Contact Form

Name

Email *

Message *

Wednesday, December 4, 2013

सर्प, स्याउ र मुस्ताङ


लमतन्न सुतेका सुवर्ण रातभर
म व्यूँझन्थे सपनाका लागि हेर्न
उत्मुक्त आकाशगंगाको वादलु डिम्बका घेराबाट
उछिट्टिएका एक डोब सल्लाका पातहरू ।
सल्बलाउने निर्वाण तन्तुको खोलमा
अमिला गर्भको पर्प¥याउने स्वाद ।
उछिट्टिनु रचनाको सर्त नभए के हो ?

कुन जोड र कुन घटाउले मिलाएको छ
मुस्ताङ्गे स्याउको हिसाब ?
एक पुञ्ज प्रकाश चुँडालेर
जन्माएको हुँ म आफैंले धर्तिमाथिको नीर ।
सुर्केना परेका हारदाम्लोमा
मैले आफैंले राखेको हुँ सर्पको दाँत ।
म मैले लेखेकै नियमको पर्खालभित्र छु ।
म मैले बनाएकै इतिहासको छानोमुन्तिर छु ।

बरण्डाको रेलिङमा टाँगिएका
पाटका चिसा रुमालमा टेकाएर हत्केला
मैले कसरी मेट्न सकुँला र
कोक्याउने रेखाले कोरिएका कर्कलाको कथा ?
छप्लायङ्ग कहिले पोखिन्छ र बादल ?
टिलपिल टिलपिल कहिले गर्छ र बाफ ?
म सधैं हेर्छु चोक मुन्तिर बरफ किनिरहेका केटाकेटी
उत्पात गर्मीमा कप्कपाउँछु आफैं म चिसो पनि

एक आदिम रहलको ह्याङ्गओभर मात्र हुँ म
मरेका आदमखोर आदमहरूको
सन्नाटाको सहनाइ हुँ म ।

कलेजी रोबमा निराश खौराइएका तालु टल्कने
मार्फाली चट्टानका फुङ उडेका
राता खैरा पहाडका रङमाथि
आदिम बगैंचाको निलो फैलिएको छु म ।
म मेरै नियमले बाँधिएको छु
म आफ्नै हत्केलाले छोपिएको छु
उछिट्टिनु रचनाको गर्भ तुहिनु हो .... ।


गनेस पौडेल, पोखरा
सेप्टेम्बर ७, २०१३

0 Comment:

Post a Comment