गनेस पौडेल
प्रतिनिधि सभा सदस्य उम्मेदवार
कास्की क्षेत्र नं १
राष्ट्रिय स्वतन्त्र पार्टी
वाचापत्र २०८२
कास्की क्षेत्र नं. १ मा पर्ने वडाहरू:
पोखरा महानगर पालिका अन्तरगतका वडाहरू : १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२; मादी गाउँ पालिकाका १२ वटै वडाहरू; रूपा गाउँ पालिकाका ७ वटै वडाहरू गरी जम्मा ३० वटा वडाहरू ।
आदरणीय कास्की क्षेत्र नं. १ का आमाबुबा, दाजुभाइ–दिदीबहिनी तथा युवामित्रहरू,
यो माटोलाई आर्जिन, स्वतन्त्र र लोकतान्त्रिक बनाउन प्राणको आहूति दिने सबै र विशेषत गत भदौ २३ र २४ गतेको युवा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहिदहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै यो ‘वाचापत्र’ वहाँहरूकै स्मृतिमा सादर अर्पण गर्दछु।
यो दस्तावेज कुनै ठूलो वाचा गर्ने कागज होइन, हाम्रो साझा जीवनको सानो तर साँचो प्रतिबिम्ब हो। हामी सबैले एउटै आकाश हेरेका छौँ, एउटै बाटो हिँडेका छौँ, एउटै चिन्ता बोकेका छौँ — कहिले शिक्षाको गुणस्तरको, कहिले स्वास्थ्यको, कहिले रोजगारीको, कहिले खेतीपातीको, कहिले छोराछोरीहरूको विदेश पलायनको अनि कहिले आफ्नै ठाउँमा भविष्य देख्न नसक्ने पीडाको।
यसैले यो ‘वाचापत्र’ सपना बाँडेर सत्ता हत्याउन लेखिएको होइन, जीवनको गहिराइ र आशा बुझेर बनाइएको हो। यहाँ लेखिएका शब्दहरू किताबी ज्ञानका सार-अक्षर होइनन्, आम नागरिकसँग गरिएका ३ हप्ता लामो संवाद यात्राका क्रममा सहरका चोक चौतारा; गाउँका बारी टारी र आँगन; विद्यालयका कक्षाकोठा; अनि बजारका दुखजेलोमा भएका अन्तरक्रियाबाट जन्मिएका हुन्।
हामी परिवर्तनको घोषणा गर्न आएका होइनौँ, परिवर्तनलाई मिलेर सम्भव बनाउने निम्तो दिन आएका हौँ।
आउनुस्, परिवर्तनलाई एकसाथ अङ्कमाल गरौँ!
निर्वाचनपछिका मेरा प्रमुख प्राथमिकताहरू :
सचिवालय मार्फत जनतासँग नियमित तथा प्रत्यक्ष संवाद र सहकार्य गर्नेछु।
प्रत्येक आर्थिक वर्ष सुरु हुनु पूर्व सुझाव संकलन तथा कार्यसम्पादन मूल्याङ्कन गर्नेछु।
महत्वपूर्ण विधेयकहरूमा स्थानीय स्तरमा व्यापक छलफलपछि मात्रै संसदमा बोल्नेछु।
विधेयक र नीतिहरूमा गहन अध्ययन, अनुसन्धान गरी रचनात्मक र वस्तुनिष्ठ सुझावहरू मात्रै पेश गर्नेछु
स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई अघि बढाउन प्रयत्नरत रहनेछु।
मेरा मुख्य प्रतिबद्धता: नेपाल सरकारको दीगो विकास लक्ष्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय प्रतिबद्धता नै मेरो आधारभूत मार्गदर्शन हुनेछ । जेनजी जनआन्दोलनको मूल भावना र मर्मअनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शी र जवाफदेही प्रशासन मेरो प्रमुख प्रतिबद्धता रहनेछ।
मेरा प्राथमिकताका क्षेत्रहरूः
१) शिक्षा
प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मको विद्यालय शिक्षा निःशुल्क बनाउन र आधारभूत तहको शिक्षा अनिवार्य गराइनेछ।
“एक विद्यालय–एक उत्कृष्टता” कार्यक्रममार्फत प्रत्येक विद्यालयलाई विशेष पहिचान दिने कार्यक्रम लागू गरिनेछ।
विद्यार्थीलाई उद्योग, पर्यटन व्यवसाय र सहकारीसँग सहकार्य गरी “पढ्दै कमाउँदै” कार्यक्रम सञ्चालन गरिनेछ।
