपछि पनि नाजीको विगतको अपराधको अनुसन्धान रोकिएको थिएन । केरकारको कामका लागि गर्न उनी जर्मनी पुगे । जहाँ सिल्भी नाम गरेकी एक सुन्दरीसँग उनी प्रेममा परे र बिहे पनि गरे । तर ८ महिना मात्रै बिहे टिक्यो । ती युवती पुर्व नाजी अफिसर थिइन् । त्यसै कारणले उनीहरुको वेमेल भएको भन्ने विश्वास गरियो ।
युरोपबाट फर्केपछि उनले छोटा कथाबाट साहित्यीक करियर सुरु गरे । सन् १९५१ मा ‘क्याचर इन द राइ’ प्रकाशन गरे । जो तत्काल सुपरहिट भयो । उनले यो उपन्यास १० बर्ष लगाएर लेखेका थिए । टिनएजका किशोरकिशोरीका पिडा, मनोदशा, भावना र आवेशको यो कथाले तत्काल बजार पिटेको थियो ।
यो किताब करिब १२ करोड प्रति बिक्रि भैसकेको अनुमान गरिन्छ । अझै पनि यो बर्षेनी २ लाख प्रति बिक्ने किताबमा पर्छ । लोकप्रिय किताबको लिष्टमा यो सधैं अगाडि पर्दै आएको छ । मार्क च्यापम्यानले जोन लेनोनलाई गोली हान्दा उनको हातमा क्याचर इन द राइ थियो । जेलमा च्यापम्यानले आफूले जोन लेननलाई गोली हान्नुको कारण ‘क्याचर इन द राइ’मा भेट्याउन सकिने बताएका थिए ।
दुई बर्ष जतिमा उनको उपन्यास यति बिक्यो कि यसबाट प्राप्त ठुलो धनराशीले उनलाई अवर्णनीय स्वतन्त्रता र वैयक्तितता दियो । यसको उपयोग गर्दै स्यालिन्गर न्यू ह्याप्साइरको कोर्निस भन्ने विकट गाउँमा गएर एकान्तबासमा बाँकि पुरा जीवन बिताए । शहरबाट कयौं माइल टाढा थियो त्यो घर । त्यही घर पनि अत्यन्तै अग्लो पर्खालले घेरिएको थियो । घरमा मेलबक्स (पत्रमञ्जुसा) थिएन । मुख्यबाटोबाट उनको घरसम्म पुग्ने सहायक बाटोका प्रत्येक जसो रुखमा ‘नो ट्रेसपासिहङ’ भनेर साइनबोर्ड टाँगिएका थिए ।
सुरुसुरुमा उनी कहिलेकाँही न्युयोर्क जान्थे । एकदिन न्यूयोर्कको एउटा पार्टीमा उनले १८ बर्षिय बिद्यार्थी क्लेयर डोग्लासलाई देखे । उ ब्रिटिश धनाड्यकी झड्केलो बहिनी थिई । त्यो केटीलाई स्यालेन्गरले चिठी पठाउन थाले । उनीहरुको भेटको क्रम बढ्यो । सन् १९५५ मा क्लेयर २० कि थिई भने स्यालिन्गर ३६ बर्षका थिए । उनीहरुले बिहे गरे ।
बिहेपछि स्यालिन्गरको एकान्तप्रेम झन झन बढ्न थाल्यो । उनले श्रीमतिका सबै कागजात जलाईदिए भने परिवार र साथीसँगको सम्पर्क पनि टुटाइदिए । आफ्ना लागि उनले घरदेखि चौथाई माइल पर घना जंगलको बिचमा एउटा क्याबिन बनाए । आगन्तुकले नचिनुन भनेर त्यसलाई हरियो रंगका पताकाहरुले ढाके । उनी दिनभर त्यही कोठाभित्र काम गरिरहन्थे । काम पनि मात्र एउटै हुन्थ्यो ः लेखिरहनु ।
क्लेयरले स्यालिन्गरलाई खुसी पार्ने कयौं कोशिस गरिन तर उनी आफैं कहिल्यै नखोजेको गहन एकाकिपनको दलदलमा फँस्दै गइन । उनी दुई पटक गर्भवति भइन । त्यसपछि त स्यालिन्गर झन कडा एकान्तप्रेमी पो भएर निस्के । उनले बाँकि संसारका सबैजनासँगको सम्पर्क टुटाइदिए । उनको घरमा कोही पनि आउँदैन थिए ।
छोरी मार्गरेट जन्मेको १३ महिनापछि क्लेयर डिप्रेशनको शिकार भइन् । एक दिन छोरीलाई बोकेर स्यालेन्गरलाई एकलै छोडेर घरबाट भागिन् । तर चार महिनापछि उनी फर्केर आइन् । बास्तवमा उनी स्यालिन्गरलाई अत्यधिक प्रेम गर्थिन् । सन् १९६० मा उनीहरुको छोरा म्याथ्यूको जन्म भयो ।
अब त स्यालिन्गरको पुरै ध्यान जंगलको बिचमा बनाएको क्याबिनमै जान थाल्यो । उनी २÷३ हप्ता सम्म त्यहीँ बस्थे दाउरा बालेर । कहिलेकाँही उनी घाम तापेर छालालाई ट्यानिङ गरेर बस्थे । उनको क्याविनमा रहेको पुरानो टाइपराइटरबाट दिनभर खटखट आवाज आइरहन्थ्यो । टाइपराइटर राख्नका लागि काठको फलिकाको टेबल बनाइएको थियो भने आफु बस्नलाई उनले कारको पुरानो सिट फिट गरेका थिए ।
स्यालिन्गरमा झन् झन् वैराग्यको भावना आउन थाल्यो । उनले अनौठा अनौठा आध्यात्मिक र आयुर्वेदिक अभ्यास गर्न थाले । उनले आफ्नै पिसाव पिउन थाले । ‘ओर्गोन बक्स’ भन्ने एक प्रकारको काठाको बाकसमा बसेर दिन बिताउन थाले । यो भाँडोमा बस्दा स्वास्थ्य राम्रो हुने विश्वास थियो ।
उनलाई बिरामी मान्छे र रोगदेखि दिक्क लाग्थ्यो । उनले आफ्ना छोराछोरीलाई रोगी हुनबाट बचाउन घरेलु विधिका नयाँ नयाँ प्रयोग गर्थे । आफैंले बनाएका काठका सुइराले अक्कुपंचर गर्थे । दुखेर केटाकेटी रोए भने उनी रिसले चुर हुन्थे ।
सन् १९६६ मा उनकी श्रीमती क्लेयरमा एकान्तबासको अत्यासले गर्दा शारिरिक कमजोरीहरू देखिन थाले । उनलाई निन्द्रा नलाग्ने रोगले च्याप्यो । शरिर गल्दै गयो । सेक्सुअल समस्याहरू पनि देखिन थाल्यो । त्यही साल उनले डिभोर्सको निवेदन दिइन र अर्को साल नै उनीहरुको डिभोर्स भयो ।
त्यसको आठ बर्ष पछि सन् १९७२ मा स्यालिन्गरले न्यूयोर्क टाइम्सको कभरमा एउटी तरुनी लेखिकाको फोटो देखे । उनी थिइन जोयस मेइनार्ड । शीर्षक थियो ः १८ बर्षे सेलिब्रिटीको विगत । स्यालिन्गर मोहित भए र तत्कालै प्रशंसकको रुपमा उनलाई चिठी पठाउन थाले । स्यालिन्गरका चिठी जाल थापे जस्तै थिए । जोयस मेइनार्डले पनि चिठीको उत्तर लेख्न थालिन । अन्त्यमा यल युनिभर्सिटीको पढाई छोडेर उनी स्यालिन्गरसँग बस्न ह्याम्पसाइर गइन । उनी १९ बर्षकी थिइन तिनताका, स्यालिन्गर ५३ बर्षका थिए । उनीहरुको जीवन म्याक्रोवायोटिक्स र जेन बुद्धिज्मको अभ्यासमा बित्न थाल्यो । स्यालिन्गर साइन्टोलोजि र क्रिस्चियन साइन्सको पनि अभ्यास गर्थे ।