शिक्षकको बृत्तिविकास, क्षमता अभिवृद्धि, सामाजिक मर्यादा र सार्वजनिक सेवामा विशेष सहुलियत सुनिश्चित गर्ने तथा शिक्षक–कर्मचारीको सेवा–सुरक्षा र वहाँहरूसँग भएका पुराना सहमति कार्यान्वयन गर्नका लागि नीतिगत पहल गरिनेछ।
हरेक वडामा प्रविधिमैत्री अध्ययन कक्षसहितको डिजिटल पुस्तकालय स्थापना गर्न स्थानीय/प्रदेशसँग सहकार्य गरिनेछ।
प्रत्येक १० हजार जनसंख्यालाई पायक पर्ने स्थानका सामूदायिक विद्यालयलाई नमूना विद्यालयमा रूपान्तरण गरिनेछ।
नियुक्ति, बढुवा, सरुवा तथा पद समायोजन प्रक्रियालाई योग्यता, वरिष्ठता, क्षेत्रीयता र कार्यसम्पादनमा आधारित बनाइनेछ।
सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीको सेवा–सुरक्षा सुनिश्चित हुनेगरी विद्यालय शिक्षा ऐन पारित गरिनेछ ।
२) स्वास्थ्य
· सबै स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा, नियमित स्वास्थ्य जाँच र मनोसामाजिक परामर्श सेवा निःशुल्क उपलब्ध गराउने गरी सेवा प्रवाह सुनिश्चित गरिनेछ।
· विद्यमान स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्वाधार, मानव स्रोत, साधन र उपकरणसहित पूर्ण क्षमतामा सञ्चालन हुनेगरी आवश्यकता अनुसार स्वास्थ्य संस्थाको स्तरोन्नति गरिनेछ।
· आधारभूत सेवा प्रदायक र विशेषज्ञ स्वास्थ्य संस्थाबीचको समन्वय सुधार गरिनेछ। यसले विशेषज्ञ संस्थामा हुने भीड घटाउनेछ।
· स्वास्थ्य बीमाका कानुनी, नीतिगत, संरचनागत र प्रणालीगत कमजोरीहरू सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गरिनेछ।
· स्वास्थ्य बीमालाई राष्ट्रिय परिचयपत्र र डिजिटल स्वास्थ्य रेकर्ड (EHR) सँग जोडेर सबै नागरिकलाई आवद्ध गरिनेछ।
· प्रवर्द्धनात्मक (Promotive), प्रतिरोधात्मक (Preventive), उपचारात्मक (Curative), पुनर्स्थापनात्मक (Rehabilitative) र पालीएटिभ (Palliative) सेवाबीच सन्तुलन कायम गरी रोग लागेपछि मात्र उपचार गर्ने प्रवृत्ति हटाइनेछ। यसले रोग भारलाई न्यून गर्नेछ।
· विद्यालय शिक्षा प्रणालीमा प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक स्वास्थ्य शिक्षा अनिवार्य गरी विद्यार्थीलाई ‘स्वस्थ नेपाल’ अभियानका प्रवर्तक बनाइनेछ।
३) पर्यटन
पर्यटनलाई उद्योगसरह सुविधा दिने नीति लागू गरिनेछ। योग, ध्यान, होमस्टे, बर्ड वाचिङ तथा वेलनेस कार्यक्रम प्रवर्द्धन गरिनेछ।
पोखरा–३२ लामे आहालमा प्रस्तावित बसपार्क निर्माण उच्च प्राथमिकताका साथ अघि बढाइनेछ।
होमस्टे सञ्चालनलाई प्रविधिसँग जोडी सम्वर्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
ग्रामीण पर्यटन पदमार्ग (सिक्लेस–कोरी–कहुँपुचे–हुगु–दुधपोखरी–मनाङ)लाई विस्तार गरिनेछ।
रूपाकोटलाई हिल स्टेशन र पर्यटकिय गन्तव्यका रूपमा विकास गरिनेछ।
अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम उपयोग गर्दै उडान र कनेक्टिभिटी विस्तार गर्न दबाब दिइनेछ।
कास्कीका सहित यस क्षेत्रका प्रमुख तालहरू (बेगनास, रूपा, दीपाङ, मैदी, खास्टे, गुँदे, न्युरेनी) र अन्य पर्यटक गन्तव्यहरूलाई जोड्ने साइकल/पैदल मार्ग निर्माण गरी “इको–टुरिज्म सर्किट” विकास गर्न योजना ल्याइनेछ।