उनीहरुको वैवाहिक जीवनमा पनि समस्या आउन थालिहाल्यो । स्यालिन्गर अरु केटाकेटी चाहँदैनथे । उनीहरुको सम्बन्ध मात्रै मुख मैथुनमा सिमित थियो । जोयसलाई पनि पुरा यौनकार्य पिडादायी हुने समस्या देखिएको थियो । उनीहरुको लिभइन अफेयर ९ महिना चल्दै थियो । एक दिन फ्लोरिडामा छुट्टी मनाउँन जाँदा स्यालिन्जरले जोयसलाई एक्कासी आँफुबाट अलग्गिन भने । ‘म घर फर्किनु पूर्व नै तिमी आफैं सामान बोकेर गैसक्नू ।’
सन् १९९९ मा जोयसले एउटा संस्मरण लेखेकी थिइन । जसमा यो कुरा उल्लेख गरिएको छ । सोही साल उनले स्यालिन्गरले आपूmलाई पठाएका १४ वटा चिठीहरु पनि निलामी गरिन । सबै चिठीहरु एक लाख पाउण्डमा बिक्रि भएका थिए ।
जोयससँग छुट्टिएपछि पनि स्यालिन्गर फेरि आफ्नो गोप्य क्याबिनमा नै दिन बिताउन थाले । एकान्तबासलाई अझ एकान्त बनाउन उनले आफ्नो घर वरपरको जग्गा थप्दै जान थाले । करिब ४५० एकड भन्दा ज्यादा जमिनले घेरिन पुग्योे उनको क्याविन । त्यो पनि पुरै जंगलले । उनी सधै निलो वोइलर सुट लगाउँथे । चिटिक्क पर्थे । र एकलै क्याविनमा बसेर घन्टौंसम्म लेखिरहन्थे । तर सायद छाप्नका लागि भने भने होइन । उनको सेफमा (गोप्य सन्दुसमा) १० वटा भन्दा धेरै उपन्यासहरू रहेका विश्वास गरिन्छ । हालाकि त्यसको कुनै पुष्टि भएको भने छैन ।
सन् १९८१ मा उनको सम्बन्ध ३६ बर्षिय अभिनेत्री इलाइन जोयससँग भयो । त्यो पनि चिठीकै माध्यमबाट सुरु भएको थियो । उनीहरुको सम्बन्ध बर्षौं चल्यो ।
इलाइनपछिपछि उनले आफू भन्दा ४० बर्ष कान्छी कोलिन ओनिलसँग सम्बन्ध सुरु गरे । १९८९ तिर उनीहरुले बिहे पनि गरे ।
स्यालिन्गरको गोपनिय बसाई सन् १९९२ को एक दिनको लागि भने भङग हुन पुगेको थियो । उनको घरमा आगलागी भयो । कोलिन ओनिल पिकअप ट्रक चलाएर नजिकैको टेलिफोन बुथमा गइन र दमकललाई फोन गरिन । दमकलका कर्मचारी उनको घरमा प्रवेश गर्ने पहिलो भाग्यमानि व्यक्ति ठहरिए । उनीहरुसँगै एकजना पत्रकार पनि गएको रहेछ । आगोले सखाप पारेको भग्नावशेष हेरेर बसेका स्यालिन्गरलाई देखेपछि उ क्यामेरा बोकेर नजिक गएछ । तर स्यालिन्गरले उसलाई झपारेर त्यहाँबाट टाप कसेछन् । कस्सो एउटा फोटो भने खिच्न भ्याएछ उसले ।
उनको चिहानमा उनकै एक भनाई राखिएको छ । ‘म लेख्न मन पराउँछु । म अक्षरलाई प्रेम गर्छु । तर म मेरा लागि मात्रै लेख्छु । मेरा खुसीका लागि मात्रै लेख्छु ।’
0 Comment:
Post a Comment