आर्वाको विजयपुर गाउँ, प्रभूधाम, कालिकास्थान, पोखरा-१३ मियापाटनको प्राचीन मुस्लिम बस्ती, सिक्लेस र ताङतिङ आदि जस्ता स्थानलाई सम्पदा गाउँ घोषणा गरी त्यहाँको मौलिक संस्कृति (गीत, नृत्य, कला) र परम्पराहरू संरक्षण गरी धार्मिक, सांस्कृतिक र मौलिक स्थलहरूको प्रवर्द्धन गरिनेछ।
४) कृषि
कृषियोग्य जमिनमा मल–बीउ केन्द्र व्यवस्थित गरी समयमै बीउ र मल उपलब्ध गराइने व्यवस्था सुनिश्चित गरिनेछ।
बहुउद्देश्यीय शीतभण्डार निर्माण गरी उत्पादनको भण्डारण क्षमता वृद्धि गर्ने कार्यक्रम ल्याइनेछ।
कृषी उत्पादनलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइनेछ।
स्टार्टअप कर्जा कार्यक्रमका लागि पहल गर्दै र किसानलाई बीमा तथा ब्याज अनुदान उपलब्ध गराइनेछ।
'अबको किसान को?' कार्यक्रम संचालन गरी युवाहरूलाई व्यावसायिक, अर्गानिक, बायो–डायनामिक र पर्माकल्चरल कृषि तर्फ आकर्षित गरिनेछ।
सिँचाइ योजनाहरू विस्तार गरी आधुनिक, एकीकृत खेती प्रणाली लागू गरिनेछ।
कृषि उत्पादनको सिधा बिक्रीका लागि किसान बजार स्थापना गर्न
सबै तहका सरकारसँग समन्वयमा स्थानीय उत्पादनलाई बिचौलियामुक्त बजारमा पुर्याइनेछ।
माहुरी पालन, माछा पालन, सुन्तला, कफि तथा अन्य फलफूल खेतीमा प्राविधिक र आर्थिक सहयोग प्रदान गरिनेछ।
शहर वरपर व्यावसायिक कृषि पकेट क्षेत्र विकास गरिनेछ।
५) उद्योग, वाणिज्य तथा रोजगार प्रवर्द्धन
नयाँ उद्योग स्थापना सहज बनाउन एकद्वार प्रणाली लागू गरिनेछ र दर्ता प्रक्रिया निःशुल्क गरिनेछ।
स्टार्टअप तथा साना उद्यमका लागि कोष, वित्तीय सहुलियत र मार्गदर्शन उपलब्ध गरिनेछ। युवा स्वरोजगार कोष र बिना धितो सहुलियत ऋण नीति अपनाइनेछ।
युवालाई सीप तालिम र उद्यमशीलतामा आवश्यक प्रविधि, मार्गदर्शन र सहुलियत उपलब्ध गराईनेछ। महिला, दलित, सीमान्तकृत र पूर्व कर्मचारी, सैनिक/प्रहरीहरूलाई स्वरोजगार र उद्यमशीलतामा प्राथमिकता दिइनेछ।
रोजगारी पोर्टल र श्रम बैंक स्थापना गरी रोजगार सृजना र अवसर व्यवस्थापन गरिनेछ।
विद्युतीय, हरित र दिगो उद्योगलाई प्रोत्साहन दिने नीति लागू गरिनेछ।
स्थानीय उत्पादनलाई बजारसम्म सिधै पुर्याउन सहकारी, किसान बजार र व्यापारीसँग सहकार्य गरिनेछ।
व्यापार, वाणिज्य र सेवा क्षेत्रको डिजिटलकरण गरी सजिलो, पारदर्शी र द्रुत सेवा सुनिश्चित गरिनेछ।
रोजगार सिर्जना तथा उद्यम विकासमा समग्र प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर दीर्घकालीन योजना निर्माण गरिनेछ।
६) भूमि अधिकार
भूस्वामित्वलाई आधारभूत अधिकारको रूपमा लिइनेछ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूअधिकार सुनिश्चित गरिनेछ।
७) वातावरण र दिगो शहरी विकास
नदी, ताल र वन संरक्षण र मापदण्माड निर्धारणमा स्थानीय अभिमत र सहभागिता सुनिश्चित गरिनेछ।
खानेपानीका प्राकृतिक र स्थानीय स्रोतको संरक्षण वैकल्पिक स्रोतको रूपमा विकास गरिनेछ।
फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल अपनाई फोहोरलाई आर्थिक स्रोतमा रूपान्तरण गरिनेछ।
हरियाली र खुला स्थानसहित योजनाबद्ध शहरी विकास गरिनेछ।
क्लिन इनर्जी (जलविद्युत, सौर्य, हाइड्रोजन तथा अन्य नवीकरणीय स्रोत) विस्तार गरी १००% नवीकरणीय ऊर्जा पहुँच सुनिश्चित गरिनेछ।
'जीवन गाउँको जस्तो आत्मिय होस् । सुविधा सहरको जस्तो आधुनिक होस् ।' भन्ने अवधारणा अन्तरगत सहरिकरण र विकासका पूर्वाधारको बिस्तार गरिनेछ।
८) यातायात र पूर्वाधार
विद्युतीय सार्वजनिक यातायातलाई प्रोत्साहन गरिनेछ।
ग्रामीण सडक स्तरोन्नति र कालोपत्रे गरिनेछ।
विजयपुरको स्यानो डहरे, सेतीको गौखर्क तथा वात्यासायन घाट अनि सिक्लेस र ताङतिङलाई जोड्नेगरी मादी नदीमा पक्की पुल निर्माण गरिनेछ।
‘युटिलिटी डक्ट’ प्रणाली मार्फत सडक बारम्बार खन्ने समस्या समाधान गरिनेछ।
लामेआहाल बसपार्क आधुनिक स्वरूपमा निर्माण गरिनेछ।
पोखरा–त्रिवेणी र पोखरा–कोरला सडक विस्तार गरी शहरलाई भारत र चीनसँग जोड्ने आर्थिक केन्द्र बनाइनेछ।
९) सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा
प्रत्येक सरकारी कार्यालयमा हेल्पडेस्क स्थापना गरिनेछ।
मेरो र सचिवालयको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गरिनेछ।
योजनाहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
प्रत्येक ६ महिनामा वडा वडास्तरीय जनभेला आयोजना गरिनेछ।
बजेटको एक हिस्सा नागरिक मतदान (Participatory Budgeting) बाट खर्च गरिनेछ।
१०) खेलकुद
पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्न पहल गरिनेछ।
खेल शिक्षा विद्यालयस्तरमा समावेश गर्न पहल गरिनेछ।
नीजि तथा सामुदायिक स्तरबाट स्थापित स्पोर्ट्स एकेडेमीहरूलाई अनुदानको व्यवस्था गरिनेछ।
सामुदायिक स्तरमा खेल मैदान निर्माण गर्न तीन वटै तहका सरकारसँग समन्वय गरी पहलकदमी लिइनेछ।
११) सामाजिक/राजनीतिक न्याय
विभेद सम्बन्धी उजुरीका लागि द्रुत सहायता डेस्क
महिला तथा यौनिक/लैंगिक अल्पसंख्यकका लागि Gender Desk, कानुनी सहायता, सुरक्षित आवास, आत्मपहिचान मान्यता, समावेशी शिक्षा र सेवा क्षेत्रमा न्यूनतम प्रतिनिधित्व सुनिश्चित।
सबै प्रकारका क्षेत्रमा सीमान्तकृत समुदायको प्रतिनिधित्व अनुगमन
जेनजी आन्दोलनका दोषीहरूलाई कानुनी कारवाही, घाइतेहरुको उपचार र जीवनभरण
यस वाचापत्रमा उल्लेख गरिएका प्रत्येक प्राथमिकतालाई सरोकारवालाहरुको सहभागितामा विस्तृत कार्ययोजना बनाई प्रभावकारीरुपमा कार्यान्वयन र अनुगमन गरिनेछ।
अन्ततः, कुनै पनि घोषणापत्रले भविष्य बनाउँदैन — भविष्य बनाउने त हामी सबैको साझा इमानदारी, सहभागिता र धैर्यले मात्रै हो। म एक्लैले केही गर्न सक्दिनँ, तर हामी सबैले एकसाथ प्रयत्न गर्दा धेरै कुरा सम्भव हुन्छन्।
यदि यहाँका प्रतिबद्धतामा तपाईँले आफ्नो जीवनको सानो मात्रै अंश पनि देख्नु भएको छ भने, म त्यसको कार्यान्वयनलाई आफ्नो कार्यकालको सफलता सम्झिनेछु। मत दिनु वा नदिनु तपाईँको अधिकारको कुरा हो, तर लामो प्रतीक्षापछि नागरिक स्तरमा जागेको आशालाई गुम्न नदिनु हामी सबैको साझा जिम्मेवारी हो।
हामी जित्न मात्रै होइन, नागरिकको विश्वास र भरोसा जित्न आएका हौँ।
आउनुस् — कास्की १ लाई योजनाले मात्रै होइन, सम्बन्धले समेत अगाडि बढाऔँ।
तपाईँको जय होस्!
देशको जय होस् !
जय घण्टी!
गनेस पौडेल (खडकराज)
प्रतिनिधि सभा सदस्य उम्मेदवार
कास्की क्षेत्र नं १
सिधा सम्पर्क:
ठेगाना: पोखरा महानगरपालिका, वडा नं. १४, मझेरी पाटन, कास्की
सचिवालयः डाँडाको नाक, पोखरा महानगर पालिका, वडा नं. २७
इमेल : kapuri.ka@gmail.com
वेबसाइट : www.ganesspaudel.com.np
फोन नं : +977-9856031647








